धर्म प्रचारमा संलग्न दुई जापानी निकालिए

धर्म प्रचारमा संलग्न दुई जापानी निकालिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले दुई जापानी नागरिकलाई निकालेको छ। गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ। उनीहरू विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए।

कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरूले भिसा लिएका थिए। विद्यार्थी भिसा लिएर धर्मप्रचार गरेकाले निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए। अध्यागमन विभागको प्रस्तावमा गृहसचिव प्रेम कुमार राईले ‘सचिव स्तरीय’निर्णयबाट चैत २७ मा उनीहरूलाई निष्कासन गर्ने निर्णय भएको थियो। कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पार्ने काम, व्यवहार गर्न वा गराउन नहुने संविधानमा उल्लेख छ।

यसअघि गृह मन्त्रालयले एक फिलिपिनी दम्पती, दुई जापानी युवती र एक अस्ट्रेलियन युवतीलाई धर्म प्रचारमा संलग्न भएको आरोपमा निष्कासन गरेको थियो। व्यावसायिक भिसा लिएर पुल्चोकमा रेस्टुराँ चलाउँदै आएका फिलिपिनी दम्पती पनि इसाई धर्म प्रचारमा संलग्न थिए। अर्की अस्ट्रेलियन युवती मित्रपार्कस्थित पशुपति क्याम्पसमा भर्ना भएकी थिइन्। तर उनी धर्म प्रचार गर्ने क्रममा बर्दियाबाट पक्राउ परिन्।

अन्य दुई जापानी युवतीसमेत बुटवलबाट धर्म प्रचारकै क्रममा समातिएका थिए। गृहले अहिलेसम्म धर्म प्रचारमा संलग्न ७ विदेशी नागरिकलाई निष्कासन गरिसकेको छ। पोखराको शिवशक्ति क्याम्पसमा भर्ना भए पनि मासाहिरो र युकारी रूपन्देहीको सैनामैना नगरपालिकास्थित सालझण्डीमा डेरामा बस्दै आएका थिए। बाइबललगायत सामग्री लिएर धर्म प्रचार गरेको पाइएपछि प्रहरीले उनीहरूलाई चैत २२ गते पक्राउ गरी अध्यागमन विभागमा ल्याइएको थियो। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।