संक्रमित स्वाथ्यकर्मीलाई काममा बाध्य बनाइएको छैन, जनशक्ति अपुग हुँदा कठिन भयोः डा.संकेत रिसाल (अन्तर्वार्ता)


कोरोना भाइसको संक्रमण उपचार केन्द्र भेरी अस्पतालमा उपचारका दिनहुँ संक्रमित थपिने क्रम जारी छ । अस्पताल आफैं अभावै अभावबाट गुज्रिरहेको छ । बिरामीको अनुपातमा चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा धेरै समस्या भोग्नुपरेको स्वाथ्यकर्मीहरु बताउँछन् । आफैं संक्रमित भएरपनि स्वास्थ्यकर्मीहरु विरामीको सेवामा निरन्तर लागेका छन् । अस्पतालको अवस्था र समस्याका बारेमा भेरी अस्पताल नेपालगन्जका फिजिसियन तथा प्रवक्ता डा. संकेत रिसालसँग काठमाण्डुपाटीले गरेको कुराकानीको सम्पादित अंंशः

अहिले भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार कसरी भइरहेको छ ? त्यहाँको अवस्था के छ ?

अहिले जुन कोरोनाको दोस्रो लहर आयो । हामीलाई विगतका अनुभवले पनि धेरै कुरा सिकाएको छ । त्यही अनुसार हामीले तयारी गरेका छौं । हामीसंग भएको १ सय ४२ बेडमा संक्रमितहरुको उपचार भइरहेको छ । त्यतिमात्र नभई जुन प्रि–आइसोलेसन भन्छौ( कोभिडको शंकास्पद विरामी जसको पिसिआर रिपोर्ट आउनु अघि राखिन्छ) त्यहाँ समेत संक्रमितलाई नै राखेर उपचार गरिरहेका छौँ । अहिले २ सय ७ जना विरामी उपचाररत हुनुहुन्छ । उपचाररत बिरामीमध्ये ८० प्रतिशत विरामीको अवस्था जटिल छ । उहाँहरुलाई अक्सिजनको साहारा दिइएको छ । हामीसँग भएको स्रोत र साधनले भ्याएसम्म गरिरहेका छौं । लक्षण नदेखिएका विरामीहरुलाई हामीले घरमै क्वारेन्टाइनमा बस्न सुझाएका छौँ ।

अक्सिजनको अभाव छ भन्ने सुनिन्छ नि ?

अहिले अक्सिजनको खपत बढेकै हो तर समाचारमा आएजस्तो पाउँदै नपाइएको होइन । यही नेपालगञ्जमा उत्पादन गर्ने कम्पनीले अहिलेसम्म हाम्रो आवश्यकता अनुसार पुर्याइरहनुभएको छ । विद्युत नआउँदा एक पटक अलि समस्या भएको थियो तर, त्यस्तो हाहाकार भने भएको होइन । संक्रमितको संख्या बढ्दै गए अब भोलीका दिनमा के होला । तर, अहिले अक्सिजनको अभाव भने छैन ।

अस्पताललाई अहिलेको आवश्यकता के हो त ?

अहिलेको आवश्यकता भनेको जनशक्तिको छ । सामान्य अवस्थामा हाम्रो जनशक्तिले एक पटकमा १५ जनालाई अक्सिजनसहितको सेवा दिन सक्थ्यौं तर अहिले यतिका धेरै विरामीहरुलाई सोही जनशक्तिले सेवा दिनुपरेको छ । अब आफैं भन्नु न कसरी काम भइरहेको होला ? गत बर्ष सरकारले कोरोना संक्रमितको उपचारका लागि दश जना एमविविएस डाक्टरहरु खटाएको थियो । तर, अहिले संक्रमितको संख्या बढेपनि जनशक्ति अपुग हुँदा निकै कठिनाई भएको छ । यस्तै पिपिई लगाएतका सामाग्रीहरुको पनि अभाव छ ।

जनशक्ति ब्यवस्थापनमा कसरी काम भइरहेको छ ?

जनशक्ति ब्यवस्थापनमा काम भइरहेको छ । प्रदेशबाट त कोरोनाका लागि भनेर पहिले नै जनशक्ति दिएको थियो । तर, त्यतिले पुग्ने अवस्था छैन् । स्वास्थ्य मन्त्रालयले पनि जनशक्ति पठाउने भनेको भएतापनि हालसम्म पठाएको छैन । अर्को कुरा अहिले जताततै लकडाउन भएकाले पनि जागिर खान आउनै समस्या छ । हाम्रो मेसुले यसबारे समन्वय गरिरहनुभएको छ ।

संक्रमित स्वाथ्यकर्मीहरु नै बिरामीको सेवामा खटिन बाध्य छन् भन्ने खवर छ नी ?

भेरी अस्पतालसंग जोडिएका सफाई कर्मचारी, प्लम्ब इलेक्ट्रिसीयनदेखी स्वाथ्यकर्मी गरी  ८० जना संक्रमीत हुनुभएको छ । तिमध्ये धेरैले कोरोना विरुद्धको खोप लगाएका कर्मचारीहरु हुनुहुन्छ । खोप छुटेका १,२ जनाको स्वाथ्यमा अलि समस्या देखिएकाले उहाँहरुको यही उपचार भइरहेको छ । अनि अर्को कुरा अस्पतालले कसैलाई पनि काममा आउन बाध्य बनाएको छैन । कोरोना विरुद्धको खोप लगाएको र उहाँहरु स्वइच्छाले सेवा गर्न चाहेकाले उहाँहरुलाई कोभिड वार्डमा खटाईएको हो । उहाँहरुलाई हामीले इर्मेजेन्सी र आईसियुमा लगाएका छैनौं । उहाँहरुको इच्छा अनुसार नै हो, कुनै बाध्यात्मक स्थिती होइन ।

अन्तमा केही भन्न चाहनुहुन्छ कि ?

हामीले मृत्युलाई नजिकबाट देखेका छौँ । सकेसम्म घरबाट ननिस्कनुहोला । कतिपयले कोरोनालाई सामान्य रुपमा लिएको पाएका छौँ । यो भाइरसको नियन्त्रण तपाई हाम्रै हातमा छ । त्यसैले स्वास्थ्यका मापदण्ड पालना गर्नुहोला आफू पनि जोगिने र अरुलाई पनि जोगाउनुहोला भन्न चाहन्छु । दिनहु भइरहेको मृत्यु रोक्ने भनेकै स्वाथ्यमापदण्ड पालना गरेर मात्र हो । अनि अर्को कुरा सरकारले पनि अस्पतालमा बिरामीको अवस्था हेरेर स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement