सेनाले मनायो पृथ्वी जयन्ती, प्रधानसेनापति थापाले गरे ‘पृथ्वी नारायण शाह अध्ययन केन्द्र’ को समुद्घाटन


काठमाण्डु – श्री ५ पृथ्वी नारायण शाहको सम्मानमा विगतमा जस्तै यस वर्ष पनि नेपाली सेनाले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७’ मनाएको छ ।

यस सन्दर्भमा पौष १८ गते देखि नै देशका विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु संचालन गरिएका थिए । सञ्चालित कार्यक्रमहरुमध्ये गोरखा–काठमाण्डु एकिकरण मार्ग पदयात्रा उल्लेखनिय रहेको सेनाले बताएको छ ।

पुस २१ गते गोरखाबाट शुरु भई पुस २७ गते हनुमान ढोकाबाट हिमाली, पहाडी, तराई तथा काठमाण्डुका नेवार समुदाय लगायतका सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरि राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाच सहितको सांस्कृतिक प्रस्तुतिकासाथ जङ्गी अड्डामा समाप्त भएको थियो ।

यसै गरी पौष २७ गते बिहानै चन्द्रागिरी, दहचोक, शिवपुरी, साँगा, महादेव पोखरी (नगरकोट) तथा जङ्गी अड्डाको छतबाट नेपाली सेनाका युनिटहरुले एकैसाथ रिभ्याली बजाएका थिए भने सोही दिन जङ्गी अड्डामा थप विशेष कार्यक्रमहरु संचालन भएका थिए ।

एकिकरण पदयात्रा जङ्गी अड्डामा आईसके पछी प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित श्री ५ पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए भने उनले भर्खरै स्थापना गरिएको पृथ्वी नारायण शाह अध्ययन केन्द्रको उद्‍घाटन समेत गरेका थिए ।

तत्पश्चात जङ्गी अड्डाको अडिटोरीयममा इतिहासविद प्राज्ञ जगमान गुरुङ्गबाट श्री ५ पृथ्वीनारायण शाहले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतामा पुर्‍याएको योगदान र सो बाट वर्तमान र भावी पिढिले राष्ट्र र राष्ट्रियताको लागि सिक्नुपर्नेरगर्नुपर्ने कर्तव्य लगायत एकिकरण अभियानका दौरान अपनाइएका विविध सैनिक पक्षहरुका बारेमा उपरथी सहदेव खड्काबाट प्रवचनको कार्यक्रम गरिएको थियो ।

यसै क्रममा अपरान्ह नेपाली सेनाको कल्याणकारी कोषबाट संचालित सबै सैनिक विद्यालयका बाल बालिकाहरु समावेश गरी नेपाली इतिहासका विविध पक्षहरुबारे हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो जसमा बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय प्रथम र रिपूमर्दिनि सैनिक माध्यमिक विद्यालय द्धितिय भएका थिए ।

विजयी टीमहरुलाई बलाधिकृत रथी प्रभुराम शर्माले प्रमाण पत्र र पुरस्कार वितरण गरेका थिए । त्यसैगरी नेपाली सेनाद्धारा आयोजित राष्ट्रिय कविता महोत्सवको अन्तिम चरणको छनौट प्रतियोगिता पनि आजै संचालन भएको थियो । उक्त कविता महोत्सवमा १० वटा उत्कृष्ट र ३० वटा अन्य कविताहरुलाई छनौट गरी पुरस्कृत गरिएको थियो ।

तत्पश्चात तत्कालिन समयमा सेना र सर्वसाधारण लगायतले राष्ट्र निर्माणमा पुर्‍याएको योगदान र बलिदानमा आधारित चलचित्र ‘नालापानी’को प्रदर्शनी पनि गरिएको थियो । त्यसै गरी साँझ ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन’ शिर्षकको नाटक, नेपाल एकीकरणका विविध पाटाहरु समावेश गरिएको दोहोरी गीत कार्यक्रम तथा राष्ट्रियता एवं राष्ट्रिय एकताका विविध पक्षहरु समेटिएको वृत्तचित्र पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

नेपालको संविधान २०७२ को भाग २८ को धारा २६७ को उपधारा (१) मा नेपाली सेनालाई राष्ट्रिय एकताको रक्षा गर्ने दायित्व समेत प्राप्त भए अनुसार राष्ट्रिय एकता प्रबर्द्धन तथा नेपालको सैनिक ईतिहासको जगेर्नाका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गरिएको हो ।

पृथ्वी नारायण शाहले गरेको एकिकरण अभियानमा हिमाली, पहाडी, तराईवासी सबैको महत्वपूर्ण योगदान रहेको ऐतिहासिक तथ्य रहेको हुनाले नेपाली सेनाले विगतमा पनि यस प्रकारको कार्यक्रमहरु आयोजना गर्ने गरेको थियो ।

यस क्रममा गोरखा–काठमाण्डु एकीकरण मार्ग पदयात्राको शुरुवात देखि नै पदमार्गमा पर्ने सर्वसाधारण, स्थानीय निकाय एवं सरोकारवालाहरुले देखाएको आत्मीयता, उल्लासपूर्ण स्वागत तथा सहभागिता एवं सम्पूर्ण कार्यक्रमहरुप्रति समाजका सबै तह र तप्काले देखाएको अपनत्वप्रति नेपाली सेना हार्दिक आभार प्रकट गर्दछ साथै यस कार्यक्रमले राष्ट्रिय एकता, सैनिक ईतिहास एवं पर्यटन प्रबर्द्धनमा समेत थप टेवा पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement