कात्तिकबाट नेपाल–भारत रेल संचालनमा आउने


काठमाडौं- नेपाल र भारत जोड्ने दुईवटा अन्तरदेशीय रेलमार्ग निर्माण १४ कात्तिक २०७५ भित्र सम्पन्न गरिने भएको छ । सोमबार काठमाडौंमा दुई देशका सहसचिवस्तरीय छैटौँ प्रोजेक्ट स्टेयरिङ कमिटी बैठकमा उक्त सहमति भएको हो ।

भारतको जयनगर हुँदै नेपालको जनकपुर–कुर्ता र भारतको जोगबनीदेखि नेपालको विराटनगर भन्सार कार्यालय जोड्ने रेलमार्ग सम्पन्न गर्न दुई देशका अधिकारी सहमत भएका हुन् । जयनगरदेखि कुर्तासम्मको लम्बाइ ३४ दशमलव ५ किलोमिटर रहेको छ भने बथनाह (जोगबनीभन्दा अघिल्लो स्टेसन)देखि विराटनगर भन्सार कार्यालयसम्मको दूरी ८ किलोमिटर छ ।

अन्तरदेशीय रेलमार्गका बाँकी खण्ड निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन दुवै पक्ष सहमत भएका छन् । बाँकी खण्डअन्तर्गत कुर्तादेखि बिजलपुरा हुँदै बर्दिबास र विराटनगर भन्सार कार्यालयदेखि विराटनगरको बाँकी खण्ड रहेका छन् । बैठकमा नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा र भारतीय पक्षको नेतृत्व विदेश मन्त्रालयका सहसचिव नाम्ग्या खम्पा रहेकी छन् ।

काठमाडौं–रक्सौल रेलमार्ग समझदारी
बैठकले काठमाडौं–रक्सौल रेलमार्गका लागि चाँडै समझदारी गर्ने विषयलाई जोड दिएको छ । विशेषगरी प्रारम्भिक इन्जिनियरिङ र ट्राफिक सर्भेका विषयमा यस्तो समझदारी चाँडै गर्ने तयारी भइरहेको नेपाली टोलीको नेतृत्व गरिरहेका केशवकुमार शर्माले जानकारी दिए । त्यस्तै, मंगलबार हुने नेपाल–भारत संयुक्त कार्य टोलीको बैठकमा भारतको जयनगरदेखि नेपालको कुर्तासम्म रेल सञ्चालन कसरी गर्ने भन्ने विषयमा छलफल हुने कार्यसूची छ । आजको नयांपत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement