कैदीबन्दीका लागि प्रहरीको ‘कारागारमा किताब अभियान


काठमाडौं – अध्ययन-अध्यापनका माध्यमबाट सकारात्मक चेतनाको विस्तार गर्ने उद्देश्यले नेपाल प्रहरीले देशभरीका कारागारमा रहेका कैदीबन्दीलाई किताब पढाउने अभियान अर्थात ‘कारागारमा किताब अभियान’ सुरू गर्ने भएको छ ।

अभियानको सुरुवात गत चैत २३ गते कर्णाली प्रदेशमा रहेका सबै जिल्ला कारागारबाट गरीसकिएको छ । सुरक्षित समाज निर्माणका लागि ‘कारागारमा किताब अभियान’ प्रभावकारी हुने प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीको विश्वास छ । साहित्य(कला, सकारात्मक उर्जा प्रदान गर्ने, पुस्तकको अध्ययनबाट अपराध घटाउने र आपराधिक मनोवृत्तिका व्यक्तिको आचरणमा सुधार आउने प्रवक्ता सुवेदी बताउँछन् ।

पुस्तकालयमा कथा, उपन्यास, निबन्ध, संस्मरण, जीवनीलगायतका विधाका पुस्तक रहनेछन् । प्रवक्ता सुवेदी विभिन्न संघ-संस्था, साहित्यकार सबैको निस्शुल्क पुस्तक सहयोगबाटै अभियान सुरु गर्न लागिएको बताउँछन् । सुवेदीले भने,‘‘कर्णालीबाट सुरु भएको अभियान देशभरीका कारागारमा पुग्नेछ । यो अभियानले नयाँ सन्देश प्रवाह गरेको छ । कारागार जेल होइन सुधार गृह हो भन्ने कैदीबन्दीले आफैले महसुस गर्नेछन् ।’’

साहित्यकार राजेन्द्र पराजुली कैदीबन्दीलाई पुस्तक र पुस्तकालय नकारात्मक सोच हटाउने, चिन्तनशील बनाउने आचरण सुधार ल्याउने कुरामा ‘कारागारमा किताब अभियान’ सकारात्मक भएको बताउँछन् ।  कर्णाली प्रदेशका जिल्ला कारागारमा प्रदेश प्रहरी कार्यालयका डिआइजी महेशविक्रम शाहीको पहलमा कुल २१ लाख ८३ हजार ७७२ रुपैयाँ मूल्य बराबरका ८,६३८ किताबहरू समुदाय-प्रहरी साझेदारीअन्तर्गत संकलन भई पुस्तकालय स्थापना भएको हो । कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, कालीकोट जिल्लामा कारागारभित्र पुस्तकालय स्थापना गरिसकिएको छ । कारागारमा पुस्तकालय स्थापनाकै दिन साहित्यकारले कैदीबन्दीसँग अन्तरक्रिया समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement