चिनियाँ राष्ट्रपतिले गरे प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना


काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति सीले एक सन्देश पठाउँदै सिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रपति सीले प्रधानमन्त्रीको सिघ्र स्वास्थ्यलाभको कामना गरेको जानकारी दिए ।

‘चीनका राष्ट्रपति सीले एक सन्देश पठाउँदै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ’, उनले भने ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले सन्देशमा दुई देश तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीचको सम्बन्धलाई थप विस्तार गर्दै त्यसलाई गतिशील बनाउन तथा दुई देशका जनताको हितका खातिर द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् । उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको छ । प्रधानमन्त्रीलाई एकहप्ताभित्र डिस्चार्ज दिने अस्पतालको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement