फेरि छाउगोठमै फर्किए महिला


काठमाडौं – सुर्खेत चौकुने गाउँपालिका ६ भाबरकी अनिता शर्मा स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छिन्। तीन वर्षअघि विवाह गरेर भाबर आएकी शर्मालाई महिनावारी हुंदा छाउगोठ बस्नुहुन्न भन्ने राम्रोसंग जानकारी छ।

तर ‘देउता रिसाउने’ डरले उनी महिनावारी भएको बेला पांच दिनसम्म छाउगोठमा सुत्न बाध्य भएकी छन्। भाबरका ५३ घरधुरीमा महिनावारी हुने महिलाको संख्या ९० को हाराहारीमा छ। यी महिलाका लागि अहिले गाउंमा पांचवटा छाउगोठ छन्। केही छाउगोठ बन्नेक्रममा छन्।

२०७१ सालमा गुठुका एक सय ९३ सामुहिक र केही व्यक्तिगत छाउगोठ भत्काइएका थिए। सोही वर्ष चैत्र १० गते तत्कालिन गाविसस्तरिय छाउपडी उन्मुलन समितिको सहकार्यमा वातावरण सुधार समाजले गुठुलाई छाउपडी मुक्त घोषणा गरेको थियो। महिनावारी भएका महिला घरमै बस्न थाले। यो क्रम केही समय चल्यो। तर, यसले निरन्तरता पाउन सकेन। गुठु फेरि पुरानै अबस्थामा फर्किएको छ। महिनावारी भएका महिला अहिले घर छाडेर फेरि छाउगोठमै बस्न थालेका छन्।

रजस्वला भएकी महिलालाई झन् सफा राख्नुपर्ने तथा प्रशस्त पोसिलो आहार खुवाइ आराम गर्न दिनुपर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरीबुहारीले समेत यस्तो अवस्थामा घरमा बस्न र घरमै पाइने पोसिलो खानेकुरा दूधदही खान पाउँदैनन्। महिनावारीका बेला छोएमा कुलदेवता रिसाउने र परिवारमा हानि पुग्ने, शरीर सुक्दै जाने, अन्नबाली नफल्ने अन्धविश्वास छ।

चौकुने गाउँपालिकाकी उपाध्यक्ष निर्मला रानाले छाउपडी प्रथा उन्मूलन गाउँपालिकाका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताइन्। सामुदायिक सुधार संस्था र जिल्ला प्रहरी कार्यालय सुर्खेतले भाबरमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले अन्धविश्वासका कारण निर्मूल भइसकेको छाउपडी प्रथा पुनः जगाइएको बताइन्। ‘छाउपडी प्रथा अन्त्यका लागि छाउगोठ भत्काएर मात्रै हुँदो रहेनछ’, उनले भनिन्, ‘सबैभन्दा पहिले सामाजिक चेतना वृद्धि गर्ने खालका कार्यक्रम चाहिँदो रहेछ।’यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement