रामारोशन विकासको मापक के ?


– बलराम रोकाया

विकास एक बहुआयामिक अवधारणा हो । विकासलाई शाब्दिक अवधारणामा मात्र परिभाषित गर्दा अपुर्ण हुन्छ । विकासको सन्दर्भमा आजसम्म भएका खोज, अनुसन्धान, व्याख्या र विश्लेषणमा अनेकन अन्वेषक, समाजशास्त्री, राजनीतिशास्त्री तथा अर्थशास्त्रीहरुमा पनि एकरुपता पाईदैन । समाजशास्त्रीहरुको परिभाषामा समाज वा मानिसहरुको रहनसहन, सोचाई, मान्यता र जीवनका हरेक पक्षमा देखिने सकारात्मक परिवर्तन नै विकास हो ।

राजनीतिशास्त्रीका अनुसार जनता सार्वभौमसत्तासम्पन्न हुनु, देशमा सक्षम, योग्य, क्षमतावान एवं गतिशील नेतृत्व हुनु, नागरिक स्वतन्त्रता, मानव अधिकारसहित जनतामा भौतिक उपलब्धताको सहजता हुनु विकास हो । त्यसैगरी अर्थशास्त्रीय दृष्टिकोणमा प्रतिव्यक्ति आम्दानी तथा कुल गार्हस्थ उत्पादनमा हुने वृद्धि नै विकास हो । यसरी विकासलाई परिभाषित गर्ने क्रममा थुप्रै विद्धानहरुले पनि आ–आफ्नो मत जाहेर गरेका छन् जसमा, विद्धान एडवार्ड वायडनरले विकासलाई आधुनिकतातर्फ उन्मुख र विशेषतः देश निर्माण तथा सामाजिक एवं आर्थिक प्रगतितर्फ उन्मुख वृद्धिको प्रकृया भनेका छन् भने, डब्लु वेइडनरले प्रगतिको दिशामा हुने परिवर्तन र त्यसले ल्याउने सकारात्मक परिवर्तनको स्वरुपलाई विकास मानेका छन् ।

त्यस्तै आरके सप्रु विकासलाई सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक र साँस्कृतिक आयामहरुमा बाँडेर हेर्छन् । यसमा विद्धान गुलेटको अलि फराकिलो मत छ, उनका अनुसार जीवन निर्वाह, आत्मसम्मान र छनोटको स्वतन्त्रतालाई मानिस र समाजको विकासका तीन आधारभूत तत्वका रुपमा लिएको देखिन्छ । र संयुक्त राष्ट्रसंघले विस्तृतिकरण गरी जनताको जनआकांक्षा पुरा गर्न राष्ट्रको उन्नतीको काममा क्रियाशील बन्नु–बनाउनु नै विकास हो भनी परिभाषित गर्न खोजेको छ भने, नेपाली वृहत् शब्दकोशले पनि उन्नती, उत्तरोत्तर प्रगति, हुर्केको वा सप्रेको, क्रमिक परिवर्तनको अवस्था वृद्धि, विस्तार र फैलावट शब्दका आधारमा विकासलाई अथ्र्याएको छ । हरेक दृष्टिकोणबाट हेर्दा विकास भनेको गतिशील तथा निरन्तर रुपमा आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक, प्रशासनिक र वातावरणीय सँगै मानवीय क्षेत्रमा भएको सकारात्मक परिवर्तन हो ।

विकासलाई एक पक्षसँग मात्र गाँसेर परिभाषित गर्न खोज्नु चाहिँ उचित हुँदैन । किनभने सामाजिक विकास, राजनीतिक विकास, आर्थिक विकास र भौतिक विकास विकासको एउटै स्वरुप हो । समग्रमा विकासले यीँ तीनै कुरालाई समेट्दछ । तर विकास जटील छ र गतिशील पनि छ । त्यसैले त विश्व विकसित र अविकसितको नाममा विभक्त छ । मानिसको विभिन्न अवधारणा र त्यसको दीर्घकालीन असर वा सफलता नै विकासको परिसूचक हो । विकासको अर्थ वा मान्यता अकाट्य वा अपरिवर्तनशील पनि हुँदैन । हिजोको मान्यता वा सोचाई आज नमिल्न पनि सक्छ र यो भोली परिवर्तन नभई पनि छोड्दैन ।

विकास एउटा निरन्तर चलिरहने प्रक्रिया बन्दछ । जुन मानिसको लक्ष्य सँग पनि निर्धारित हुने गर्दछ र यसले आधुनिकतालाई पनि संकेत दिएको हुनु पर्दछ । साथै विकासका लागि भविष्यउन्मुख सोच, दिर्घकालीन कार्यक्रम-योजना, राजनीतिक स्थिरता, दूरगामी दृष्टिकोण, पुंजी व्यवस्थापन, दक्ष जनशक्ति, नवीनतम प्रविधि, चुस्त व्यवस्थापन, विकासमुखी राजनीतिक संस्कार, कटिबद्धता एवं प्रशासनिक अठोटको पुर्ण संयोजन आवश्यक हुन्छ ।

कुनै पनि मुलुकले विकासका आफ्ना सैद्धान्तिक मान्यतामा उभिएर आफ्नो मौलिक मोडल निर्माण गर्न सक्छ । तर त्यसले उत्पादन वृद्धि, आर्थिक, भौतिक, सामाजिक सँगै मानवीय विकास गरेको हुनुपर्छ र त्यो विकासको लाभको वितरण पनि समाजको तल्लो तहसम्म पुग्ने गरी समन्यायिक हुनुपर्छ । यसमा नेपाली समाज त विविधतायुक्त मात्र छैन, विभेद र असमानताहरुले पनि गाँजिएको छ । राजीतिक पहुँच र आर्थिक अवसरहरुको वितरण असमानतामा आधारित छ ।

प्रजातन्त्र प्राप्तिपछिका ७० बर्षसम्म पनि हामीले वर्गीय, लैङ्गिक, जातीय, धार्मिक, क्षेत्रिय र भौगोलिक विभेद र असमानताका पर्खाललाई ढाल्न सकेका छैनौं । जहाँनिया राणाशासनको अन्त्य पछि प्रजातन्त्र आयो, निर्दलीय पञ्चातको समाप्ति पश्चात् बहुदल आयो र निरंकुश राजतन्त्रको अवसान सँगै गणतन्त्र आयो तै पनि जनताले अपेक्षा गरेअनुरुप विकासको फल प्राप्त गर्न सकेका छैनन् । प्रजानतन्त्रको समुन्नत रुप गणतन्त्र सँगै रुपमै भए पनि, न्याय, समानता, स्वतन्त्रता, समावेशिता, धर्मनिरपेक्षता लगायत शक्ति विकेन्द्रीकरण जस्ता अवधारणाहरु पनि स्थापित भए । विश्वकै उत्कृष्ट भनी झ्याली पिटेर ल्याइएको एकथान संविधान पनि हामीसँग छ ।

आधुनिक नेपालको राजनैतिक इतिहासमै शक्तिशाली भनिएको दुई तिहाईको संघ, प्रदेश र स्थानिय तहमा सरकारको बोलवाला छ । केन्द्रिकृत एकात्मक राज्य व्यवस्थाको सौतेनी व्यवहारले आजित स्वशासनको हकसहित गठन भएको स्थानिय सरकारको आयु पनि दुई बर्ष घटिसकेको छ । अहँ ! विकासको लाभ लक्षित वर्गले पाउँदै पाएनन् । एकाध बाहेक सात सय त्रिपन्न वटै स्थानिय निकायको अवस्था सुधारोन्मुख नहुनु प्राप्त उपलब्धिको निम्ति आफ्नो जीवन कुर्वानी गर्ने महान सपुतहरुको अपमान गर्नु सरह हो ।

तीनै सातसय त्रिपन्न मध्येको एक शौभाग्यशाली स्थानिय तह हो रामारोशन गाउँपालिका । स्थानिय सरकार गठन भएयता दिर्घकालीन प्रभावको महत्व बोकेको विकास योजना त परै जाओस्, जनताका दैनन्दिन आधारभूत समस्यामा समेत सचेत नबनेको देख्दा बिहानीले दिउँसोको संकेत गर्छ भन्ने नेपाली उखान चरितार्थ हुन खोजेको भान हुँदैछ रामारोशनको जनमानसमा । यो दुखद पक्ष हो । वर्तमान उपलब्धि र उपलब्धिले दिएको जननिर्वाचित प्रतिनिधिको उपाधि मुठ्ठीभर नोकरशाही प्रवृतिका एकाध ठालुश्रीको एकल बलबुताले प्राप्त भएको होईन भन्ने कुरा हेक्का हुनु पर्ने हो ।

तर किन गैरजिम्मेवार छ स्थानिय सरकार तीनिहरु प्रति जसले ज्यानको बाजी थापेर परिवर्तनको खातिर सर्वस्व दिए तीनै होनाहार नौजवानहरु आज विदेशका गल्लीहरुमा गास सँग सुन्दर सपना साट्न विवश छन् ? खोजी गर्दैन तीँ पलायन प्रतिभाहरुको, भन्छ समृद्ध रामारोशन । किन निकम्मा, नैतिकहिन बन्दैछ तथाकथित स्थानिय सरकार ? तिनिहरु प्रति जसको रगतको योगदानले उसलाई स्वशासनको हक दियो । केवल रामारोशनका ठालुश्री र तिनका भजनमण्डीहरुको जीवनशैली परिवर्तन गर्नकै लागि मात्र रामारोशनले त्याग, तपश्या र बलिदान गरेका त पक्कै थिएनन् होला ? समग्रमा रामारोशनका आम मानिसको जीवनशैलीमा बदलाव नआई कसरी विकास र समृद्धिका खोक्रा भाषण छाट्छौ सरकार ?

हिजोका दिनमा गरिखाने र बसीखानेहरुका निम्ति छुट्टाछुट्टै शिक्षा पद्धति थियो, आज के त्यो विभेद मेटियो ? आम नागरिकसम्म सर्वशुलभ एवं गुणस्तरिय शिक्षाको पहुँच पुगेर निजि बोर्डिङ स्कुलहरु गाउँबाट बिस्थापित हुँदैछन् या टोलटोलमा झाँगिदैछन् ? हिजो तीन महिना खान नपुग्ने किसानले आज छ महिना सम्म पुग्ने उत्पादन गर्न थाल्यो कि बाह्रैमास बजार (विदेशी) को खाद्यान्नमा निर्भर छ ? तीनताक हिउँद या बर्षा याममा एकपटक भारत चहार्ने हाम्रो युवाहरु गाउँमै स्वरोजगार या आय आर्जनमा व्यस्त छन् कि माध्यामिक शिक्षा पुरा नगरी भारतमात्र होइन बर्षेनी खाडीको गन्तव्य रोज्दैछन् ? रामे–रोशनको गोठालाले उत्पादन गरेको घ्यूको मूल्य गोठालो स्वयम्ले तोक्न पाउँछ कि बजारले ? रामारोशन को अथाह प्राकृतिक स्रोत साधनको स्वामित्व त्यहाँका जनताको हातमा छ कि दलालको ?

भूस्वर्गको उपमा पाएको रामारोशन पर्यटन क्षेत्रमा भौतिक संरचना निर्माण गर्दा पर्यावरणीय प्रभावलाई आत्मसाथ गरिएको छ कि कमिशनको लोभमा मनपरी तन्त्र छाएको छ ? छाउपडी कुप्रथाको अन्त्य हरेकको मस्तिष्कबाट भयो कि अमुक व्यक्ति÷संस्थाहरुलाई दुहुनु जर्सी गाई भएको छ। एक दलित समुदायको बच्चा निर्धक्क बाहुन, क्षेत्री भनाउँदाको भान्छामा सहभोज गर्न सक्छ कि सक्दैन ? बालश्रम÷बालविवाह न्युनिकरण भयो कि भएन, दिउँसो सभामा महिला अधिकार र समानताका चिल्ला भाषण छाँट्ने नालायक टोले ठालुहरुको साँझ घरमा आएर श्रीमतीलाई पीट्नमा गर्वभोध गर्ने प्रवृति फेरियो कि उस्तै छ । नारी विभेदको नारा भजाएर ठालु बनेका पात्रहरुले गाउँ र शहरमा श्रीमती राख्ने हिम्मत गर्दैछन् या छोडे, मौलिक चाडवाडहरु दशैँ, तिहार, होरी, रत्यौली र मारुनीमा स्थानियपन झल्किने लोक, लय, संस्कार र संस्कृतिले स्थान पाएको छ कि छैन ? विकास र समृद्धिको मापन त यीँ र यस्तै तथ्यले गर्ने होईन र सरकार ?
यदि सत्तालाई मन पर्नेकुरा सबै विकासकै मापन हुन भन्ठान्छौ भने रामराम सिबाय केही भन्न सकिन्न ।

फराकिलो छाति बनाएर अघि बढ्छौ भने तिमिलाई दुर्लभ अवसर छ सरकार ! ईतिहासले दिएको गहन जिम्मेवारीको महशुस गर्ने क्षमता शासकसँग भएन भने, तीँ शासकहरु रद्धीको टोकरीमा सजीन पुगेका कैयन ईतिहासहरु ताजै छन् । स्मरण गरे हुन्छ । सत्ताका मालिक भन्दा जनता हजार गुणा सचेत भैसके । लोकलाई थाहा छ जनता ईतिहासका निर्माता हुन् । शहन र प्रतिरोध गर्ने दुईटै शक्ति जनतासँगै हुन्छ । बडो हर्ष, उल्लास, आशा र अभिलासाको साथ रामारोशन बासीले सुम्पेको गहन जिम्मेवारी शिखर चढ्ने पहिलो गन्तव्यको रुपमा लिने कि सात पुस्ता रुपान्तरण गर्ने स्वार्णिम अवसर को रुपमा ? फैसलमा तिम्रै हातमा छ । प्रश्न, विरोध र आलोचना तबसम्म त्याज्य हुँदैन जबसम्म आम नागरिकले आत्मसम्मानका साथ बाँच्ने वातावरणको राज्यले ग्यारेन्टी गर्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement