राष्ट्रसंघको रिपोर्ट कार्ड : नेपाली टोली शान्ति मिसनमा उत्कृष्ट !


काठमाडौं । नेपालीहरू गोर्खाली बहादुरका नामले संसारभर परिचित छन्, त्यसैले भारत, बेलायतदेखि विभिन्न ठाउँमा नेपालीहरू सैनिकका रुपमा कार्यरत छन् । संयुक्त राष्ट्रसंघ (यूएन) शान्ति मिसनमा समेत नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । मिसनमा खटिएको नेपाली टोली उत्कृष्ट रहेको रिपोर्टबारे यूएनको टोलीले नेपाली पत्रकारलाई जानकारी गराएको छ ।

दक्षिण सुडानमा खटिएका फर्म्ड पुलिस युनिट (एफपीयू) मध्ये राजधानी जुबामा कार्यरत नेपाल एफपीयू उत्कृष्ट भएको राष्ट्रसंघको मुख्यालय न्यूयोर्कबाट खटिएको टोलीले गरेको मूल्यांकनमा देखिएको छ ।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिस) की प्रहरी कमिसनार उनाइसी बोलातुलु भुनिवाकाले अवलोकन भ्रमणका लागि सुडान पुगेका नेपाली पत्रकारलाई शान्ति मिसनको प्रस्तुतीबारे जानकारी गराएकी छन् । भ्रमणमा रहेका नेपाली पत्रकार नवराज मैनालीले तीन–तीन महिनामा हुने राष्ट्रसंघको एफपीयू मूल्यांकनमा स्थानीय वासिन्दाको समेत प्रतिक्रिया लिने गरिएको बताए ।

शान्ति मिसनका क्रममा नेपाली टोलीले जोखिम मोलेर पनि कर्तव्य निर्वाह गर्ने र अरु ठाउँमा प्रहरी भाग्ने गरेको भन्दै यसअघि समेत नेपाली टोलीको प्रशंसा हुने गरेको थियो । दक्षिण सुडानमा हाल विभिन्न देशका गरी ६ एफपीयू कार्यरत रहेको जनाइएको छ । जसमध्ये रुवान्डाका तीन, नेपालका दुई र घानाको एउटा युनिट छ ।

राजधानीमा रहेको एफपीयूको काम आन्तरिक शरणार्थी शिविरमा सुरक्षा दिनु रहेको छ । नेपालले सुरक्षा जिम्मेवारी पाएको एउटा शिविरमा करीब ३३ हजार नागरिक बस्छन् । शिविरको गेटमा १० र शिविरभित्र १० सशस्त्र प्रहरी चौबिसै घण्टा ड्युटीमा हुने गरेको एफपीयू कमान्डर एसएसपी भरतकुमार श्रेष्ठलाई उदृत गर्दै पत्रकार मैनालीले बताए । नेपाली टोलीले शिविरभित्र हुने झै–झगडा, आपराधिक गतिविधि नियन्त्रण लगायत सुरक्षा बन्दोबस्त मिलाउनुपर्छ ।

दक्षिण सुडानमा सन् २०१४ देखि सशस्त्र प्रहरीको एफपीयू मिसन खटिँदै आएको छ । नेपाल एफपीयूले आन्तरिक शरणार्थीको शिविरमा बेलाबेलामा स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा सांस्कृतिक कार्यक्रममा समेत भाग लिने गरेको जनाइएको छ । शिविरभित्र अवैध हतियार र झै–झगडाको अवस्था विकराल रहेकाले सुरक्षा बन्दोबस्त चुनौतीपूर्ण रहेको नेपाली टोलीका सुरक्षाकर्मी बताउँछन् ।

राष्ट्रसंघले नेपाली टोलीको काम उत्कृष्ट र प्रशंसनीय बताएपनि महिला सहभागिताको अवस्थालाई लिएर असन्तुष्टि जनाएको छ । शान्ति मिसनमा ५०% महिला सुरक्षाकर्मी हुनुपर्ने राष्ट्रसंघको माग छ । शान्ति मिसनमा कम्तीमा २०% महिला सहभागिता नभए मिसन नै रोक्ने चेतावनी दिएको पत्रकार मैनालीले बताए । राष्ट्रसंघको चेतावनीपछि नेपाली सुरक्षा संगठनले महिला सहभागिता २०% पु¥याउने तयारी गरिरहेका छन् । नेपालबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले शान्ति मिसनमा सहभागिता जनाउने गरेका छन् ।

शान्ति मिसनमा खटिने सुरक्षाकर्मीले महिला र बालबालिकाका लागि काम गर्नुपर्ने भएकाले महिला सहभागिता बढाउन दबाब दिइएको अनमिसले स्पष्ट पारेको छ । शरणार्थी शिविरहरूमा महिला र बालबालिकाको अवस्था संवेदनशील रुपमा लिने गरिएको छ । जातीय द्वन्द्वमा फसेको विश्वकै कान्छो मुलुक दक्षिण सुडानमा हाल करीब १ हजार ९ सय नेपाली सुरक्षाकर्मी मिसनमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement