पाँचथर हत्याकाण्ड : एउटै चितामा पाँचजनाको अन्त्येष्टि


पाँचथर – पाँचथरको मिक्लाजोङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका नौ जनाको अन्त्येष्टि गरिएको छ । प्रहरीले घटनाका आरोपित मानबहादुर माखिमको शव भने परिवारको जिम्मा लगाएको छैन । मिक्लाजोङ गाउँपालिका–३ का वडाध्यक्ष हस्तराज फियाकका अनुसार हत्या भएका दुई परिवारमध्ये बमबहादुर फियाकको परिवारका चार सदस्यको अरुबोटेस्थित सल्लेरी चिहानडाँडामा अन्त्येष्टि गरिएको छ । त्यस्तै धनराज शेर्माको परिवारका पाँच सदस्यलाई मिक्लाजोङ–२ को सराङडाँडास्थित नसुवा दोभानमा एकै चितामा जलाइएको छ ।

फियाक परिवारका बमबहादुर फियाक र श्रीमती पुर्षीमाया फियाक तथा छोरी मनकुमारी फियाक र नातिनी आसे फियाकको हत्या भएको थियो । साइँली छोरी बुद्धमाया खजुमले मृतकहरूलाई दागबत्ती दिइन् । बमबहादुर फियाकका चार छोरीमध्ये साइँली छोरी बुद्धमाया र जेठी छोरी दिलमाया तुम्सा मात्रै जीवित छन् । फियाक घरको चाबी उनै छोरीहरूको जिम्मा लगाइएको छ ।

सोही घटनामा बमबहादुरका माइला ज्वाइँ मृत्यु भएका धनराज शेर्माको परिवारका पाँच सदस्यको मृत्यु भएको थियो । आरुबोटे बस्दै आएका धनराजको पुख्र्यौली घर सराङडाँडा हो । घटनामा धनराजकी श्रीमती जस्मिता शेर्मा तथा छोरीहरू युहाना शेर्मा, मुना शेर्मा र इक्सा शेर्माको हत्या भएको थियो ।

सीता खजुमको अवस्था सामान्य

घटनामा घाइते भएकी बमबहादुर फियाककी नातिनी सीता खजुमको उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाका आरोपित फियाक परिवारका कान्छा ज्वाइँ मानबहादुर माखिमको शव मंगलबार अपराह्न झुन्डिएको अवस्थामा फेला परेको थियो । उनको शव भने परिवारलाई दिइएको छैन ।

अहिल्यै बोल्न मिल्दैन : प्रहरी

घटनाका विषयमा जिल्ला र केन्द्रबाट खटिएको टोलीले अनुसन्धान जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी अनिल पौडेलका अनुसार इलाका प्रहरी कार्यालय रविलाई केन्द्र बनाएर आरुबोटे घटनाको अनुसन्धान भइरहेको छ । घटनाका सम्बन्धमा अहिल्यै केही अनुमान गर्न सकिने अवस्था नरहेको पौडेलले बताए । केन्द्रीय अनुसन्धान ब्युरोको टोली तथा प्रदेशको टोलीसमेत अनुसन्धानमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement