दुई महिनामा भित्रियो १ खर्ब ६५ अर्ब रेमिट्यान्स


काठमाण्डु –  कोरोना महामारीमा नेपाल भित्रिने रेमिट्यान्स घट्न सक्ने अनुमानविपरीत बढेको छ । रोजगारीका लागि विदेशिएका नेपालीले चालु आर्थिक वर्षका दुई महिनामा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ घर पठाएका छन् । गत आर्थिक वर्षका दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा भित्रिएको रेमिट्यान्स ८.१ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षका दुई महिनामा रेमिट्यान्स वृद्धिदर ०.६ प्रतिशतले ऋणात्मक हुँदा पनि १ खर्ब ५३ अर्ब ३५ करोड रुपैयाँ मुलुक भित्रिएको थियो । ‘उक्त अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स २.६ प्रतिशतले बढेर १ अर्ब ३९ करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो ।’

गत आर्थिक वर्षका पहिला दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर बढेको देखिए पनि मासिक रूपमा भने घटेको छ । गत साउनमा मात्र २३ प्रतिशतको वृद्धिदरसहित ९३ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको थियो । भदौमा यो घटेर ७३ अर्ब रुपैयाँमा सीमित भयो । साउनको तुलनामा भदौमा रेमिट्यान्स केही घटे पनि कोभिड–१९ को असर भने परेको देखिँदैन । नेपालमा लकडाउन सुरु भएको महिना गत चैतमा ३४ अर्ब रुपैयाँ रेमिट्यान्स आयो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरियो । किनकि गत फागुनमा करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो । वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ भित्रिएको छ ।

तेल उत्पादन गर्ने राष्ट्र र खाडी मुलुकको अर्थतन्त्रमा अपेक्षित रूपले गिरावट नआएको, तुलनात्मक रूपमा ती राष्ट्रका उत्पादनमूलक क्षेत्रमा कोभिड–१९ को असर कम देखिएकाले रेमिट्यान्स न्यून प्रभावित भएको राष्ट्र बैंकले जनाएको छ । भारतबाहेक अन्य मुलुकमा रोजगारीका लागि गएका धेरै जना नफर्किएकाले रेमिट्यान्स धेरै नघटेको राष्ट्र बैंकका अधिकारीहरूको तर्क छ । अमेरिकालगायत ठूला अर्थतन्त्र भएका मुलुकमा कोभिड–१९ को जोखिम उच्च भए पनि उनीहरूले लामो समय लकडाउन गरेनन् । त्यसैले पनि विश्व अर्थतन्त्र अपेक्षित रूपमा खस्किन पाएन । त्यसको सकारात्मक प्रभाव नेपाल भित्रिने रेमिट्यान्सको दरमा परेको हो ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement