नेकपाका दोस्रो पुस्ताका नेता नेतृत्व लिन सक्षम भइसके,पहिलो पुस्ताले विश्राम लिने बेला भयो: ठाकुर गैरे (अन्तर्वार्ता)


काठमाडौं – पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक कलहमा रुमलिएको छ । देशमा कोरोना भाइरसको महामहारी र पछिल्लो समय प्राकृतिक विपत्तिको सामना देशले गरिरहेको छ । सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै पार्टीभित्रै सरकारको चर्को आलोचना भइरहेको छ ।

पार्टी विधि र विधानअनुसार नचलेकाले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको नेकपाका केन्द्रीय कमिटी सदस्य ठाकुर गैरे बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीमध्ये एक पदबाट छोड्नुपर्ने नेताहरुको अडान गैरेलाई मन परेको छैन् । उनी अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीको विकल्प खोज्नु पार्टी फुटाउने खेल भएको रुपमा अथ्र्याउंछन् ।

त्यस्तै उनले नेकपाले लिएको विचार, सिद्धान्त, स्थिर सरकार, शुशासन, पारदर्शिता, भ्रष्टाचार शुन्य सहनशीलताको नीति अख्तियार गर्ने सकारको योजना रहेकाले त्यो कार्यान्वयनको चरणमा भएको अवस्थामा प्रधानमन्त्री ओलीको विकल्प खोजे दुर्घटना निम्तिने बताए । पछिल्लो समय सरकार र पार्टीभित्र देखिएका समस्या र समाधानका उपायबारे काठमाण्डुपाटीका लागि निशेष खनालले गरेको कुराकानीको सम्पादित अंशः

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखा परेको मुख्य समस्या के हो ?

नेकपाभित्र पार्टी एकिकरणको बेला देखि नै केही समस्याहरु थिए । एकिकरणपछि केन्द्रीय कमिटी बनेर जिल्ला कमिटी बन्ने, केन्द्रीय कमिटीको कार्यविभाजन हुने विषयसम्म पुग्दा थपअरुसमस्याहरु देखा परे । खासगरी कार्यविभाजन एउटा मापदण्ड बनाएर विधिभित्र बसेर गर्ने वा व्यक्ति छनौट गर्ने भन्ने विषयमा विवाद भयो । हामीले त्यतिखेरै भनेका थियौं कि पार्टीमा केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजनको एउटा मापदण्ड बन्नुपर्छ । मुलतः एउटै व्यक्तिले दुईटा तिनवटा जिम्मेवारी पाउने र एउटाले केही पनि नपाउने खालको परिस्थिति नहोस भनेर हामीले ध्यानआकर्षण गरिरहेका छौं । अर्को भनेको जिल्ला कमिटीहरुको गठनमा देशैभरी एउटै मापदण्ड बनाउँ ।

जुन मापदण्ड बनाए पनि को अध्यक्ष हुने को सचिव हुने भन्ने कुरा मापदण्डले नै बोलोस् भनेर कुरा गरिएको थियो । तर, व्यक्ति छनौट गर्ने आफूलाई मन परेको आधारमा व्यक्तिलाई छनौट गर्ने प्रक्रिया सुरु भयो । त्यसले गर्दा तीन महिनाभित्र एकीकरण सक्ने भनेको त्यो दुई वर्षसम्म अल्झिनेस्थिति बन्यो । त्यसले एउटा समस्या थपेको थियो । त्यसले गरेर फेरी सरकारले पार्टी चलाउने वा पार्टीले सरकार चलाउने भन्ने विवाद कम्युनिष्ट पार्टीमा पहिलेदेखि चल्दै आइरहेको बहस यसपटक पनि सरकार र पार्टीको कामको सन्र्दभमा यो समस्या देखा परेको हो ।

केन्द्रीय कमिटीको बैठक ६ महिनामा बस्नुपर्ने २० महिनासम्म बस्न सकेन । केन्द्रीय कमिटीको बैठक बस्नका लागि लिखित रुपमा माग गर्नुपर्ने परिस्थिति निर्माण भयो । र त्यसपछाडि पार्टीभित्रका ज्वलन्त समस्याहरु र राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषय पार्टीको सचिवालय तहमा स्थायी कमिटी र केन्द्रीय कमिटीको तहमा छलफल नभइकन नेताहरुकाबीचमा मिलेपछि कुरा मिलेजस्तो देखिने । नेताहरुको बीचमा बेमेल हुँदा कुरा नमिलेजस्तो देखिने यस्तो खालको परिस्थिति निर्माण भयो ।

केन्द्रीय कमिटीको बैठकमा आइपुग्दा चाँही लामो छलफल भएपछि छलफलमा भएका कमी कमजोरी प्रति नेतृत्वले लिखित रुपमा आत्मआलोचना गर्यो । एकिकरणका बाँकी काम मिति तोकेर निर्णय गर्यौं । केन्द्रीय कमिटीको कार्यविभाजनलाई रिभ्यू गर्ने निर्णय गर्यौंं र अरु चाँही आगामी दिनमा सबै काम पार्टीको संस्थागत ढंगमा चल्छ/चलाइन्छ भन्ने प्रस्तावलाई बैठकले पास गर्यो । तर, त्यो केन्द्रीय कमिटीको बैठकपछि फेरी अवस्था जस्ताको तस्तै भयो पुरानै अवस्थाले चल्यो । यो बीचमा एमसीसी प्रकरणबारे केन्द्रीय कमिटीले एउटा कार्यदल बनाएको थियो । त्यसले एउटा समस्या खडा गर्यो । त्यसपछाडि अध्यादेश आयो त्यसले समस्या खडा गर्यो । त्यसपछाडि नक्सासम्बन्धी विषय आयो त्यसमा राष्ट्रिय सहमति भयो । यि यस्ता विषयहरु थपिँदैथपिँदै जाँदा खेरी अहिले आएर नागरिकता विधेयकको प्रशंग भयो । राष्ट्रिय महत्वका विषयमा पनि पार्टीमासंस्थागत निर्णय भएन ।

यो कुराले समस्या थपिँदै आउँदा त्यो एक प्रकारले ठूलो संख्या बन्यो ।यो हप्ता पार्टी फूटको संघारमा पनि पुग्यो । यो समयमा देशभरीको नेकपाको पार्टी पंक्ती छ त्यसमा ठूलो समस्या देखा पर्यो कि पार्टीभित्र सम्भीर संकट पैदा भयो अब नेकपा एउटै पार्टी रहन सक्दैन । अब नेकपाभित्र यी नेताहरु एउटै ठाउँमा बस्ने अवस्था छैन् भन्ने सन्देश चाँही जर्बजस्त गयो । र तल पनि कार्यकर्तामा त्यसका असरहरु देखा पर्न थाले ।त्यसैले गर्दा योबीचमा यो अवस्थालाई सबैले पर्ख र हेरको रुपमा लिएका छन् । बैठक स्थगित छ लिडरसीप तहमा पर्ख र हेरको स्थितिमा छ भने कार्यकर्ता तहमा र पार्टीका शुभचिन्तक तहमा चाँही युनिटी कायम हुनुपर्दछ भन्ने कुरामा एक मत छ । र अन्यौलपूर्ण अब के हुन्छ ? यो बीचमा विकास भएको अविश्वासको परिस्थिति विश्वासमा पदलिने कुरा । बेमेलको कुरा मेलमा बदलिने र विधि विधान र पद्धतिअनुसार पार्टी चल्ने कुरा यी सबै कुराहरु अहिले अन्योलको अवस्थामा छन् ।

पछिल्लो समय नेताहरुले ‘म एमाले म माअ‍ोवादी (केन्द्र) ’भनेर आफ्नो पहिचान दिइरहेका छन् । नेताहरुले ‘म नेकपा’ भनेर कहिले हिँड्ने ?

वास्तवमा नेताहरुमा नेकपा देखिँदैन । एमाले देखिन्छ । माओवादी देखिन्छ । त्यसपछि पनि एमालेभित्र गुटहरु देखिन्छ । एमाले पनि कम देखिन्छ । त्यसभित्रका गुटहरु देखिन्छन् । माओवादी (केन्द्र) भन्ने भन्दा पनि व्यक्तिगत सम्बन्धहरु देखिन्छन् । एमाले र पूर्वमाअ‍ोवादी केन्द्र त हामीले खारेज गरिसक्यौं विघटन गरिसक्यौं त। आज त हामी नेकपा भएर यो नेकपाभित्र उत्पन्न भएको समस्या कसरी हल गर्ने, अहिले नेकपाभित्र उत्पन्न समस्यलाई एमाले र माओवादी केन्द्रको आँखाबाट हेर्नु भएन । यसलाई नेकपाको आँखाबाट हेर्ने, नेकपाको आँखाबाट विश्लेषण गर्ने र नेकपाको आँखाबाट त्यसलाई समाधान गर्ने । यो बिन्दुमा चाँही आउनुपर्ने अवस्था छ।

पार्टी भित्रको विवाद र पार्टी एकिकरणका कामलाई थाँती राखेर नेताहरु पदको मोहमा बढी केन्द्रीत भएको देखियो । तपाईले यसलाई कसरी हेर्नुभएको छ ?

व्यक्तिगत रुपले चाँही मैले के पाएँ । अथवा भोली मेरो लागी के हुन्छ ? यो विषय प्रधान हो कि होइन ?म के भन्छु भने मैले के पाएँ ? मेरो पोजिसन के हुन्छ भन्ने कुरा प्रधान होइन । नेपाललाई के हुन्छ ? नेपाल र नेपाली जनतालाई के हुन्छ ? यो कुरा केन्द्र भागमा राखेर हेर्ने र त्यो नेपाल र नेपालीलाई के हुन्छ भन्ने विषय र आज नेपाली जनताको समस्या के हो नेपाली जनताको समस्याको समाधान नेकपाले कसरी गर्ने भनेर हेरियो भने त्यसले समाधान दिन्छ । त्यसकरण मलाई, मेरो लागि, मेरो मान्छेको लागि भन्ने कुरा सबैले आफ्नो दिमागबाट हटाउनुपर्यो ।

विधान र विधिअनुसार चलेको पार्टी भागबन्डामा रुमलिँदा समस्या आयो । तपाईलाई पार्टी विधि र विधानअनुसार चलेको भान भएको छ ?

हो । जब पार्टीभित्र पार्टीको आन्तरिक जीवन लोकतान्त्रिकरण भयो, पार्टीमा कार्यकर्ताको मूल्यांकनको मापदण्ड, पार्टीमा कार्यकर्ताको कामको विन्यासका लागि समान दृष्टिकोणमा उभिएर त्यसको सिनियारिटीको आधारमा, योग्यता क्षमताको आधारमा र आवश्यकताका आधारमा त्यसमा कामको मूल्यांकन गर्ने, व्यक्तिको मूल्यांकन गर्ने परिपाटी र त्यसपछि पार्टी सञ्चालन चाँही संस्थागत ढंगले हुने सामूहिकतामा हुने, पार्टीको बैठक नियमित भएर त्यहाँबाट निर्णय भएर कार्यान्वयन हुने र त्यहाँबाट गरिएको निर्णय सबैले लागू गर्ने ढाँचामा अगाडि बढ्यो भने तपाईले सोध्नुभएको प्रश्नको जवाफ आउने कुरा सुरु हुन्छ ।

त्यसकारण मैले भनेको छु कि आज पार्टी संचालन विधि, प्रक्रिया, प्रणाली नै एक प्रकारले व्यावहारिक जस्तो र त्यसपछाडि नेताहरुबीच कहिले लेनदेन सम्झौता मिल्छ अनि सम्झौता कसलाई दिने कसलाई नदिने हुन्छ त्यसका आधारमा चाँही रिजल्ट आउने खालको जुन कुरा भइरहेको छ हामी फेरी सिस्टममा नआउन्जेलसम्म यो समस्या देखिइरहन्छ ।

अहिले चाँही पार्टीमा कताकता पार्टीको विचार, पार्टीको सिद्धान्त र पार्टीले अवलम्बन गरेको संगठन पार्टी सञ्चालन सम्बन्धी विधि,प्रणाली यो कताकता वेवारिसे जस्तो देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टीले अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजेको हो ?

म चाँही व्यक्तिगत हिसाबले को व्यक्ति रहने को व्यक्ति नरहने भन्ने प्रश्न यसमा हो भन्ने मलाई लाग्दैन । कम्युनिष्ट पार्टी हुनुको नाताले चाँही यसलाई हामीले लिएको विचार, सिद्धान्त हामीले लिएको कार्यक्रम, पार्टी एकता गर्दा हामीले अख्तियार गरेको नीति र यो सबै कुरामा भएर हामीले स्थिर सरकार, शुशासन, पारदर्शिता, भ्रष्टाचार शुन्य सहनशीलताको नीति अख्तियारगर्ने हाम्रो योजना छ । यो कार्यान्वयनको प्रक्रियामा आज उत्पन्न भएको समस्या के हो ? र त्यसको समाधान गर्न के गर्नुपर्छ भन्ने कुरालाई हामीले पहिला त्यसको विषयगत रुपले टुंगो लगाउनुपर्यो । त्यसपछि हामीले के गर्ने भन्ने कुरा सुरु हुन्छ ।

नेकपा लगायतका अन्य मुख्य पार्टीहरुमा पुरानै नेताहरुले नेतृत्व सम्हालिरहनु भएको छ । तपाईहरुजस्तो युवा नेता गुटमा लागेर मात्र बस्ने अनि नेतृत्वमा आउनै चाहानुहुन्न किन ?

होइन । त्यो आवाज नउठेको होइन उठेको पनि छ । अब पार्टीमा पुस्ता हस्तान्तरण गर्नुपर्छ भनेका छौं । हामीले हिजाको सिनियर पुस्ता जसले पञ्चायतविरुद्ध लड्यो ।जसले ०४६ सलापछि हालसम्म लड्दै आयो । ०६२ ०६३ को नेतृत्व गर्यो । संविधानसभाको नेतृत्व गर्यो र गएको चुनावको पनि नेतृत्व गर्यो र पार्टीलाई एक गर्यो । भने यति धेरै घटनाको नेतृत्व गरेर । मैले त यो नेतृत्वलाई इतिहासको सबैभन्दा बढी सफल नेतृत्व भन्छु । यो नेतृत्वले पञ्चायत फाल्यो । यसले राजतन्त्र फाल्यो । यसले संविधानसभा गरायो । यसले त्यस अन्र्तगत चुनाव गरायो ।

आज चाँही दुई वटा देशका महत्वपूर्ण पार्टीलाई एकताबद्ध पनि गर्यो । कुशल ढंगले काम सम्पन्न गरेको नेतृत्वले आज पार्टीलई विभाजित गरेर , विभाजित पार्टी दोस्रो पुस्तालाई बुझाएर हिँड्ने कि यसलाई एकताबद्ध र यसलाई अझै सुद्धृढ र विशाल बनाएर अथवा सुसंगठित पार्टी चाँही दोस्रो पुस्तालाई हस्तान्तरण गरेर बिदा हुने भन्ने कुरा चाँही आज नेतृत्वको काँधमा आएको छ । हामीले भनेका छौं– अब तपाईहरु चाँही अहिलेको पोजिशन भन्दा पनि अझै सम्मानित र अझै माथिल्लो तहमा बसेर संग्लो र एकताबद्ध पार्टी दोस्रो पुस्तालाई हस्तान्तरण गरेर माथीबाट तपाईहरुले गाइड गर्ने बेला आयो ।

पहिलो पुस्ताले व्यवस्था फाल्ने काम गर्यो, नयाँ नयाँ राजनीतिक परिवर्तन गर्नुभयो तर, दोस्रो पुस्ताका नेताहरुमा व्यवस्था फाल्ने परिवर्तनको सोच किन आउन सकेन ?

परिवर्तनको सोच छ । बरु चाँही त्यसको पनि जवाफ नेतृत्वको काँधमा छ भन्ने मलाई लाग्छ । अहिलेको सिनियर नेतृत्वले चाँँही गुटैगुटको नेकपा देशलाई दिने हो कि गुटविहीन नेकपा देशलाई दिने हो भन्ने नेतृत्वबाटै सोच्नुपर्दछ ।

त्यसो भए सिनियर नेताहरुले लडेर ल्याएको व्यवस्था बचाउन दोस्रो पुस्ताका नेताहरुमा जिम्मेवारी आइलाग्यो नि !

पुरानो नेतृत्व निरन्तर हामीसँग छ । तर यो ०६२/६३ को आन्दोलनको लिडरसीप गर्ने यो संविधानसभालाई सफल बनाउने र गणतन्त्र ल्याउने आजको यो तहमा पार्टी स्थापना गर्ने कुरा दोस्रो पुस्ताको पनि त्यत्तिकै महत्वपूर्ण योगदान छ । र आगामी दिनमा दोस्रो पुस्ताले अब हामी चाँही सामूहिक रुपले मुलुकको नेतृत्वगर्न हामी सक्षम छौं भन्नेर त्यस रुपमा प्रस्तुत गर्नुपर्ने र आफूलाई त्यसरुपमा तयार गर्नुपर्ने आवश्यकता छँदैछ । त्यसकारण मैले दोस्रो पुस्तापछि तयार भएको नेतृत्व सक्षम छ कि छैन् भन्दा त्यो काम गर्नको लागि सक्षम छ । त्यसलाई कुनै व्यक्तिगत केशमा र फलानाले चाँही यसको नेतृत्व गर्छ भन्ने रुपमा होइन कि सामूहिक रुपले प्रतिबद्धता गर्दाखेरी यो मुलुकलाई अघिल्लो पुस्ताले जुन महत्वपूर्ण योगदान गर्यो । अझ त्योभन्दा उच्च तहमा रहेर अझै ठूलो योगदान गर्ने अवसर पनि आएको छ र त्यो गर्न सक्ने क्षमता राख्ने नेताहरु तयार भएका छन् ।

छिमेकी मुलुक चीनलाई हेर्ने हो भने भविष्यमा देशलाई सक्षम नेतृत्व दिन अहिलेबाटै तयारी अवस्थामा राखिएको पाइन्छ । नेपालमा त्यस्तो व्यवस्था गर्न सकिन्छ कि सकिँदैन ?

यो अति आवश्यक कुरा हो । अहिले चीनमा पाँच वर्षपछि राष्ट्रप्रमुख को बन्ने भनेर अहिले नै थाहा हुन्छ । र त्यहाँको पार्टी त्यसरुपमा काम गरिरहेको छ । भने हाम्रोमा चाँही एउटा समस्या के देखिइरहेको छ भने माथिल्लो तहमा रहेको नेतृत्व पंक्तीले आफूपछि तयार हुँदै गरेको नेतृत्व आफू भन्दा सक्षम, योग्य होस् भन्नेतर्फनेताहरुले जुन तहको ध्यान दिएर त्यसका लागि काम गर्नुपर्ने हो त्यो चाँही देखिँदैन ।हामीले चिनियाँ मोडलमा जान सक्यौं भने पनि देशलाई फाइदा नै हुन्छ ।भोली आफू बिदा भएर जाँदा खेरी सके आफू सरहको नत्र आफू भन्दा योग्य नेतृत्व स्थापित गरेर जान सक्दा नेताहरुको कद पनि अझै उँचो हुन्छ ।

पार्टीको समस्याबारे युवा नेता भएको हिसाबले कसरी सचेत गराउनुभएको छ ?

शीर्ष नेतृत्वलाई व्यक्तिगत रुपमा प्रत्यक्ष रुपमा भेट्न समस्या छन् । हामीले व्यक्तिगत वा सामूहिक रुपमा नेताहरुले थाहा पाउने गरीकार्यकर्ता, शुभचिन्तक र समर्थकहरुको चाहना के छ ? भन्ने कुरा हामीमार्फत नेताहरुलाई अभिव्यक्त गरिरहेका छौं । पार्टी एकता टुट्नुहुँदैन भन्ने आम पार्टी पंक्तीको चाहना हो । ९५ प्रतिशत केन्द्रीय सदस्यहरु पार्टी फुट्नु हुँदैन भन्ने चाहना हो । र नेपालका विपक्षी दलहरुले पनि पार्टी फुट्नु हुँदैन भन्नेहरु धेरै छन् । केही पार्टी फुटेरभागबन्डा पाउने मोहले बसेका छन् र ति बाहेकअन्यको त्यस्तो चाहना छैन् । ति सबैको चाहनालाई मध्यनजर गरेर हामीले केन्द्रीय कार्यालयमा बसेर नेताहरुलाई ध्यानआकर्षण गरायौं । पार्टी विभाजन रोक्नुपर्छ भनेर पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाउने माग गरिरहेका छौं । त्यसका लागि केन्द्रीय सदस्यहरुबीचमा हस्ताक्षर गरिरहेका छौं । हामी पार्टी विभाजन हुन नदिनका लागि अवलम्बन गर्नुपर्ने विषयहरुमा यो विभाजन रोक्नका लागि क्रियाशील छौैं ।

 

जनताको जनमतअनुसार सरकार चलेन र कार्यकर्ताको भावनाअनुसार पार्टी चलेन भन्ने वास्तविकता कति सत्य हो ?

आज नेकपा नेतृत्वको सरकारबनेपछि उसले चुनावमा प्रस्तुत गरेको घोषणापत्र र पार्टीले स्थापना कालदेखि उठाउँदै आएका एजेण्डाहरुलाई त्यसरुपमा कार्यान्वयन गर्ने हिसाबले सरकारले राम्रो डेलिभरी दिन सकेन भन्ने प्रश्न पनि उठेको छ । अर्को चाँही पार्टी एकीकरण हुँदा जुन उत्साह दिएको थियो आज दुई वर्ष पुग्दा त्यो उत्साह थप वृद्धि हुँदै जानुपर्नेमा उत्साह निराशामा परिणत हुँदै गइरहेको छ । एकताले जुन बल दिनुपर्नेहो, पार्टीमा ठूलो शसक्त पैदा गर्नुपर्ने हो त्यो गर्न सकेन भन्ने चिन्ता पनि छ । हामीले आज सरकारको गति बढ्नुपर्यो ।सरकार अझै प्रभावकारी हुनुपर्यो र पार्टी एकता छिटो पूर्णता पाउनुपर्यो यो पार्टी विचार प्रधान हुनुपर्यो । यो संस्थागत र विधिप्रणालीबाट चल्नुपर्यो भन्ने चिन्ता चांसोलाई हामीले छिटो सम्बोधन गर्नुपर्ने अनिवार्य आवश्यकता हो ।

सरकारले एउटा साहसका साथ कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ त जारी गर्यो तर, यही तयारीले नेपालको भूमि फिर्ता आउन सम्भव छ ?

नेपालको इतिहासमा यो एउटा ज्यादै ठूलो उपलब्धी हो । कालापनी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो भन्ने विषयमा राष्ट्रिय सहमति बनेको छ । यसमा सर्वदलिय सर्वपक्षीय निर्णय भएको छ । र यी सबै सहमतिको स्प्रिटमा नक्सा प्रकाशित भएको छ । निशान छाप परिवर्तन भएको छ । संविधान संशोधन भएको छ । यो ज्यादै ठूलो उपलब्धी हो । यो काम वर्तमान सरकारको नेतृत्वमा भएको हो । हामी त्यो पार्टीका कार्यकर्ताका निम्ति गर्वको कुरा हो ।तर, अब त्यस सँगैसँगै हामीले नक्सा बनाए पनि हाम्रो मूल उदेश्य चाँही कालापानीबाट सेना फिर्ता गर्ने काम बाँकी छ । र त्यो जमिनमा हक स्थापित गर्नै काम पनि बाँकी नै छ । त्यसका लागि कूटनीतिक वार्ता नै विकल्प हो । त्यसका लागि हामीले प्रयत्न गरिरहेका छौं । सरकारले काम गरिरहेको छ । यसमा हामीले सफलता प्राप्त गर्न सक्छौं भन्ने विश्वास म राख्छु । किनभने सुगौली सन्धीको धारा ५ मा उल्लेख भएको प्रावधान हामीसँग भएको नक्सा र ऐतिहासिक दस्तावेजहरु र त्यो समग्र काली नदीको मुहान भएको लिम्पियाधुराबाट तिब्बततिर भएर बगेको नदी र जमिन यी सबै कुरा हेर्दा हामीसँग भएको कुराहरु तथ्यपूर्ण भएकाले भारत त्यो जमिन छोड्न बाध्य हुनेछ । र नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजाने परिस्थितिको निर्माण हुन्छ । त्यसमा भारतसँगको वार्तामा नेपालले सफलता प्राप्त गर्छ भन्ने विश्वास मलाई छ ।

नक्सा जारी भएपछि भारत नेपालसँग चिढिएको, वार्तामा बस्न नचाहेको अवस्था छ । नेपालले भारतलाई कसरी दबाब दिन सक्छ ?

हो, हामीले त्यसमा हेर्यो भने प्रबुद्ध समूह भारतको सहमतिको बीचमा बन्यो ।तर, उसले बनाएको प्रतिवेदन भारत बुझ्न तयार छैन् । आइके गुजराल नेपाल भ्रमणमा आउँदा, नरेन्द्र मोदी नेपालको भ्रमणमा आउँदा दुई देशकाबीचमा सहमति भएर लिपुलेक हाम्रो विवादित क्षेत्र हो ।सुस्ता, कालापानी विवादित क्षेत्र हो । त्यसको बारेमा सचिव स्तरिय वार्ता टोली बनाएर त्यसको अध्ययन गरिनेछ । भन्ने कुरा दुईवटा देशबीच सहमति भएको छ नि ।

विवादित मानेको ठाउँमा बाटो खन्ने, दुईवटा देशले विवादित क्षेत्र भनेको ठाउँमा वार्ताद्वारा हल गरौं भनेर बसेको ठाउँमा बाटो खन्ने र उद्घाटन गर्ने । विवादित भनेको भूमिका विषयमा वार्ता गर्ने भनेको बेलामा त्यो जमिन आफ्नो बनाएर नक्सा प्रकाशित गर्ने । यो चाँही हेपाहा प्रवृति हो । भारतले हामी ठूलो हुँ भन्ने दादागिरी हो । तर, आज नेपालले भनेको छ कि– यो सार्वभौमसत्ता सम्पन्न मुलुक नेपालको बारेमा निर्णय गर्नै अधिकार हाम्रो हो । हाम्रो सार्वभौमतामाथि भारतलगायत अरु कसैको पनि हस्तक्षेप मञ्जुर छैन् । यो कुरा आज हाम्रो देशले भन सकिरहेको छ । त्यसकारण तथ्य हामीसँग छ। अर्को हामी एकताबद्ध छौं । त्यसमा भारतले जित्ने कुरै छैन् । हामी जित्छौं ।

अब भारतलाई दबाब दिने विषयमा कूटनीतिक वार्ता नै मुख्य कुरा हो । त्यसका लागि सरकारले प्रत्यक्ष रुपले कोर्डिनेसन गर्नुपर्यो । सँगसँगै हामीले ट्र्याक टुको कुरा पनि गर्नुपर्यो । त्यसका लागि नेपालका उद्योगीलाई भारतीय उद्योगीहरुसँग लबिङ गर्ने, नेपालका कलाकारहरुले भारतीय कलाकारहरुसंग लबिङ गर्ने, नेपालको सुरक्षा निकायले भारतीय सुरक्षाको उच्च तहसँग लविङ गर्ने यसरी हामीले अर्को ट्र्याक टु लेबलबाट हामिले कूटनीतिक तहबाट वार्तामा भारतलाई आउनका लागि बाध्य पार्ने । भारतका हरेक मान्छेले नेपालसँग वार्ता गर्नुपर्दछ भन्ने त्यो परिस्थिति निर्माण गर्ने । सँगसँगै अन्तराष्ट्रिय समुदायहरुसँग पनि यसको सहयोग लिन सक्छौं । किनभने ठूलोदेशले सानो देशलाई हेप्न मिल्दैन । भूपरिवेष्ठित देशलाई समुन्द्र सतहसँग जोडिएका देशहरुले हेप्न मिल्दैन ।

संयुक्त राष्ट्रसंघको बडापत्रमा हामीले सबै देशहरु स्वतन्त्र राष्ट्रको अस्तित्वलाई सबैले स्वीकार गरिनेछ भन्ने जुन स्वकारोक्ती हो त्यसका निम्ति सम्मान सबैले गर्नुपर्दछ भन्ने कुरा अन्तराष्ट्रिय कम्युनिटीले पनि भन्छ । त्यसले गर्दा हामीले प्रकाशित गरेको नक्सा संयुक्त राष्ट्रसंघ लगायतका देशहरुमा उपलब्ध गराउने र उनीहरुसँग कुरा गर्ने । भारतले प्रबुद्ध समूहको प्रतिबेदन बुझ्न तयार नभएको, विवादित भनेको ठाउँमा गतिविधि गरेको, त्यस्तै तराईको भूभाग जलासयमा परिणत भएको छ । त्यो त भारतले दशगजाभित्र बाँध बाँधेका कारण उत्पन्न भएको समस्या हो । यो कुरा पनि हामीले समाधान गर्नुपर्नेछ । त्यसकारण हामी तथ्य र प्रमाणहरु बोकेर हामी सबैसँग अन्तराष्ट्रिय कम्युनिटीसँग यो जमिन हाम्रो हो भनेर कुरा गर्ने अभियान संसारभर चाल्नुपर्दछ । जसले गर्दा भारत वार्तामा बस्न तयार हुनेछ र वास्तविकतालाई स्वीकार गर्न तयार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement