भीष्मराज आङ्देम्बेको प्रश्न, ‘आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ ?’

भीष्मराज आङ्देम्बेको प्रश्न, ‘आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कार्यकाल बाँकी छँदै हटाउने सरकारको निर्णयप्रति प्रश्न उठाएका छन्।

आईजीपी कार्कीको कार्यकाल १७ महिना बाँकी रहँदै हटाउने निर्णय गरिएको भन्दै उनले सरकारको प्राथमिकतामाथि प्रश्न गरेका हुन्।

आङ्देम्बेले बिहीबार नागरिक बाढीपहिरो, विस्थापन र महँगीको मारमा परिरहेका बेला सरकार भने प्रहरी नेतृत्व परिवर्तनमा केन्द्रित भएको टिप्पणी गरेका छन्।

‘के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो ? भोटेकोशी र बूढीगण्डकी बाढीले नागरिकहरू पीडामा छन्। विस्थापित सुकुम्बासीको बेहाल छ। महँगीले जनजीवन आक्रान्त छ। देश गम्भीर संकटतिर फस्दैछ। तर, सरकारको प्राथमिकता आईजीपी हटाउनेमा भयो’, उनले लेखेका छन्।

उनले आईजीपी कार्कीलाई कुन मुद्दा, तथ्य र प्रमाणका आधारमा हटाइएको हो भन्नेबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। सरकारका प्रवक्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ताको अभिव्यक्तिमा समेत विरोधाभास देखिएको भन्दै उनले सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्न गरेका छन्।

‘सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन्। तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ?’, आङ्देम्बेले प्रश्न गरेका छन्।

उनले अनुसन्धानका लागि प्रहरीले बरामद गरेको एक बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि गम्भीर रूपमा उठाएका छन्।

‘अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो ? मोबाइलमा भएको के मेटाउनु थियो ?’, उनको प्रश्न छ।

प्रहरी संगठनलाई राजनीतिक नियन्त्रणमा राख्ने प्रयास सुशासन नभई शक्ति प्रदर्शन भएको आङ्देम्बेको टिप्पणी छ। जनताले वर्तमान सरकारलाई सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको जीवनस्तर परिवर्तन गर्न मत दिएको उल्लेख गर्दै उनले सत्ता र शक्तिको दुरुपयोग नगर्न सरकारलाई सचेत गराएका छन्।

‘अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ। यो सुशासन होइन, शक्ति प्रदर्शन हो’, उनले भनेका छन्।