कांग्रेसमा वीपीपुत्र शशांकले बनाए नयाँ गुट


काठमाडौं – प्रदेशसभा र प्रतिनिधिसभामा व्यहोरेको नेपाली कांग्रेसमा लज्जाजनक पराजयपछि पुराना गुट भत्कने र नयाँ गुट र उपगुट जन्मिनेक्रम शुरू भएको छ । नयाँ तर शक्तिशाली गुट निर्माणको तयारीमा यतिवेला कांग्रेसका संस्थापक नेता एवम् समाजवादी चिन्तक वीपी कोइरालाका कनिष्ठ पुत्र डा. शशांक कोइराला सक्रिय छन् ।

नेपाली कांग्रेस स्थापना कालदेखि नैं वीपी कोइरालाले शक्तिशाली र पार्टीको संस्थापन पक्षको नेतृत्व गर्दै आएका छन् । स्थापनाकालदेखि डिल्लीरमण रेग्मी, मातृकाप्रसाद कोइराला, सुवर्ण शम्सेर र कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँगको टसल र फरक मत बीपीले बेहोरेका थिए । बीपीको निधनपछि पार्टीको संस्थापन पक्षको नेतृत्व गरिरहेका कृष्णप्रसाद भट्टराई २०५३ सालदेखि असन्तुष्ट गुटको नेतृत्व गर्न थाले २०५३ देखि २०६६ सालसम्म पार्टी संस्थापन पक्षमा रहेका गिरिजाप्रसाद कोइरालाले अन्तिमसम्म हालका सभापति शेरबहादुर देउवाको असन्तुष्ट गुटबाट बारम्बार चुनौति बेहोर्नु परेको थियो ।

देउवाले पार्टी फुटाएर अलग हुँदा समेत उनै देउवालाई साथ र समर्थन गरेका गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह अहिले त्यही पुराना कोइरालाहरूले नेतृत्व गरिरहेको गुटमा संलग्न छन् । कोइराला परिवारका सदस्यहरू संलग्न यो गुटमा नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहको समेत संलग्नता छ । तर यो गुट संस्थापन हुँदै असन्तुष्ट गुटको कित्तामा पुगिसकेको छ । २०६७ साल अर्थात करिव ७ बर्षसँग रहेको यो गुट दुई बर्ष प्रतिपक्ष र असन्तुष्ट गुटमा परिणत भएको दुई बर्षमै भत्किएको छ ।

आफूलाई सँधै संस्थापन पक्षमा उभ्याउने र असन्तुष्टी व्यक्त गरिरहने तनहुँका नेता रामचन्द्र पौडेल दुई बर्षयता असन्तुष्ट धार वा गुटको नेतृत्व गर्दै आएका थिए, तर कार्यवाहक सभापतिको हैसियतले २ बर्षअघि १३ औं महाधिवेशन गराउँदा आफै पराजित भएका पौडेलले असन्तुष्ट गुटको नेतृत्व दुई बर्षबढी धान्न सकेनन् ।

अन्तत उनको यो गुटबाट अलग भएर बीपी पुत्र तथा पार्टी महामन्त्री डा. शशांक कोइरालाले नयाँ शीराबाट गुट निर्माणको अभियान थालनी गरेका छन् । उनलाई पहिलो चरणमा कोइराला परिवारकै सदस्यहरूले साथ दिएका छन् भने सहयोग र समर्थन सभापति शेरबहादुर देउवाले गरेका छन् । असन्तुष्ट नेता रामचन्द्र पौडेललाई थप कमजोर बनाउन सभापति देउवाले पौडेल गुटलाई तोड्न सकेका हुन् ।

अघिल्लो साता पार्टी संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनको घटनादेखि कोइराला नयाँ गुट निर्माणमा लागेका हुन् । संसदीय दलको नेतामा पौडेल गुटबाट उम्मेदवारी दिएका लौहपुरूष गणेशमान सिंहका छोरा प्रकाशमान सिंहलाई महामन्त्री कोइरालासहित उनको गुटको भोट दिएन । करिव २४ भोटको आशामा बसेका सिंहलाई डा. शशांक कोइराला, सुजाता कोइराला, डा. मिनेन्द्रप्रसाद रिजाल र डा. नारायण खड्काले भोट नदिई सभपाति देउवालाई मत दिएका थिए ।

सिंहले ६३ जना सांसदमध्ये १९ ले मात्र मत दिएका थिए । पौडेल गुटको उम्मेदवारले सर्मनाक हार बेहोरेपछि पौडेल गुटमा यतिवेला पहिरो गएको छ । पौडेल अब डा. शशांक कोइरालालाई फकाउने कि फसाउने भन्ने बिषयमा निर्णय गर्न सकिरहेका छैनन् । कोइराला अब आफूलाई भावी पार्टी सभापतिको रूपमा अघि सार्न चाहन्छन् । उनले यसका लागि पुरानो संस्थापन पक्ष, जसको नेतृत्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले गरेका थिए, का सबै कार्यकर्तालाई गोलबद्ध गर्ने अभियान चलाएका छन् । कोइरालाले पहिलो चरणमा आफूलाई साथ दिने सांसद र केन्द्रीय सदस्य र दोश्रो चरणमा अर्जुननरसिंह केसी र सिटौला गुटलाई आफूतिर आकर्षित गर्ने तयारीमा छन् ।

डा. शशांकले देउवा गुटलाई सँधै साथ दिँदै आएका उपगुट चलाएर बसेका प्रभावशाली नेता खुमबहादुर खड्कासँग पनि बारम्बार छलफल गरिरहेका छन् । हाल कुनैं गुटमा नरहेको देखाउन महामन्त्री सशांकले प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवरी चयनमा समेत सभापति शेरबहादुर देउवाले अघि सारेका नाममा ल्याप्चे लगाएका थिए ।

उनी पौडेल गुटको तर्फबाट चुनाव लडेर महामन्त्री भएपनि सभापतिमा चुनाव हारेर पनि देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेपछि रामचन्द्र पौडेलले नैं गुटको तर्फबाट भाग खोज्ने र विरोध गर्ने गर्दै आएका छन् । कोइरालाले आफूलाई सभापति देउवाको समेत समर्थनमा सर्वसम्मत भए मात्र संसदीय दलको नेता बन्न तयार हुन्छु भनेबाट समेत उनी पौडेलसँग टाढिँदै र देउवासँग नजिकिँदै गरेका थिए ।

शशांकले गुटलाई धोका दिएपछि यतिवेला पौडेल, सिंह, पूर्वअर्थमन्त्री डा. रामशरण महतबीच बारम्बार छलफल चलेको छ । उनीहरूको यो छलफलले समेत निष्कर्ष निकाल्न सकेको छैन् । तेश्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला, देउवाबाट असन्तुष्ट भएको अर्जुननरसिंह केसी, देउवाबाटै चिढिएका विमलेन्द्र निधि र बेग्लै गुट सञ्चालन गरेका खुमबहादुर खड्कासँग समेत छलफल चलाएका छन् ।

उनीहरूले सभापति देउवाका कट्टर बिरोधीको रूपमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि जन्मिएको यूवाहरूको गुटलाई पौडेल गुटले छलफलको लागि आमन्त्रण गरेको छ । तर यूवा नेताहरूले देउवा र पौडेलबाट पार्टी नेतृत्व सम्भव नहुने भन्दै डा. शशांकसँग नजिकिन थालेको चर्चा सानेपामा चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement