अप्रत्यक्ष कर घटेपछि देश परनिर्भरतातर्फ जाने संकेत


काठमाडौं -अर्थतन्त्र कमजोर हुँदै गएको संकेत करमा पनि देखिन थालेको छ। पछिल्ला आर्थिक वर्षमा कमजोर भएको अप्रत्यक्ष कर गत आर्थिक वर्षमा पनि सुधार हुन नसकेपछि यस्तो संकेत देखिएको हो।

प्रत्यक्ष कर बढ्दै जानु र अप्रत्यक्ष कर घट्नुले अर्थतन्त्र कमजोर भएको संकेत गरेको अर्थविद् केशव आचार्यले बताए। उनले भने, ‘हाम्रो जस्तो देशमा अर्थतन्त्र बलियो हुन अप्रत्यक्ष कर बलियो हुँदै जानुपर्छ। अर्थतन्त्र बलियो भयो भने अप्रत्यक्ष कर संकलनमा सकारात्मक संकेत देखिन्छ। त्यो अवस्था अहिले छैन।’

आर्थिक वर्ष २०७४/७५ मा मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्कलगायत अप्रत्यक्ष कर संकलनमा कमी आएको छ। भन्सार महसुल, आयकर, ब्याजकर, सवारीसाधन कर, रजिस्ट्रेसन दस्तुरलगायत प्रत्यक्ष कर मात्र बढेका छन्। विकसित मुलुकमा प्रत्यक्ष कर बढ्नुलाई प्रगतिशील मानिन्छ। हाम्रो जस्तो देशमा प्रत्यक्ष कर बढ्नुले परनिर्भरता बढेको संकेत गर्छ।

गएको आवमा सरकारले दुई खर्ब १५ अर्ब ९६ करोड भ्याट असुली गर्ने लक्ष्य निर्धारण गरेको थियो। सरकारले निर्धारण गरेको भ्याटमा ९५ दशमलव ७३ प्रतिशत अर्थात् दुई खर्ब ६ अर्ब ७५ करोड संकलन भएको छ। उच्चस्तरीय कर प्रणाली पुनरवलोकन आयोगले भ्याटलाई देशको मेरुदण्डका रूपमा विकास गर्दै लैजानुपर्ने सुझाव दिए पनि सरकारले लक्ष्य भेट्न सकेको छैन।

आयोगले कुल राजस्वमा ३५ देखि ४० प्रतिशत भ्याटको अंक रहनुपर्ने सुझाव दिएको थियो। गत आवमा संकलन भएको राजस्वमा भ्याटको योगदान २८ दशमलव ३० प्रतिशतमात्र छ। उत्पादन, बिक्री तथा सेवामा भ्याट बढेको छ भने पैठारीमा घटेको छ। पैठारीतर्फ लक्ष्यको ९१ दशमलव ९३ प्रतिशतमात्रै भ्याट संकलन भएको छ।

आयात र व्यापार बढे पनि त्यहीअनुसारको राजस्व नउठ्नु राजस्व चुहावटको संकेत भएको अर्थविद् आचार्यले बताए। ‘सरकारले जतिसक्दो छिटो अनलाइनबाट राजस्व संकलन गर्नुपर्छ’, आचार्यले भने ,‘करदाता र कर प्रशासनको भेट नभएमा अनुचित लाभ लिन सक्दैनन्।’

गएको आवमा लक्ष्यको तुलनामा थोरै अन्तःशुल्क घटेको छ। सरकारले अन्तःशुल्कबाट एक खर्ब दुई अर्ब ८८ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। त्यमध्ये एक खर्ब दुई अर्ब ५७ करोड राजस्व संकलन भएको छ। यो शीर्षकअन्तर्गत आन्तरिक राजस्व बढे पनि आयातित वस्तुको राजस्व भने कमजोर देखिएको छ।आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement