कोरोना महामारीमा नेपाली सेनाः ‘रेन अर साइन’


काठमाण्डु – नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएयता नेपाली सेना अग्र पंक्तिमा खटिँदै आएको छ । नेपालमा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएसँगै मृत्युदर बढेसँगै संक्रमितको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले पाएको छ ।

अस्पतालमा होस या होम आइसोलसनमा संक्रमितको मृत्यु भएको खबर पाउनासाथ नेपाली सेनाको शव व्यवस्थापन टोली तत्कालै पुग्ने गरेको छ । संक्रमितको शव व्यवस्थापनमा समस्या सिर्जना नहोस् भनेर यसको जिम्मा नेपाली सेनालाई दिएको हो ।

नेपाली सेनामा अंग्रेजीमा एउटा आदर्श वाक्य छ त्यो हो ‘रेन अर साइन’ अर्थात् ‘मुसलधारे पानी होस् वा चर्को घाम’ आफू भन्दा सिनियर अफिसरले खटाएपछि घामपानी नभनी तोकेको डिउटीमा खट्नै पर्छ । जुन कुनै समस्या देखाएर पन्छिने छुट कसैलाई हुँदैन् । नियमित डिउटीमा बरु कुनै केहि समस्या परे कमाण्डरले हेरफेर गर्न सक्छ ।

तर, समाजमा कुनै प्राकृतिक विपद् प¥यो वा अन्य विभिन्न प्रकारका आपतकालिन अवस्थामा भने एकाविहानै होस् कि मध्यरात ‘स्ट्याण्ड बाई’ को सिठी बज्यो कि निद्रामा होस् कि शौंचमा होस्, प्रमाणित बिरामी बाहेक तोकिएको ड्रेस, ईक्युप्मेण्टमा तोकेको समय र स्थानमा उ हाजिर हुनै पर्दछ । मुसलधारे पानी होस् या चर्को घाम कमाण्डरले खटाएको ठाउँमा तत्काल पुगिहाल्नुपर्छ ।

यस्तै दृश्य सेनाको ब्यारेक बाहिर बिहिवार बिहान ११ बजे गुल्मीको सदरमुकाम तम्घासमा देखिएको छ । अन्धकार वातावरण सहित मुसलधारे पानी परेर भल–खोलानाला उर्लिरहेका थिए ।

छाता ओढेर पनि हिड्न सक्ने अवस्था नभएपछि बाटो हिड्दै गरेका मानिसहरु पनि यथास्थानका घर–पेटीहरुमा ओत लागेर बसिरहेका थिए । सडकका कतिपय स्थानमा फाट्टफुट चलिरहेका यातायातका साधनहरुले भल–बाडी छिचोल्ने समस्या भोगिरहेका थिए ।

त्यही मुसलधारे पानी परिरहको बेला नेपाली सेनाको गाडी निकै तिब्रगतिमा गुडिरहेको थियो । कुनै युद्ध लड्नका लागि यस्तो हतारो थिएन । हतारो थियो कोरोना संक्रमितको शव व्यवस्थापन । सेनाको गाडी तिव्र गतिमा हुइँकिएको देखेर आम सर्वसाधारणको मनमा चिसो पस्यो–कतै अप्रिय घटना पो घट्यो कि ! यो चासो सामान्य पनि थियो । किनकी जिल्लामा नेपाली सेनाको टोली विपत नपरी हत्तपत्त ब्यारेक छोडेर निस्किँदैन ।

नेपाली सेना संग्राम सार्दुल गुल्म, धागीथुम ब्यारेकका गुल्मपति सेनानी डायमण्ड कार्कीले आम सर्वसाधराणको चासो मेटाउने कोशिश गरे । गुल्मपति सेनानी कार्कीले सेनाको उक्त टोली कोरोना संक्रमितको शव व्यवस्थामा जुटेको जानकारी दिए । उनले वर्तमान समयमा भइरहेका दुःखद निधन र शव व्यवस्थापनमा सक्रिय भएको बताए ।

उनले धुर्कोटका एक जना संक्रमितलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र त्यहीबाट उक्त शव उठाएर सेनाको एक टुकडी ब्यवस्थापन गर्न हिँडेको जानकारी दिए ।

गुल्मले बिहीबार बिहान ७ बजेको समयमा शव ब्यवस्थापनका लागि सेनालाई आग्रह आएपछि खटाएर पठाएको हो । कोरोना संक्रमणको पहिलो लहरमा त्यस ब्यारेकबाट खट्टिएको टोलीले जम्मा दुई जना मात्रैको शव ब्यवस्थापन गरेको थियो । तर, पछिल्लो करिब लहरको डेढ महिना मै १३ वटा शव ब्यवस्थापन गरिएको गुल्मपति सेनानी कार्कीले बताए ।

कार्कीले भने, ‘जिल्लामा पनि हामीले मृतकका आफन्त र जिल्लाको सल्लाहमा शव व्यवस्थापन गर्ने गरेका छौ । नेपाली सेनाले जिल्लाका विभिन्न स्थानमा आईसोलेशन निर्माण गर्न समेत सहयोग गरेको छ ।’

जिल्लाका हर विपद् ब्यवस्थापनमा अग्रमोर्चामा खट्टिदै आएको त्यस गुल्ममा पछिल्लो कोरोना संक्रमणको बेलामा पनि उसले निभाउन मिल्ने र सक्ने सम्मको हर भूमिकामा कुनै कसुर बाँकी नराखेर खट्टिदै आएको भन्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सेनाको प्रशंसा गरिन् ।

सिडिओ शर्माले भनिन्, ‘कोरोना महामारीको बेला सबैभन्दा जोखिम कार्य शव ब्यवस्थापन मानिन्छ । त्यस्तो जेखिमपूर्ण कार्यमा सहज रुपमा नेपाली सेना धागिथुम ब्यारेकले खेलेको भूमिका प्रति उच्च प्रशंसा गर्दछौं । जिल्लाका अन्य हर विपद्मा त सेनाको साथ रहँदै आएको छ नै, अहिलेको यस्तो महामारीमा पनि सेनाका टोली अग्रमोर्चामा खट्टेको छ । सेनाको भूमिका प्रति प्रशंसाले मात्रै होइन सरोकारवाला सबैले प्रशंसा गर्दै आएका छन् ।’

अक्सिजन व्यवस्थापनमा सेनाको हातेमालो

नेपाल पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियानमा नेपाली सेनाले पनि हातेमालो गरेको छ । कोभिड–१९ का कारण जिल्लामा मृत्यु भएकाहरुको शव ब्यवस्थापन गर्दै आएको नेपाली सेनाले पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियानमा समेत हातेमालो गरेको छ ।

नेपाल पत्रकार महासंघ गुल्मीको समन्वयमा जिल्लामा आउने अक्सिजन,स्वास्थ्य सामाग्री वितरण तथा भण्डारण गर्ने काममा नेपाली सेनाले सहयोग गर्दै आएको छ ।

कोभिड–१९ को दोस्रो लहरले गुल्मीमा अक्सिजन अभाव भएपछि नेपाल पत्रकार महासंघ गुल्मीले जिल्लामा अक्सिजन अभियान शुरु गरेको थियो । पत्रकार महासंघले अहिले जिल्लामा अक्सिजन अभाव हुन नदिने काम संगै अक्सिजन प्लान्ट निर्माणका लागि जिल्ला अस्पताललाई ६० लाख रुपैयां प्रदान गरेको छ ।

देश तथा विदेशमा रहेका नेपालीहरुसंग हातेमालो गर्दै रकम संकलन गरि महासंघले प्लान्ट निर्माणका लागि रकम संकलन गरि जिल्ला अस्पताललाई ६० लाख हस्तान्तरण गरेको हो साथै, महासंघ समन्वयमा जिल्लाका विभिन्न स्थानीय तह, स्वास्थ संस्थाहरुमा अक्सिजन, स्वास्थ सामाग्री वितरण समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement