केही ट्याक्सी चालक राजनीति गर्न थाले, पठाओमा आबद्ध हुन आह्वान गरेका छौं: असिम बस्नेत (अन्तर्वार्ता)


– निशेष खनाल

काठमाडौं – सरकारलाई कर नतिरेको भन्दै टुटल र पठाओ रोक्नुपर्ने आवाज उठ्यो ।  जनस्तरबाट नै विरोध भएपछि सरकारले यसलाई व्यवस्थित गरेर लैजाने योजना बनाएको छ । तर, केही स्वार्थ बोकेका तत्वहरुले भने पठाओ र टुटललाई रोक्नुपर्ने बताएका छन् ।

राजधानीमा केही ट्याक्सी चालकहरुले यो सेवा बन्द गर्न चेतावनी नै दिए । तर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले टुटल पठाओलाई नरोक्न निर्देशन दिए । यसै विषयमा हामीले पठाओका क्षेत्रीय निर्देशक असिम मान सिंह बस्न्यातसँग कुराकानी गरेका छौं । उनले पठाओ रोक्नलाई सरकारबाट कुनै पनि निर्देशन नआएको बरु सरकारले आफूहरुलाई सहयोग गरेको बताए । निर्देशक बस्न्यातले भने, ‘केही स्वार्थी तत्वहरुले मात्र पठाओ रोक्न भनेका छन् तर, यातायातमन्त्रीज्यूले यो सेवा बन्द नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।’

तालुक अड्डाका हाकिमको सरुवा भइरहँदा नियम, कानुन आउन ढिलाई भएको हुनसक्ने उनको बुझाइ छ । अब पठाओलाई व्यवस्थित गर्नेका लागि चाँडै कानुन आउनेमा उनी विश्वस्त छन् । प्रस्तुत छ उनैसँग काठमाडौंपाटीले गरेको कुराकानीको सम्पादित अंशः

जनस्तरबाट रुचाइएको पठाओलाई सरकारले किन नियममा बाँध्न नसकेको ? कि सरकारले नै विरोध गरेको हो ?

सरकारले विरोध गरेको होइन बरु हामीले सरकारबाट सहयोग पाइरहेका छौं । सरकराले रोक्न खोज्यो भन्ने भ्रम फैलाइयो । सरकार कानुन ल्याउने तयारीमा छ । तर, नेपालको हकमा नियम कानुन ल्याउन एकदमै झन्झट रहेछ । एकैदिनमा ऐन कानुन आउने होइन रहेछ । एउटा नियम ल्याउन कम्तिमा पनि ६ महिना भन्दा बढी लाग्ने रहेछ । बीचमा भइरहेको ऐनलाई हेर्ने वा नहेर्ने भन्ने पनि हुन्छ ।

‘डिसिजन’ दुई किसिमको हुन्छ १. न्यायीक र २. नैतिक डिसिजन । नैतिक डिसिजनलाई हेर्ने हो भने रोक्न कसैले पनि चोहेको छैन् । कानुनी रुपमा बाँधिएको पनि हुन सक्छ । सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरिराख्नु भएकै हो । त्यो एक्सरसाइज गर्नेक्रममा तालुक अड्डा भनेको यातायात व्यवस्था विभाग नै हो । १० महिनामा त्यहाँ दुई तिन पटक लिडरहरु फेरिनु भयो । एक जनाले एउटा काम अलिक अगाडि पुर्याउनुहुन्छ फेरी अर्को आएपछि सुरुबाट गर्नुपर्छ । त्यही ‘साइकल’ भएर पनि यो ढिलाई भइरहेको होला । सायद अब छिट्टै हुन्छ भन्ने विश्वास लिएका छौं ।

तत्कालिन यातायातमन्त्री रघुवीर महसेठले पठाओका लागि कस्तो सहयोग गर्नु भयो ? र उहाँलाई भेटेर आफ्ना समस्या राख्न पाउनु भयो ?

पठाओका लागि नै भनेर केही पनि गर्नु भएन । र मैले उहाँसँग भेट्न पनि पाइँन । गतवर्ष उहाँको मन्त्रालयले यातायात नभएर भौतिक पूर्वाधारलाई प्रायोरिटी दियो । पहिले भौतिक पूर्वाधार पुगेपछि नै यातायातको व्यवस्थापन हुने हो ।

यो वर्ष भने नयाँ मन्त्रीज्यूले यातायातलाई फोकस गर्नुहुन्छ भन्ने विश्वास हामीले लिएका छौं । मन्त्रीज्यूले यातायातलाई फोकस गर्नुहुन्छ भन्ने सुनेको छु त्यसैले हामीले अझै सहज हुने अनुमान गरेको छु ।

ऐन कानुनको विषयमा तपाईहरुले सरकारलाई कुनै सहयोग गर्नु भएको छ ?

गतवर्षको जनवरीमा क्राइसिस भएको थियो त्यो बेलामा हामीले उहाँहरुलाई भेट गरेका थियौं । त्यो बेला उहाँहरुले विदेशमा पठाओको कस्तो व्यवस्था छ भनेर रिसर्च पेपर माग्नु भएको थियो हामीले बुझाएका थियौं । त्यसपछि अहिले तेस्रो डिजी हुनुहुन्छ । डिजी पनि ३/३ महिनामा फेरिनुहुन्छ त्यसकारणले मिसअण्डरस्ट्याण्डिङ हो । कसैले च्यापेको पनि होइन र कसैले दुःख दिएको पनि होइन । खाली यो मिसअण्डरस्टेयाण्डिङ हो अब चाँडै समाधान हुन्छ । नयाँ मन्त्रीज्यू पनि चाँडै समाधान गर्ने सोचमा हुनुहुन्छ । उहाँले हामीसँगको भेटमा ‘म यातायातको सबै क्षेत्रलाई समेटेर अगाडि बढ्छु ’ भन्नुभयो । अब हामी चाँडै नै व्यवस्थित रुपमा व्यवसाय सञ्चालन गर्न पाउँदैछौं ।

त्यसो भए ट्याक्सी चालकहरुको आपत्ति किन नि ?

सबै ट्याक्सी ड्राइभरहरुको आपत्ति होइन । केही चालकहरले नबुझेर आपत्ति जनाउनु भएको हुनसक्छ । पठाओमा त ट्याक्सीहरु पनि छन् नि ! पठाओबाट दैनिक रुपमा ट्याक्सी ड्राइभरहरुलाई राम्राे आम्दानी भइरहेको छ । त्यसको कारण पनि छ । पहिला चोकमा मान्छे कुरेर बस्नुपथ्र्यो । तर, अहिले त आफ्नो वरिपरिको मान्छे टिप्न पाउने भए ।

उहाँहरुमध्ये कतिपयलाई के भ्रम भयो भने पठाओ भनेको ट्याक्सीको दुश्मन हो । फेरी बाइकहरुको एक हुल आएर के भ्रम छर्नुभयोे भने तपाईहरुले ट्याक्सी ल्याएर हामीलाई विस्थापन गर्नु भयो भन्नुभयो । हामी कसैको विरोधी होइनौं नि । नेपालमा ट्याक्सी चढ्नेको एउटा जमात छ, बाइक चढ्नेको अर्को जमात छ । त्यस्तै अब हामीले केही समयपछि बस पनि लञ्च गर्छौं एप्सबाट कुन रुटमा कुन बस आयो त्यो सबै हेर्न मिल्छ ।

 तपाईहरुले ट्याक्सी ड्राइभरहरुलाई बुझाउन सक्न भएन भन्ने छ नि !

होइन हामीले भिडियो सन्देश जारी गरेर नै हाम्रो समूहमा आबद्ध हुन आह्वान गरेका छौं । कतिपयलाई चाँही हाम्रो एप्स चलाउन गाह्रो भएर पनि विरोध गर्नुभयो ।

हामीले उहाँहरुको साथीहरुलाई रेफर गर्नु भनेका छौं । पुरस्कार स्वरुप केही नगद पनि दिन्छौं भनेका थियौं । हरेक दिन जसो १०/१२ जना आइरहनु भएको छ । र यो ट्याक्सीमा केही व्यवसायी भन्दा पनि राजनीति गर्ने पनि हुनुहुन्छ । केही ट्याक्सी चालक राजनीति गर्न थालेका छन् ।  तर हामीले उहाँहरुलाई पठाओमा आबद्ध हुन आह्वान गरेका छौं

राजनीति गर्नेहरुलाई नराम्रो फिल भएको पनि हुनसक्छ । तर, व्यवसाय गर्नेहरु नितान्त मेरो यो व्यवसाय हो । सकेसम्म यति नै मिहिनेतबाट धेरै पैसा कमाउँछु भन्नेहरु त आइरहनु भएको छ । र नयाँ कुरासँग सबैलाई डर लाग्छ त्यो स्वभाविक हो । समाज परिवर्तन सँगै उहाँहरु पनि परिवर्तन हुनुहुन्छ भनेर हामीले धैर्यताका साथ कुरिरहेका छौं ।

तपाईहरु बस पनि लञ्च गर्ने तयारीमा हुनुहुन्छ ?

टेक्नोलोजी भनेको समुन्द्र हो । समुन्द्रबाट जति पानी निकाले पनि सकिँदैन र जति पानी पाेखे पनि सकिँदैन नि । मार्केटले माग गरेपछि टेक्नोलोजी तुरुन्तै आउँछ । हामीले यो विषयलाई पनि सोचिरहेका छौं । अहिले हामीले बाइक र ट्याक्सीबाट सेवा दिइरहेका छौंं । समयले माग गरे गाडी पनि लञ्च गर्ने छाै‌ ।

उहाँहहरुले नयाँ प्रविधि चलाउन अफ्ठेरो भयो भन्नु भएको छ नि त !

हो, हामीसँग जोडिन आउनु भएकामध्ये धेरै जनाले स्मार्ट फोन चलाउन गाह्रो भएको बताउनु भएको छ । हामीले तालिम पनि दिँदै आएका छौं । फेसबुक चलाउने जान्नेले यो एप्स चलाउने गाह्रो छैन् । उहाँहरुलाई नयाँ कुरा ग्रहण गर्न गाह्रो भएको मात्र हो । हामीले धेरै जनासँग भेट गरेर हामीसँग जोडिन भनेका छौं ।

टुटल र पठाओले राजश्व छली गर्यो भन्ने आरोप पनि लाग्यो नि !

हो, आरोप लाग्यो । मैले विज्ञप्ति नै निकालेर खण्डन गरेको छु । हामीले त सरकारलाई सहयोग गरिरहेका छौं नि ! हामीले सेवा सुचारु गर्नुभन्दा अगाडि नै भ्याटमा रजिस्टार गरिसकेका छौं नि । कुरा चाँही कहाँ के भएको थियो भन्दा हामीले तिर्नुपर्ने कम्पनीको आम्दानीको भ्याट र अरु जे–जे हामीलाई लाग्नुपर्ने त्यो तिर्दै गयौं । राजश्वले कहाँनेर प्रष्ट पार्न सकेन भने त्यो इन्डिभिजुवल चालक छ उनीहरुको ट्याक्स कसरी बनाउने ? नीति नभएको भएर उनीहरुले ट्याक्स तिर्न पाइरहेका छैनन् । त्यो नीति आएपछि मिल्छ ।

नीति नै नभइ उहाँहरुले के हिसाबले ट्याक्स तिर्नु त ? अहिले तलब खाएको हिसाबमा १, १०, २०, ३० र ३६ भएर जाने हो कि । कन्सल्टेन जसरी १५ प्रतिशत गर्ने हो कि ? कि उहाँहरुले १–१० गर्ने ठाउँमा आफ्नो खर्च कटाउने हो कि ? खर्च कति राख्ने भन्ने कुराहरु नीति आएपछि बल्ल थाहा हुन्छ नि ! अहिले गएर म पठाओ चलाउँछु भनेर हुँदैन । एक पठाओलाई वैधानिकता दिएको छैन् । अवैधानिक रुपमा कमाएको सम्पतिको ट्याक्स सरकारले लिन मिल्दैन । तर, आम्दानीको ट्याक्स लिन पाउने व्यवस्था पनि छ । यो सबै मिसअण्डस्ट्याण्डिङ मात्रै हो ।

तपाईहरुलाई कानुनको अभावले अफ्ठेरो परेकाे हाे ?

हो । कानुनको अक्षरअक्षर हेर्ने हो भने रातो नम्बर प्लेटको सवारीले कसैको चिठ्ठी पुर्याउन लैजानु पर्यो भने पनि अवैधानिक मानिन्छ । घरमा दुध पुर्याउन पनि अवैधानिक मानिन्छ । तर, कानुनको प्राक्टिल गर्न सकेका छैनौं नि त । यस्तो भयो भने हाम्रो अर्थतन्त्र नै डुब्ने अवस्थामा पुग्छौं ।

राइड सेयरिङभित्र असुरक्षित भयाे भन्ने कुरा पनि उठिरहेको छ नि ! 

सुरक्षाको हिसाबले हेर्ने हो भने हामीहरु हवाई सुरक्षाभन्दा बढी सुरक्षित छौं । जति दुर्घटना हवाई सेवामा हुनेगर्छ आजको हाम्रो तथ्यांकमा राइड साइडमा भइरहेको छ ।

राइड सेयरिङमा दुव्र्यवहारको कुरा पनि उठिरहेको हुन्छ नि ! कसरी निराकरण गर्नुहुन्छ ?

मोबाइल एप्समार्फत सेवा लिन चाहने र सेवा दिन चाहनेहरुबीच भेट हुन्छ । सेवा दिन चाहनेहरुलाई अफिसमै बोलाएर काजपत्रको सक्कल हेरेर एक घण्टाको ओरिएन्टेसन क्लास दिन्छौं । हामीले एक्पस कसरी चलाउने, यात्रुलाई दुव्र्यवहार गर्दा नेपालको कानुनअनुसार कस्तो सजाय हुन्छ भनेर छोटकरीमा जानकारी दिइरहेका हुन्छौं ।

र सेवा लिन चाहनेहरुले चाँही आफ्नो फोन नम्बरबाट जोडिनुहुन्छ र नेपालमा हरेकको नागरिकता लिन मिल्दैन । तर, फोन नम्रब लिँदा चाँही नागरिकता बुझाएको हुने । सेवा दिनेहरुलाई केही भएको खण्डमा फोन नम्बरबाट के भएको भनेर प्रहरीले ट्र्याक गर्छ । हामीले मिल्दैन । र कस्टमरलाई केही भयो भने राइडरले दिएको डिटेल हामीसँग हुन्छ र हामीले तुरुन्छ प्रहरीलाई बुझाउँछौं । अहिलेसम्म ठूलो अप्रिय घटना भएको छैन् ।

अतिकति अगाडि फर्किन चाँहें । पठाओ सञ्चालन गर्ने सोच कसरी आयो ? अर्थात तपाईललाई यो सेवा जनतालाई खाँचो छ है भन्ने महशुस कसरी भयो ?

नेपालमा नाकाबन्दी चलिरहेको थियो । नाकाबन्दी भन्दा अगाडि कसैले हात हल्लायो भने सकैले पनि मोटरसाइकल रोक्दैन थियो । त्यो बेला बाटोमा कसैले हात हल्लाए भने लिफ्ट दिन्थें । त्यसपछि मेरो दिमागमा केही त यसबाट पनि गर्न सकिन्छ भन्ने लागिरहेको थियो । २०१६ को सुरुवातमा म एउटा कम्पनीमा काम गर्थें ।

उवर्ग भन्ने कम्पनी सञ्चालन गर्ने अन्तिम तयारीमा थियौं । ‘उवर्ग’कै आफ्नै समस्याबाट त्यो लञ्च हुन पाएन । त्यो कम्पनी सञ्चालन गर्ने भनेर यति धेरै मिहिनेत गरेका थियौं । त्यसपछि म फस्ट्रेट भएर जागिर नै छोडिदिएँ ।

त्यसपछि जागिर छोडेर त्यतिकै बसें । मेरो साथी पनि जागिर छोडेर अमेरिका घुम्न जानुभयो । अहिले उहाँ पनि यहि हुनुहुन्छ । एक जना साथीले बंगलादेशमा पठाओ भन्ने ब्रान्च छ उनीहरु पनि अन्तराष्ट्रिय रुपमा जान खोजिरहेको छ । त्यसको अध्ययन गर्न नेपाल पनि आएको थियो भन्यो । त्यसपछि हामीले कुरा गर्यौं ।

त्यसपछि म बंगलादेश गएर किन नेपालमा यो व्यवसाय चल्छ भनें । त्यसपछि उहाँहरुको पहलमा लगानी खोज्न सुरु भयो । टेक्नोलोजी उहाँहरुको लगानी हाम्रो । त्यसरी नेपालमा पठाओ सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement