दाँत तथा मुख स्वस्थ हुनु भनेको शरीर स्वस्थ हुनु हो, दिनको दुई पटक ब्रस गर्नु अनिवार्य : डा. महर्जन


निशेष खनाल

काठमाडौं – दैनिकरुपमा दाँतको समस्याले हामीलाई पिरोलिरहेको हुन्छ । सानो–सानो गल्तीका कारण हामीले दाँतको समस्या झेल्दै आइरहेका छौं । 

दाँतको मुख्य समस्या भनेको हाम्रो दैनिक जीवन शैली नै मुख्य कारण रहेको अल्का अस्पतालकी दन्त चिकित्सक डा. राधिका महर्जन बताउँछिन् ।

अधिकांश नेपालीहरु खाना खाएपछि ब्रस नगर्ने कारण दाँतको समस्याबाट पीडित बन्दै गइरहेका छन् । डा. महर्जनले नेपालीहरुमा दाँतको समस्या दिनानुदिन बढ्दै गइरहेको स्वीकार गर्छिन् ।

दाँतको समस्यामा देखा पर्नुमा धुम्रपान पनि मुख्य कारण रहेको छ । अधिकांश नेपालीहरु चुरोट, खैनी, गुट्खाको लतमा छन् । त्यसले दाँतको समस्या देखापर्छ ।

उनले मानिसहरुले खानपान र सफाईमा ध्यान नदिँदा दाँतमा समस्या देखापर्ने बताइन् । उनले खाना खाएपछि सिन्काले दाँत कोट्याउनु गलत भएको बताइन् । दाँत कोट्याउँदा झन ठूलो खाल्टो पर्ने हुँदा ब्रस गरेर अड्कीएको खानेकुरा निकाल्न उनी सुझाव दिन्छिन् ।

मिलेनियम स्माइल्सकी मेनेजिङ डाइरेक्टरसमेत रहेकी डा. महर्जनले भनिन्, ‘हाम्रो दाँतको ग्याप छ कोट्याउन थालेपछि झन बढ्छ । त्यसपछि खानेकुराहरु पनि बढी नै अड्किन थाल्छ । सिन्काले दाँत कोट्याउँदा गिजाहरुमा असर गर्छ । डेन्टल फोस भन्ने हुन्छ त्यो लगाउँदा राम्रो हुन्छ । मानिसहरुमा के भ्रम छ भने दाँत धेरै ब्रस गर्नु हुँदैन ।’ प्रस्तुत छ डा. महर्जनसँग काठमाडौंपाटीले गरेको कुराकानीको सम्पादित अंशः

दाँतको समस्या के–के कारणले समस्या देखापर्छ ?
१. जिवनशैली । उदाहरणका लागि गुलियो धेरै खाने प्रशोधित काब्रोहाइड्रेट, रेसादार खानेकुराको कमी, सबैभन्दा बढी दाँत तथा गिजा राम्ररी सफा नगर्नु ।
२. बिहान बेलुका राम्ररी ब्रस नगर्नु
३. समयमा दन्त चिकित्सककोमा गएर चेकअप नगराउनु
४. बेवास्था गर्नु
५. सचेतचनाको कमी
६. राम्रो डेन्टल क्लिनिक तथा अस्पतालको पहुँच सबैतिर नहुनु
सामान्य अवस्थामा दाँतमा किरा लागेको थाहा हुन्न । दाँतमा इनामेल, डेन्टाइन तथा पल्प गरी ३ तह हुन्छ । जब किरा लाग्ने प्रक्रिया पल्पमा पुग्छ । तबमात्र बिरामीलाई दुखाई हुन थाल्छ । यसपछि मात्र बिरामी उपचारका लागि अस्पताल जाने गर्छन् । यतिबेलासम्म ढिला भइसक्छ र जरा देखि भर्ने(रुप क्यानल ट्रिटमेन्ट) मा जान पर्ने हुन्छ ।

 त्यसकारण दाँत तथा मुख स्वस्थ हुनु मनको शरीर स्वस्थ हुनु हो, दिनको दुई पटक ब्रस गर्नु अनिवार्य छ ।

दाँतमा किरा नै हुन्छ भनिन्छ, कति सत्य हो ?
हुँदैन । दाँतको किरा नाङ्गो आँखाले देखिँदैन । दाँतमा किरा लाग्नु भनेको माइक्रोवियल रोग हो । दाँतमा विभिन्न खाले ब्याक्टेरिया हुन्छ ।

हामीले खाएको खानेकुरा जुन दाँतमा तथा मुखमा हुन्छ । त्यही खानेकुरालाई ब्याक्टेरियाले मेटाबोलाइज गरेर एसिड उत्पादन गर्दछ । अन्तमा यही एसिडले दाँतलाई कमजोर बनाउँदै लान्छ र अन्तमा खाल्डो (क्याविटी) पर्ने हुन्छ ।

बिरामीले दाँतमा किरा लागेको कसरी थाहा पाउने त ?
वर्षमा २ पटक डेन्टिस्टकोमा गएर जचाउने (नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सक) । तर नेपालमा धेरैले क्वार्टरी गर्ने गर्दछ । भनेको सामान्य जाने बुझेको तथा सहयोग गरेको भरमा बिरामीलाई झुट बोल्ने व्यक्ति गर्ने व्यक्ति । त्यसैले नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकसँग मात्र गर्ने गर्नुपर्दछ । समस्यालाई कुरेर बस्ने होइन कि बरु समस्या हुन अगाडि नै चेकअप गराउने बानी बसाल्दा राम्रो हुन्छ ।

अधिकांश मानिसहरुमा खाना खाएपछि दाँत कोट्याउने बानी हुन्छ नि !
हाम्रो दाँतको संरचना जोडिएर बनेको हुन्छ । हामीले दाँत कोट्याउने भनेको खाना अड्किएर नै हो । तर, त्यो गलत हो । हाम्रो दाँतको ग्याप छ कोट्याउन थालेपछि झन बढ्छ । त्यसपछि खानेकुराहरु पनि बढी नै अड्किन थाल्छ । सिन्काले दाँत कोट्याउँदा गिजाहरुमा असर गर्छ ।डेन्टल फोस भन्ने हुन्छ त्यो लगाउँदा राम्रो हुन्छ । मानिसहरुमा के भ्रम छ भने दाँत धेरै ब्रस गर्नु हुँदैन ।

तपाईले भन्नु भएको अधिकांश नेपालीहरु ब्रस गर्न जान्दैनन ? त्यसो भए कसरी गर्ने त दाँतको सफाइ ?
ब्रस गर्नु भनेको भाँडा माजेजस्तो होइन । हाम्रो दाँत एकदमै संवेदनशील वस्तु हो । यो घोटेर सफा हुने पनि होइन । विस्तारै ब्रस गर्नु फाइदाकारी हुन्छ । ब्रसिङ टेक्निक धेरै प्रकारका हुन्छन् । एउटा अगाडिका तल र माथिका दाँतलाई जोडेर सर्कुलर मोसनमा ब्रस गर्नुपर्छ । पछाडिको दाँत ब्रस गर्दा मुख आँ गर्नु अनि ब्रसको टुप्पेले चपाउने दाँतमा अलिअलि प्रेसर गर्नुपर्छ । त्यस्तै दाँतकोबीच भागमा पनि ब्रसले बिस्तारै रगड्नुपर्छ । धेरै रगडेर ब्रस गर्नु आफैंमा घातक हुन्छ ।

मानिसहरुमा के भ्रम छ भने दाँत धेरै ब्रस गर्नु हुँदैन । दाँतको इनामेल जान्छ भनिन्छ । ब्रस गरेर इनामेल जाने कुरा कति सत्य हो ?

त्यो हुँदै हुँदैन त म भन्दिन । र शतप्रतिशत त्यही नै सत्य हो पनि भन्दिन । जस्तो तपाईले दिनमा कति पटक ब्रस गर्नुहुन्छ भन्ने कुरा हो । सामान्यतया मानिसहरुले दिनमा दुई पटक ब्रस गर्नुहुन्छ । बिहान र बेलुका । मलाई लाग्छ दिनमा पाँच/छ पटक ब्रस गर्ने प्रायः कमै हुन्छ ।

बिहानै उठ्यो ब्रस गर्यो । तर, त्यो गलत हो । खाना खाएपछि ब्रस गर्दा हाम्रो दाँतलाई राम्रो छ । दाँतमा अड्कीएका खानाका टुक्राहरु पनि सजिलै जान्छ । साथै तपाईले कसरी ब्रस गर्नुभयो त्यसमा पनि भर पर्छ । केही मानिसहरुले एकदमै घोटेर ब्रस गर्ने बानी छ त्यो राम्रो होइन ।

ब्रस गर्नका लागि फ्लोराइड भएको मञ्जन चाहिन्छ भनिन्छ । खासमा यसको काम के हो ?

फ्लोराइड भन्ने मिनेरल हुन्छ । फ्लोराइडले हाम्रो दाँतलाई मिनरलाइज्ड गरिराखेको हुन्छ । दाँतमा भएको मिनरल लस र गेन हन कन्टीन्यू साइकल ओन्गोइङ हुन्छ फ्लोराइडले इनामेललाई फेरी रिसाइकल गर्ने काम गर्छ । त्यसैले दँत रिमेइन दह्रो र स्वस्थ हुन्छ । त्यही भएर हामीले फ्लोराइड भएको मञ्जन प्रयोग गर्नुपर्छ ।

कस्तो अवस्थामा दाँतमा सिमेन्ट भरिन्छ ?
दाँतमा सिमेन्ट भर्नुलाई सिम्प्ली पिलिङ गर्ने भनिन्छ । यो भनेको किरा लागेर बिग्रेको दाँतलाई सफा गरेर फेरी पहिलाको जस्तै गराउन स्वस्थ र दह्रो बनाउने प्रक्रिया हो । यो सामान्य अवस्थामा पनि गरिन्छ ।

दाँत सिरिङ हुने समस्या के कारणले देखापर्छ ?
यसलाई सेन्सिटिभिटी भनिन्छ । मुख्य त दाँत खिएको हुन्छ । दाँत खिइनु भनेको इनामेल सकिँदै जानु हो । इनामेल दाँतको प्रोटेक्टिभ कवच जस्तै हो । इनामेल नहुँदा भित्रि भागको डेन्टिन बाहिरी वातावरणसँग सम्पर्कमा आउँछ । डेन्टिन तुलनात्मक सेन्सिटिभ टिस्सयु भएको हुनाले सिरिङ सिरिङ गर्छ । अर्को भनेको किरा लागेको अवस्थामा पनि तातो चिसो, खाँदा सिरिङ सिरिङ हुन सक्छ । त्यस्तै दाँत किट्ने बानी भएका बिरामीमा पनि यो समस्या देखिन सक्छ । यसको उपचारका लागि सबैभन्दा पहिला के कारणले सेन्सिटिभ भएको हो भनेर पत्ता लगाउन जरुरी हुन्छ । यसमा विभिन्न खाले ओरल पेस्टहरु चिकित्सकहरुको सल्लाहमा प्रयोग गर्न सकिन्छ ।

अधिकांश मानिसहरुमा गिजाबाट रगत आउने समस्या देखापर्छ । के कारणले यस्ता समस्या देखिन्छन् ?
विभिन्न कारणहरले गिजामा समस्या आउँछ । यसलाई मुख्यतया दुई भागमा राखेर हेर्न सकिन्छः
१. दाँत तथा गिजामा हुने फोहोर
दाँतको फोहोर राम्ररी सफा नहुँदा वा नगर्दा ती फोहोर विस्तारै मिनेरलज हुँदै जान्छ । मिनेरलाइज जति ब्रस गरे पनि जाँदैन । ती फोहोरमा करोडौंका व्याक्टेरिया हुन्छन् । त्यसले बिस्तारै दाँतको सपोर्टमा रहने हड्डीलाई खियाउँदै लान्छ । यसो हुँदा दाँत समय अगावै हल्लिने, मुख गन्हाउने, गिजाबाट रगत आउने समस्या देखापर्छ ।

२. यी बाहेक तपाईको शरीरमा रगत सम्बन्धी रोगहरु भएमा, कलेजो सम्बन्धी समस्या भएमा तथा पोष्णको कमी भएमा गिजाबाट रगत आउने सम्भावना बढी हुन्छ ।

मुख गन्हाउने समस्या के कारणले हुन्छ ?
मुख गन्हाउने समस्याहरु धेरै कारणले देखा पर्छ । एउटा दाँतमा किरा लागेर पनि मुख गन्हाउँछ । किरा लागेपछि कसरी मुख गन्हाउँछ भन्ने प्रश्न आउन सक्छ । हामीले खाएको खाना दाँतमा अड्किन्छ । त्यो खानेकुरा क्याविटीमा गएर अड्किन्छ । अड्किएको खानेकुरा सड्दै जान्छ त्यही भएर मुख गन्हाउन थाल्छ । अर्को कुरा गिजाको रोगले गर्दा पनि मुख गन्हाउने समस्या देखापर्छ यी बाहेक सिस्टेमिक डिजिज उदाहरणको लागी ग्याट्रिकको समस्या छ भने पनि मुख गन्हाउँछ । लिभर सरहोसिस हुँदा , पेप्टीक अल्सर, सुगर रोगीहरुमा पनि मुख गन्हाउने समस्या हुन्छ । यसको उपचारका लागि मुखको समस्या के छ त्यो समाधान गर्ने अथवा क्याविटीजहरु भर्ने हो भने त्यो गर्नुपर्छ । धेरै पानी खानुपर्छ छ ।

डेन्टिङ भनेको के हो ? अलिकति प्रष्ट पारिदिनुस न !

डेन्टिङ भनेको दाँतको एउटा लेयर (तह)हो । जस्तैः हाम्रो शरिरमा छाला हुन्छ, त्यसपछि बोसो, मासु अनि हड्डी हुन्छ । त्यस्तै दाँतमा पनि विभिन्न लेयरहरु हुन्छन् । हाम्रो दाँतमा पहिले इनामेलको लेयर हुन्छ । त्यसपछि डेन्टिङ हुन्छ । डेन्टिङपछि पल्प चेम्बर हुन्छ । यो पल्प चेम्बरमा चाँही हाम्रो रगतको नली, नशाहरु हुन्छ । हाम्रो दाँतमा सबैभन्दा बढी भाग डेन्टिङको नै हुन्छ । यदी डेन्टिङ एक्सप्लोजर भयो भने दाँत सिरिङ–सिरिङ हुन्छ । दाँत खिएर डेन्टिङकाे तह देखिन थालेपछि सिरिङ–सिरिङ हुन थाल्छ ।

बाँङ्गाटिङ्गा दाँत मिलाउनको तार बाँधिन्छ । त्यसका फाइदा के–के छन् ?
धेरै फाइदा छन् । बाँङ्गाटिङ्गा दाँत मिलाउँदा हामीले खाना अड्किने समस्याबाट मुक्ती पाउँछौं । बाँङ्गाटिङ्गा दाँतमा तार बाँधेपछि हल्लिन्छ भन्ने छ त्यो गलत हो । खासमा दाँत हल्लिने भन्दा पनि बाँङ्गाटिङ्गा दाँतहरु ब्यालेन्समा आउँछन् । दाँत राम्ररी मिलेको छ भने ब्रस गर्न सजिलो हुन्छ । बाँङ्गाटिङ्गा दाँतमा जतो खानेकुरा अड्किने समस्या हुँदैन् । एक त राम्रो पनि देखिन्छ । दाँत राम्रो देखियो भने तपाईमा कन्फिडेन्स पनि आउँछ ।

बच्चाहरुको दाँत सरसफाइमा कत्तिको ध्यान दिन आवश्यक छ ?
राम्रो प्रश्न गर्नु भयो । आमाले बच्चालाई दुध चुसाएपछि गिजा सफा नगरी बच्चालाई सुताउने गर्नुहुन्छ । त्यसो गर्नु राम्रो होइन । राती बच्चालाई दुध खुवाएर मुख सफा नगरी सुताउनु हुँदैन । गिजामा र दाँतमा दुधको कस बसेको हुन्छ । त्यहीबाट बच्चामा क्याभिटिज हने समस्या देखिन्छ ।कतिपयले बच्चाहरुलाई हनी हालेर बोतलमा चुसाउनु दिनुहुन्छ अनि त्यो रातभरी बच्चाले चुसेर निदाउँछ । बच्चालाई दुध चुसाएपछि सफा कपडाले  औंलामा बेरेर गिजा पुछिदिने गर्नुपर्छ । यसमा बच्चाको आमा र बाबाले धेरै केयर गर्नुपर्छ । दाँत नउम्रेको नानीहरुको गिजा पुच्छ्ने गर्दा धेरै राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement