रसुवागढी-केरुङ नाका पूर्ण क्षमतामा संचालनमा ल्याउने नेपाल चीनबीच सहमति


काठमाण्डु – नेपाल र चीनबीच रसुवागढीको नाका संचालमा ल्याउने सहमति भएको छ । कोरोना भाइरसको महामारीपछी चीनले एकतर्फी रुपमा नाका बन्द गरेको भन्दै नेपालमा आलोचना भइरहेको थियो । नाकालाई दुईतर्फी संचालनमा ल्याउने सहमति भएपछी अव नेपालले समेत सामान आयात गर्न पाउने भएको छ । तर, त्यसका लागि स्वास्थ्य प्रोटोकलमा भने कडाई गरिनेछ ।

सीमासम्बन्धी सहसचिवस्तरीय परामर्श बैठकमा रसुवागढी नाका संचालनमा ल्याउनुको साथै हुम्लाको हिल्सा नाका समेत पुनः संचालमा ल्याउने सहमति भएको हो । कोरोनापछी हिल्साको पुराङ नाका बन्द थियो । स्थानियले नाका बन्द भएपछी सामान आयात र निर्यात गर्न कठिनाई भएको गुनासो गर्दै आएका थिए ।

नेपाली पक्षले चीनलाई सीमा नाका र हवाई सेवा संचालका लागि आग्रह गरेपनि त्यसको चीनले सुनुवाई गरेको थिएन । तर, पछिल्लो समय नाका खुकुलो बनाउने र हप्ताको दुई दिन हवाई सेवा संचालन गर्न भने चीन सहमत भएको थियो । आजको बैठकमा नेपाल र चीनले व्यापार सञ्चालनका लागि दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति समेत भएको छ ।

बैठकमा सीमा हेर्ने संयन्त्र ब्युताउने सहमति भएको छ । अव संयुक्त अनुगमन समिति (जेआइसी), संयुक्त विज्ञ समूह (जेइजी) र संयुक्त निरीक्षण टोली (जेआइटी) क्रियाशील हुने भएको हो । दुवै देशका अधिकारीहरुबीच संयुक्त टोलीले सीमाको निरीक्षण गर्ने सहमति भएको छ ।  बैठकमा द्धिपक्षिय हितका विभिन्न क्षेत्रहरुको बारेमा समेत चर्चँ भएको परराष्ट्रमन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

यसअघि भएको चिनियां विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको बेला आपसी सहमतिमा संयुक्त सीमा अनुगमन गर्ने सहमति भएको थियो । आजको बैठकमा त्यसैअनुसार सीमा अनुगमन गर्ने सहमति भएको हो ।

नेपाली कांग्रेसका नेता जिवनबहादुर शाहीले हुम्लामा चीनले सीमा मिचेको आरोप लगाएका थिए । तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भने सीमा विवाद नभएको भन्दै विज्ञप्ति नै जारी गरेको थियो । कांग्रेस नेतृत्वको सरकार बनेसंगै गृहमन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा स्थलगत अध्ययनका लागि समिति नै बनाइएको थियो ।

उक्त समितिले तयार पारेको प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक भने गरेको छैन । तर,सीमामा भने समस्या देखिएको निष्कर्श उक्त समितिले निकाल्दै सीमा सुपरिवेक्षण गर्नुपर्ने सुझाव दिएको थियो ।

आजको भर्चूअल बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखाका प्रमुख सहसचिव लोकबहादुर थापा र चिनियां टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको सीमा तथा समुन्द्री मामिला विभाग महानिर्देशक होङ लियाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement