अमेरिकासंग सैन्य सहकार्य थप कसिलो बनाउने तयारीमा सरकार


काठमाडौं – नेपाल र अमेरिकाबीच सैन्य सहकार्य थप कसिलो बनाउन गृहकार्य सुरु भएको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को इन्डो–प्यासिफिक रणनीति प्रतिवेदनमा नेपाल जोडिएपछि सरकार यसतर्फ सक्रिय भएको हो।

दुवै छिमेकी भारत र चीनलाई विश्वासमा लिँदै शक्ति मुलुकसँग सहकार्य गर्न प्रधानसेनापतिमार्फत रक्षा कूटनीति अवलम्बन गरिएको रक्षा मन्त्रालयका उच्च अधिकारीले बताए। पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग लामो समयदेखि रोकिएको सहयोग फुकाए पनि प्रक्रिया अघि बढाउने काम वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका छन्। अमेरिकाले नेपाललाई दिने सैन्य सहायता र त्यहाँबाट खरिद गर्ने भनिएको एम–१६ हतियार नेपाल भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

चीन भ्रमणमा रहेका थापा केही समयपछि साताव्यापी भ्रमणका लागि अमेरिका जाँदै छन्। उनले अमेरिकी अधिकारीहरूसँग नेपालसँगको सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ। प्रधानसेनापति थापा राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुने क्रममा अमेरिकाको दुईपक्षीय भ्रमण गर्न लागेका हुन्। थापा न्युयोर्कमा शान्ति सेना पठाउने मुलुकका प्रधानसेनापतिको सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। त्यसपछि थापा डिसी जानेछन्। त्यहाँ उनले सैन्य सहकार्य र सहायताबारे अमेरिकी अधिकारीसँग छलफल गर्ने परराष्ट्र अधिकारीले बताए।

सैन्य प्रवक्ता सहायक रथि विज्ञानदेव पाण्डेले प्रधानसेनापतिको अमेरिका भ्रमण तय भइसकेको बताए। पाण्डेले भने, ‘प्रधानसेनापति राष्ट्रसंघीय कार्यक्रममा सहभागी भई दुईपक्षीय भ्रमणमा सरिक हुनुहुनेछ।’ अमेरिकाले सन् २०१९ मा ८६ मुलुकमा गर्ने सैन्य साझेदारीको तथ्य सार्वजनिक गरेको थियो। उक्त साझेदारीमा नेपालले आफ्नो स्थान पहिचान गर्नुपर्ने भएकाले थापाको भ्रमण महत्त्वपूर्ण मानिएको छ।

अमेरिकास्थित नेपाली दूतावास र जंगीअड्डाले परराष्ट्र मन्त्रालयको विधिअनुरूप सहकार्यबारे काम गरिरहेको अधिकारीहरुले बताए। नेपालको आठ पृतना छ र ती पृतनाले आफ्नो क्षेत्रअनुसारको रक्षा रणनीति तय गर्छन्। अमेरिकामा रहेका १० पृतनामध्ये इन्डो–प्यासिफिक एउटा हो। यसले एसिया प्यासिफिक क्षेको सुरक्षा रणनीति तय गर्छ। यसका लागि अमेरिकाले ३० करोड डलर बजेट छुट्ट्याएको छ। सो रकमको केही हिस्सा नेपालसम्म पनि आउने हुनाले नेपालले चासो दिएको रक्षा अधिकारीहरूको भनाइ छ। आजको अन्नपुर्ण पोष्टमा समाचार प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement