सेयर बजारमा १ वर्ष यताकै भिषण पहिरो, लगानीकर्ताले थमाए अर्थमन्त्रीलाई ‘दोष’


काठमाडौैं – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४१ दशमलव ५६ अंक घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से करिब एक घन्टापछि सम्हालिन खोजेको थियो ।

तर, बिक्रीको चाप बढेपछि बजार पुनः ओरालो लागेको हो । आइतबार नेप्से ओरालो लागेपछि वर्षकै न्यून बिन्दु १ हजार ३ सय ४ दशमलव ४३ मा पुगेको छ ।

नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अप्रत्यक्ष रूपमा अनुत्पादक क्षेत्र भन्ने अभिव्यक्ति दिएपछि सेयर बजार ओरालो लागेको सेयर लगानीकर्ता संघ नेपालको भनाइ छ ।

अर्थमन्त्रीबाट सेयर बजारसम्बन्धी नकारात्मक टिप्पणी आउनु, देशमा विद्यमान तरलताको समाधानमा कुनै प्रकारको चासो नदेखाउनु र सरकारको पुँजीबजारप्रति स्पष्ट धारणा नहुनु निन्दनीय रहेको आइतबार नै प्रेस विज्ञप्ति जारी गर्दै संघले बताएको छ ।

त्यस्तै चिलिमे हाइड्रोपावर, माथिल्लो तामाकोसी र हाल सञ्चालनमा रहेका विभिन्न आयोजनाहरू अरुण, वरुण, हिमाल, खानीखोला, सानिमा माईजस्ता कम्पनीमा गरिएको लगानी कसरी अनुत्पादक भन्ने प्रश्न पनि संघले गरेको छ ।

साथै अनलाइन कारोबार शीघ्र सञ्चालनमा ल्याउन, बजार निर्माताका रूपमा व्यावसायिक संघ–संस्थालाई पुँजीबजारमा भित्र्याउन पहल गर्ने, एनआरएनहरूलाई पुँजीबजारमा लगानी गर्ने वातावरण सिर्जना गर्नेलगायतका बजार विस्तारका कार्य हुनुपर्ने संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिने, सेयर धितोमा कर्जालाई पुनः ७० प्रतिशत कायम गर्ने, सेयर ऋणमा कायम गरिएको औसत भार १ सय ५० प्रतिशतबाट १ सय प्रतिशत कायम गर्नुपर्नेजस्ता मागहरू तत्काल सम्बोधन गर्न संघले अर्थमन्त्रीलाई अनुरोध गरेको छ ।

तर, नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले भने बजार घट्नुमा खासै केही कारण नरहेको बताएका छन् ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ । यस दिन सो कम्पनीको ३ करोड ३९ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

त्यसैगरी, नेपाल बैंक लिमिटेडको यस दिन २ करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यस दिन कारोबारमा आएका १ सय ५१ कम्पनीमध्ये २ कम्पनीको मात्र सेयर मूल्य बढेको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य यस दिन ३ दशमलव ९३ प्रतिशत र स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १ दशमलव ८६ प्रतिशत बढेको छ । यस दिन १ सय ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी सात कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य यस दिन १० प्रतिशत र विशालबजार कम्पनीको सेयर मूल्य ९ दशमलव ९७ प्रतिशत घटेको छ ।

आइतबार ट्रेडिङ समूहको परिसूचक सर्वाधिक ७ दशमलव ४७ प्रतिशत घटेको छ । त्यसैगरी, बिमा समूहको परिसूचक ४ दशमलव २९ प्रतिशत, जलविद्युत् समूहको ३ दशमलव ७५ प्रतिशत, माइक्रो फाइनान्स समूहको ३ दशमलव ७२ प्रतिशत, बैंकिङ समूहको २ दशमलव ९९ प्रतिशत, विकास बैंक समूहको २ दशमलव ६९ प्रतिशत र उत्पादनमूलक समूहको २ दशमलव २ प्रतिशत घटेको छ । कारोबारमा आएको अन्य समूहको परिसूचक १ दशमलव ८८ प्रतिशत, होटेल समूहको १ दशमलव ८ प्रतिशत घटेको छ भने वित्त समूहको १ दशमलव ६९ प्रतिशत घटेको छ ।

४७ अर्ब ५ करोड सम्पत्ति घट्यो

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स आइतबार ८ दशमलव ५८ अंक घटेर २ सय ७६ दशमलव ८० बिन्दुमा पुगेको छ । यस दिन लगानीकर्ताको सम्पत्ति घटेर १५ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ ।

यो अघिल्लो कारोबार दिनको तुलनामा ४७ अर्ब ५ करोड रुपैयाँ कम हो । नेप्से ३ दशमलव शून्य ९ प्रतिशत ओरालो लाग्दा कारोबार रकम भने खासै घटेको छैन । अघिल्लो कारोबार दिनको तुलनामा यस दिनको कारोबार रकम १० दशमलव ९४ प्रतिशत घटेको छ ।

यस दिन १ सय ५१ कम्पनीको ५ हजार ९ सय ४३ पटकको कारोबारमा ४८ करोड ३९ लाख ६७ हजार ५ सय ६ रुपैयाँबराबरको १३ लाख ११ हजार ९ सय ४८ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन २४ दशमलव ६७ स्केलमा पुगेको छ ।

खरिद–बिक्री चाप मापन गर्ने यस आरएसआई ओभरबट जोनमा पुग्नुले बजारमा खरिदचापभन्दा बिक्रीचाप बढी रहेको संकेत गर्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement