प्रधानमन्त्रीज्यू, इतिहासमा महत्वको व्यक्ति बन्नेकि ?


काठमाडौं – कोराना भाइरसको विश्व महामारीबाट २१औँ शताब्दीको मानव सभ्यता सङ्कटमा छ । कोरोना भाइरसको नयाँ संस्करण (कोभिड-१९) को सङ्क्रमणबाट मानव जातिलाई बचाउन सामाजिक दूरी कायम गर्ने, जो जहाँ छ त्यहीँ बस्ने, मानिसहरुको आवत जावत पूरै बन्द गर्ने बन्दाबन्दी (लकडाउन) रणनीति प्रायजसो सबै देशले अवलम्बन गरिरहेका छन् ।

नेपालमा पनि यही चैत ११ गतेदेखि लक डाउन चलिरहेको अवस्था छ । लकडाउनबाट विशेषगरी श्रमिकवर्गहरु मारमा परिरहेका छन् । शहरमा रोजीरोटी गुमेपछि अधिकांश श्रमिकहरु गाउँ फर्किरहेका छन् । कृष्ण सापकोटाले प्रधानमन्त्रीलाई लेखेकाे पत्र ।

सम्माननिय प्रधानमन्त्रीज्यू नमस्कार,

कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई अति नै आक्रान्त पारेको यो कठिनाईको बेलामा त्यसै बस्न सकिन, त्यसैले केहि लेख्दैछु । बरु कहाँबाट कुरा शुरु गरौं खोई ? आज विश्वले खेपेको यो महामारीको पिडा कुनै काल्पनिक फिल्मको कारुनिक कहानी भन्दा कम छैन । आज मानव दुनियाँ वास्तविक दर्दनाक पिडामा छ । कैयौ मानवले अस्पतालको शैयामा आफ्नो जिवन–मरणसँग जुध्दै छट्पटाएर रहनुपर्ने यो संकट सामान्य संकट होईन । पिडाको पनि एउटा हद हुन्छ ।

तर यस भाइरसले मानव पिडामा कुनै हद वा सिमाको घेरा देखेन । हुनत जीन्दगी यसै पनि सहज त छैन । त्यसैमाथि यो मानव पिडाकोे बज्रपातमा कैयन मर्नेहरुले पनि मलामी पाउन सकेनन् । दाहसंस्कार हुंदा परिवार र आफन्ति उपस्थित हुन सकेनन् । मरेकाहरुको एकै चिहान हुन पुग्यो । कस्तो अप्ठ्यारो भोग्नुपर्यो आज यो दुनियाँले । महामारी यति बलवान हुंदोरहेछ । हाल यो दानवरुपी कोरोना भाइरस (कोभिड–१९) ले साच्चै नै बिश्वका मै हु भन्ने शक्तिशाली राष्ट्रहरुलाई पनि पटक्कै टेरेन । तिनै विकशित देशहरुमा यस महामारीले झनै साम्राज्य फैलाउदै गयो ।

२०१९ को डिसेम्वर अन्तिममा चीनको उहान शहरमा जन्मेको थियो यो महामारीको भाइरस । र बिस्तारै सम्पूर्ण विश्वमा फैलिदै गएको थियो । नाथे यो सुक्ष्म भाइरस हाम्रो त एक चुट्कीको भरमा भागेर जान्छ भन्ने सोचेका थिए युरोप र अमेरीका जस्ता बिकसित महाराष्ट्रहरुले ।, ती महाराष्ट्रहरु आफ्नो तागतमा यती बढी मस्त थिए कि जुन तागतलाई यस भाइरसले एक रत्ती पनि गनेको छैन । आज सारा दुनियालाई यो भाइरसले नराम्रो सँग सताइरहेको छ । पूरा विश्व मानवको जीवनस्तरलाई नै भयानक संकटको भुमरीमा फसाएको छ । अहिले साह्रै ठूलो बिषमता र जटिलताको परिस्थीतीले यो विश्व दुनियालाई नै थलाएको छ । विश्व राष्ट्रका कैयन अस्पतालका प्रत्येक शैया भरिभराउ भएका छन् । हरेक बिरामीका आफन्तहरु हारगुहार गरिरहेका छन् ।

मान्छे जिवन मरणसँग जुध्दै छट्पटाइरहेका छन् । कोभिड–१९ को आक्रमणले विश्वका कैयन आमाबुबाले अनाहकमा आफ्नो परिवार गुमाएका छन् । पून्य तवरले मानव सेवामा समर्पित भएका स्वास्थ्यकर्मीहरुले अकालमा स्वर्गको यात्रा गर्नुपरेको छ । त्यस्तै निस्वार्थ दुधे बालकले आमाबाबु गुमाएर टुहुरो बन्नुपरेको छ ।
साच्चिकै भन्नुपर्दा यो दुनियामा कस्तो महामारी भित्रीन पुगेछ । जहाँ कुनै पनि राष्ट्रले अहिले सम्म गरेको खोज, आविस्कार र चमत्कारलाई यस घातक रोगले एक रत्ती पनि टेरेन । यस महामारीले कुनै पनि राष्ट्रको उत्कृष्ट भनिएको राजनैतिक प्रणाली, राष्ट्रको उन्नती, तथा राष्ट्रको संस्कृति मुल्य–मान्यता केहिलाई पनि चिनेन । यसले विश्वका सम्पूर्ण मानवलाई समान रुपमा मात्र चिन्यो । यसले कुनै राष्ट, बर्ग तथा तह छुट्टाउनै जानेन ।

यसले मात्र जान्यो संसारका हरेक मानवलाई ठूलो चोट पुर्याउन । यसले बलियो बिज्ञानको शाखलाई कमजोर सावित गर्दै आफ्नो भयंकरको हैसियत देखाउन तिर मात्र लाग्यो । यस कोरोना भाइरस महामारीको चपेटाले हाम्रो देश नेपाललाई पनि अछुतो छोडेन । सबैलाई थाहा भएकै कुरा हो, विश्व परिवेशमा हाम्रो देशको स्वास्थ्य संरचना अति नाजुक छ । धनी देशको तुलनामा हाम्रो देशको स्वास्थ्य प्रणालीमा कहालीलाग्दो कमजोर स्थिती छ । तर हाम्रो बौद्घिकताले गर्दा यो महामारीको लडाइलाई हाल सम्म जितेका छौ । बिश्वास छ हामी यस युद्घमा कदापी हार्ने छैनौ ।

प्रधानमन्त्रीज्यू, गएको चैत्र एघार गतेबाट हामी सारा नेपालीहरु चाहेर वा नचाहेर पनि घर भित्रको संसारमा दपनिनुपरेको छ । बाहिर आफ्नो साम्राज्य फैलाइरहको दानवरुपी कोरोना भाइरस हेरेको हेरै भएको छ । ताकि यो कोरोना भाइरसले हामी नेपालीमा त्यति ठूलो आक्रमण गर्न सकेन । देशमा सतर्कता अपनाउन तुरुन्त गरिएको लकडाउन निर्णयले महामारीबाट बचाउन अचुक औषधीको रुपमा काम गरेको छ । दुनियाँमा धनी तथा शक्तिशाली राष्ट्रले यो निर्णय समयमा गर्न नसक्दा त्यहाँका मानिसहरुले ठूलो क्षति बेहोर्नुपरेको छ । तर, यो संकटको घडीमा पनि केहि भ्रष्टहरु टाई शुटमा बेरीएर पैसाको लागि आफ्नो असली रुप देखाउन मै तल्लिन भए । जस्तोसुकै समय होस्, छल्न मात्र पल्केका केहि उच्च पदस्थ व्यक्तिहरुको मानसिकतामा उहि पुरानो यान्त्रिकरुपले सोच्ने बाहेक अरु फरक देख्न पाईएन । दुःखको कुरा यहि छ यो देशमा ।

नेपाली जनताले सुनको महलमा सुत्ने र सुनकै थालमा खाने भनेका त थिएनन् नि । जनताले त मात्र नेताहरु अझै बढी जिम्मेवार र गम्भिर भएर यस कोरोना भाइरस महामारीको संकट समाधान र देशको उन्नतीमा गृहकार्य गरुन् भन्ने सोचेका थिए । तर केहीको काम गर्ने छनक उस्तै देखियो । यो संकटमा पनि कोही देशको सेवामा हैन आफ्नै मेवामा मात्रै केन्द्रित भएको पनि देखियो । यो महामारीमा गरीव जनताका चुलोमा देखिएका संकट र औषधीको अभाव पहिले भन्दापनि व्यापक चरमचूलीमा पुगेको देखियो । यो संकटको समयमा पनि केही आसेपासेले निर्धक्क सँग लुट्ने र भ्रष्ट्रचार गर्ने छुट पाएको कटु यथार्थ जनताले राम्रोसँग नियालेकै छन् ।
प्रधानमन्त्रीज्यू, जती कुरा गरेपनि समस्या जिउका तिउ छन्, अब धेरै समस्या नकोट्याउ होला ।

हाम्रो वरिपरि फैलिएको यो दानवरुपी कोरोना भाइरस (कोभिड–१९) लाई निमिट्यान्न पारेर धपाउनु अहिलेको प्रमुख चूनौती तपाई हामी अगाडी छदैछ । साच्चिकै भन्नुपर्दा यस महामारी विरुद्घको लडाईमा नेपाली जनताले सरकारलाई सक्दो ठूलो साथ र सहयोग दिएका छन् । र यो विश्वास छ की अझै गहिरो संकटमा पनि साथ र सहयोग दिइरहनेछन् । देशको यो संकटको घडीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको योगदान अपार छ । उनीहरुको देन व्यापक छ । जो खटेका छन्, उनीहरुले लगाएको यो गुन कहिल्यै तिरेर सकिदैन । उनीहरुको साहासको सदैव कदर हुनैपर्छ ।

प्रधानमन्त्रीज्यू, हाल विश्वका अति सुरक्षित ठाँउहरु पनि असुरक्षित बन्दै गएका छन् । हराभरा तथा धनी ठाँउहरु उजाड बन्दै गएका छन् । प्रत्येक मान्छे आफ्नो र आफन्त खोज्दै भौतारिरहेका छन् । मानव समूदायमा हराउदै गएको धर्म, संस्कृतिको उजागर हुन थालेको छ । भत्किएका पारिवारिक सम्वन्धहरु गासिन थालेका छन् । नेपालको परिवेशमा हाल गाँउको महत्व व्यापक बढीरहेको छ । साथै देशको महत्व झनै बढीरहेको छ । पाइला पाइलामा सरकारको जिम्मेवारीमा प्रभावकारीताको माग भइरहेको छ । जुन यस महामारीले निम्त्याएका सकरात्मक पाटाहरु हुन् । यो संकटको समय हरेक राज्य सञ्चालकको क्षमता मापन गर्ने परीक्षा पनि हो । यस समयमा संकटबाट पार पाउन खासगरी सरकारी संयन्त्र आफ्नो बलबुताले भ्याएसम्म खट्नुपर्ने हुन्छ ।

नत्र पछि टाउको दुखाई बन्न सक्छ । प्रधानमन्त्रीज्यू, बिवेकको दायरालाई व्यापक फराकिलो पार्नुस् । सरकार आफ्नो जग लाई कत्ति पनि हल्लिन नदिई उच्च मनोवलको साथ अझ सशक्त ढंगले मिसनमा लाग्नुपर्ने हुन्छ । अन्यथा भविश्यमा देशले कुनैपनि अकल्पनिय दुर्घटना बेहोर्न सक्छ । महामारीलाई निश्तेज पार्न विशेषगरी नेतृत्व दृढ संकल्पका साथ अगाढी बढ्नैपर्छ । आजका मिति सम्म यस महामारीलाई हामी नेपालीले जितेका छौ । चार बर्ष अघि महाभुकम्पको बिपत्तीमा पनि हामी धैर्यताको साथ लडेर सफल अवतरण गरेकै हौं । नाकावन्दीमा पनि कसैसँग नझुकि चुनौतीलाई पार लगाएकै हौं । देशमा कोही पनि कुनै स्वार्थबाट प्रेरीत नभई लक्ष्य भेट्टाउने प्रयासमा लाग्ने हो भने यो संकट हटाउन गाह्रो छैन । देशले छिटै कोल्टे फेर्नेछ ।

यो महामारीलाई जित्नको लागि र देशलाई छिट्टै कोल्टे फेराउनको लागि साच्चिकै नेपालीहरु सँग व्यापक सामथ्र्य छ । हामी यो अभियानमा गोलवन्द हुनैपर्छ । सारा अनुभवी, इमान्दार र जागरिला बौद्घिक जमातको व्यबस्थापन मिलाई जिम्मेवारीका साथ काम गरेमा देशको भविश्य उज्वल छ । जीवनमा ठूला हुरीबतास आधीबेहेरी अनेक आउछन् लडाउछन्, अनि फेरी उठ्नुपर्छ र हिड्नुपर्छ । त्यो नै क्षमतावान र परिपक्कताको एक प्रमूख बिषेशता हो । जीवन र जगत बुझेको, दृढ इच्छाशक्ति भएको, हाम्रो भरोसाको दक्ष प्रधानमन्त्री तपाई आउनुहोस् साच्चिकै यो विश्व इतिहासमा अति महत्वको व्यक्ति बन्ने प्रयास गर्नुहोस् ।

संकटको यो घडीमा तपाईको सच्चा कर्ममा साथ दिने हामी जनता छदैछौ । अवश्यपनि, अफ्ठ्यारो र चूनौती झेल्नु वास्तविक जिवनमा खेलिने सच्चा खेल हो । जिन्दगीमा कोहि पनि कहिकतै बेस्सरी नठोक्किएसम्म इतिहासले सम्झिदैन । प्रधानमन्त्रीज्यू आफ्नो क्षमतालाई पूर्ण बिश्वास गर्नुहोस । यो संकटको घडीमा सरल तवरले नेपाली जनताको पक्षमा बलियो एजेण्डा स्थापित गर्नुहोस । हचुवाको भरमा नभई सहि गन्तव्य पहिल्याएर मात्र निर्णय लिनुहोस । अन्यथा तपाईको सानो त्रुटीले यो देशका साढे तीन करोड जनताले नराम्रो दुःख र कष्ट झेल्नेछन् । सच्चा जनताको अभिभावकको भुमिका निर्वाहा गरी देशका साढे तीन करोड जनताको हालको भयलाई राम्रोसँग हटाईदिनुस अनि आफ्ना जनताको भविश्यको सुनिश्चितता गरिदिनुस् । यती मात्र होइन एक दिन सारा विश्वलाई नै नेपालले लिड गरेको हेर्न मन छ नेपालीहरुलाई त्यसको लागि अहिलेनै सहि मार्ग पहिल्याउने प्रयास गर्नुस् । धन्यवाद ।

लेखक कृष्ण सापकोटा,फलेवास ५,पर्वत

प्रतिक्रिया दिनुहोस
Advertisement