सिंहदरबार गेटैमा खुल्दै ११ तले होटेल, गुप्तचर मुख्यालयलाई जोखिम


काठमाडौं – देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको पश्चिम गेटको छेउमा ११ तले होटेल खुल्दै छ । होटेलबाट छेउमा रहेको राष्ट्रिय अनुसन्धान विभागको सम्पूर्ण कार्यालय निगरानी गर्न सकिन्छ भने सिंहदरबार नै ‘सुरक्षा जोखिम’मा परेको छ ।

होटेल निर्माण सुरु भएलगत्तै राष्ट्रिय अनुसन्धान विभागले तत्काल रोक्नुपर्ने भन्दै गृह मन्त्रालयमार्फत सरकारलाई प्रस्ताव गरेको थियो । सिंहदरबारका अन्य निकायले पनि यसले असुरक्षा निम्त्याउने आवाज उठाएपछि केही समय निर्माण रोकियो । तर, निर्माणकर्ता विशाल पण्डितले पछि लबिङ गरेर होटेल निर्माणलाई निरन्तरता दिएका थिए । अहिले होटेल सञ्चालनको तयारी भइरहेको छ ।

होटेल सञ्चालनको तयारी भइरहँदा प्रमुख प्रशासनिक केन्द्रमा निम्त्याउन सक्ने जोखिमप्रति सुरक्षाका अधिकारी चिन्तित छन् । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी सिंहदरबारको गेटमै अग्लो भवनमा होटेल सञ्चालन हुनु गलत भएको बताउँछन् । ‘यो विषयमा हामी पनि चिन्तित छौँ,’ उनले भने, ‘धेरै पहिले त्यो होटेल सञ्चालनका लागि अनुमति दिएको बुझिएको छ, सिंहदरबारजस्तो संवेदनशील ठाउँको अगाडि कसरी अनुमति दिइयो रु त्यो गलत छ ।’

होटेलबाट राष्ट्रिय अनुसन्धान विभागभित्र भइरहेका गतिविधिहरू निगरानी गर्न सकिन्छ । यसबाट काम गर्न निकै गाह्रो हुने विभागका अधिकारीहरू बताउँछन् । ‘होटेलमा विदेशी गुप्तचरदेखि आतंककारीसमेत बस्न सक्छन् । उनीहरूले देशको मुख्य प्रशासनिक केन्द्रको सजिलै निगरानी र अवलोकन गर्न सक्छन् । होटेलबाट सिंहदरबारलाई ठूलो जोखिम हुन सक्छ,’ अनुसन्धानका अधिकारी भन्छन् । महानगरपालिकाले सिंहदरबारको गेटमा ११ तले होटेल बनाउने स्वीकृति दिनु नै गलत भएको उनीहरूको भनाइ छ ।

होटेल निर्माणकर्ता पण्डित पहुँचवाला भएकाले आफूहरूले रोक्न नसकेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । पण्डित मेडिकल व्यापारी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका ठूला ठेक्का सधैँ उनले हात पार्छन् । त्यही आधारमा राजनीतिक पहुँच बढाउँदै लगेका छन् ।

विगतमा दरबार तथा सिंहदरबारवरिपरि अग्ला भवन बनाउन नपाइने कानुन थियो । पछिल्लो समय त्यस्ता कानुन संशोधन गरिएका छन् । तर, सुरक्षाको दृष्टिकोणले सरकारले यस्ता भवन निर्माण गर्न स्वीकृति नदिन सक्ने भएपछि दबाबमा भवन निर्माण तथा होटेल सञ्चालन गर्न दिन लागिएको छ ।यो समाचार आजको नयां पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement