भ्रमणका नाममा प्रदेशका मन्त्रीले सके ३८ लाख


 डोटी – सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुले विकासभन्दा पनि भ्रमण खर्चमा रकम स्वाहा पारेका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा सेवा सुविधा बापतको ५८ लाख रकम बुझेका यहाँका मन्त्रीहरुले भ्रमणका नाममा मात्रै झन्डै ३८ लाख बजेट स्वाहा पारेका छन् ।

मन्त्रीहरुले सरकारी कामको सिलसिलामा जाँदा मात्र दैनिक भ्रमण भत्ताबापतको रकम पाउने प्रावधान भए पनि यहाँका मन्त्रीले त्यो प्रावधानलाई समेत लत्याएर कार्यकर्ता भेटघाट र व्यक्तिगत कामकाजको सिलसिलामा जाँदा समेत प्रदेशको ढुकुटीबाटै रकम लिने गरेको नाम नछाप्ने सर्तमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक कर्मचारीले बताए । ती कर्मचारीले भने– ‘मन्त्रीज्यूहरु आफ्ना कार्यकर्ता भेट्न जाने तर बिल सरकारी कामले गएको देखाएर बजेट स्वाहा पारे ।’

सुदूरपश्चिमका मन्त्रीहरुले प्रायःजसो हरेक महिना अनुगमन भ्रमण खर्चको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लाखौं रकम बुझेको देखिएको छ । मन्त्रीहरुले अघिल्लो आर्थिक वर्षको पाँच महिनामा २२ लाख र चालू आर्थिक वर्षको पाँच महिनामा झन्डै साढे १५ लाख अनुगमन भ्रमण खर्च गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी तथा शाखा अधिकृत हरिदत्त भट्टले गत वर्ष र यो वर्ष गरेर ३८ लाख रकम अनुगमन भ्रमणमा खर्च भएको जानकारी दिनुभयो । उहाँले मंसिर महिनामा मात्रै ५ लाखभन्दा बढी खर्च भएको बताउनुभयो ।आफू यात्रामा भएकाले ३८ लाखजति रकम खर्च भएको तथा पूर्ण विवरण लेखा शाखामा हुने उहाँको भनाइ थियो ।

सरकारी कामको सिलसिलामा जाँदा मात्र मन्त्रीहरुले दैनिक भ्रमण भत्ताबापतको २ हजार ५ सय रुपियाँ पाउने प्रावधान भए पनि मन्त्रीहरुले कार्यकर्ता भेटघाटलगायतका व्यक्तिगत काममा जाँदा समेत भत्ता लिँदै आएको स्रोतको दाबी छ । जनताले तिरेको करबाट मन्त्रीहरुले ब्रह्मलुट गरेपछि यहाँका स्थानीय आक्रोशित बनेका छन् ।यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement