जहाँ एम्बुलेन्स बन्यो प्रहरी भ्यान


कालिकोट – प्रहरीको भ्यान उद्धार कार्यमा, कुनै घटनामा आरोपितलाई पक्रेर हिरासतसम्म लैजान र विशिष्ट व्यक्तिको स्कर्टिङमा प्रयोग गरिन्छ । तर कालिकोटमा भने प्रहरी भ्यानले बिरामी बोक्न थालेको छ । एम्बुलेन्स नहुँदा बिरामीलाई जिल्ला अस्पतालसम्म पुर्‍याउन प्रहरीको भ्यान प्रयोग गरिएको हो ।

गाउँमा कोही अकस्मात् बिरामी परेमा एम्बुलेन्सका रूपमा जिल्ला प्रहरी कार्यालयको भ्यान प्रयोग हुँदै आएको छ । तीन महिनादेखि जिल्ला अस्पताल एम्बुलेन्सविहीन भएको छ । यसअघि सञ्चालन हुँदै आएको बा २ झ १७४० नम्बरको एम्बुलेन्स गत मंसिर २६ गते दैलेखको जिरो पोइन्टनजिकै दुर्घटनामा परेपछि कालिकोट एम्बुलेन्सविहीन बनेको हो ।

एम्बुलेन्स नभएपछि सडक मार्गले जोडिएका नजिकका स्थानबाट बिरामी बचाउन प्रहरीले स्कर्टिङ भ्यान पठाउँदै आएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी विनोद शर्माले फागुनमा मात्र ६ जना बिरामीलाई प्रहरीको भ्यानले अस्पताल पुर्‍याएको जानकारी दिए ।

‘अस्पतालमा एम्बुलेन्स छैन । गाउँमा सुत्केरी हुन नसकेका महिलालाई तत्काल अस्पताल पुर्‍याउन आफन्तले हामीलाई सहयोग माग्छन्। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बिरामीलाई प्रहरीले आफ्नो गाडी पठाएर उद्धार गर्दै आएको छ’, उनले भने । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमाछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement