एमालेमा मुख्यमन्त्री चयनमा समस्याः आकाक्षी नै डेन्जर जोनमा


काठमाडौं – एमालेको भागमा परेका चारमध्ये तीन वटा प्रदेशमा संसदीय दलको नेता चयनको विषयलाई लिएर तीव्र ध्रुवीकरण बढेको छ । प्रदेश–५ मा स्थायी कमिटी सदस्य शंकर पोखरेल पहिलो प्रदेशसभा बैठकलगत्तै दलको नेता चयन भए पनि अन्य तीन वटा प्रदेशमा मुख्यमन्त्रीका लागि अनिवार्य रहेको दलको नेता चयन निकै सकसपूर्ण बनिरहेको हो । मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख नै दाबेदार छन् । प्रदेश–१ मा संयोजक भीम आचार्यलाई पोलिटब्युरो सदस्य तथा लोकप्रिय युवा नेता शेरधन राईले कडा टक्कर दिइरहेका छन् ।

प्रदेश–३ मा पनि संयोजक रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे र डोरमणि पौडेलले कडा टक्कर दिएका छन् । प्रदेश–३ मा अन्य नेता पनि आकांक्षी छन् । प्रदेश–४ की प्रमुख स्थायी कमिटी सदस्य किरण गुरुङलाई सचिवसमेत रहेका लोकप्रिय नेता पृथ्वीसुब्बा गुरुङले कडा टक्कर दिएका छन् । प्रदेश–१ र ३ मा आज शुक्रबार संसदीय दलको नेता चयनका लागि निर्वाचन तोकिएको छ भने प्रदेश–४ को चुनाव २८ माघमा तय गरिएको छ ।

सातमध्ये ६ ओटा प्रदेशमा सरकार गठनको म्यान्डेट पाएका एमाले र माओवादी केन्द्रबीच ४\२ मा मुख्यमन्त्री भागबन्डा भएको थियो ।भागबन्डामा प्रदेश ६ र ७ पाएको माओवादीले सर्वसम्मत रूपमा मुख्यमन्त्रीको टुंगो लगाइसकेको छ ।माओवादीले प्रदेश–६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउन दलको नेता सर्वसम्मत सिफारिस गरिसकेको छ । माओवादीले दुवै प्रदेशमा सर्वसम्मत मुख्यमन्त्री छनोट गर्ने निर्णय लिइरहँदा एमालेभित्र भने चुनावको बाटो अवलम्बन गरिएको हो ।

नावअघि नै मुख्यमन्त्रीका लागि सहमत गराएर पठाइएका नेता शंकर पोखरेललाई समेत दलको बैठकबाट नेता चयन गरिएको भन्दै आकांक्षीले नेतालाई धम्क्याएपछि स्थायी कमिटीले चुनावको बाटो अपनाउने गरी प्रदेशलाई नै जिम्मा दिएको हो । स्थायी कमिटीले सर्वसम्मत नभए लोकतान्त्रिक विधि अवलम्बन गर्ने निर्णय लिएपछि नवौँ महाधिवेशनमा देखिएको गुटका प्रेत जागेका र कतिपयले चुनावअघि बनेको समीकरणका कारण मुख्यमन्त्रीमा आकांक्षा राखेका एमाले नेताहरूको बुझाइ छ ।

माओवादी केन्द्रसँग नेतृत्वले सहमति गरेपछि एमालेभित्र मुख्यमन्त्रीको विषयलाई लिएर अस्वस्थ प्रतिस्पर्धासमेत देखिएको छ । स्थायी कमिटीले निर्देशन दिनुअघिसम्म प्रदेश–१ मा शेरधन राई, ३ मा अष्टलक्ष्मी शाक्य र ४ मा पृथ्वीसुब्बा गुरुङको निर्णय हुने भन्दै बसेको प्रदेशसभामा जितेका प्रभावशाली नेताहरू अहिले तीव्र धु्रवीकरणमा देखिएका छन् । उनीहरूले आफ्नो पक्षमा संकेत गरिदिन अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल र महासचिव ईश्वर पोखरेललाई पटक–पटक आग्रह गरेको एक नेताले बताए ।

आकांक्षीको चर्काे दबाब र धम्कीका बाबजुद अध्यक्ष ओलीदेखि महासचिवसम्मका कुनै नेता कतै खुलेका छैनन् । अध्यक्ष ओलीले त आफू अध्यक्षका रूपमा रहेकाले कसैलाई बोक्न नमिल्ने र कसैलाई पनि वचन नदिएको भन्दै आफ्नो बुतामा जितेर आउन शुभकामना दिएका छन् । मुख्यमन्त्रीका आकांक्षीहरूले यो विषयलाई चुनावबाटै टुंग्याउने भन्दै आन्तरिक गृहकार्य अघि बढाएका हुन् । एमालेभित्र प्रदेश–१ मा सचिव आचार्य, पोलिटब्युरो सदस्य राईसँगै अर्का नेता जीवन घिमिरे मुख्यमन्त्रीका दाबेदार हुन् । तीन जनाबीच प्रतिस्पर्धा देखिए पनि सचिव आचार्य र नेता घिमिरे दाबेदार छन् ।

तीनै जना नेता चुनावबाट आफूले सहज जित निकाल्नेमा ढुक्क देखिन्छन् । प्रदेश–३ मा उपाध्यक्ष शाक्य, नेता पाण्डे, पौडेलसँगै सानु श्रेष्ठ, कैलाश ढुंगेल, केशव स्थापित आकांक्षी छन्, तर अन्तिममा शाक्य, पाण्डे र पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । पाण्डेले शाक्यलाई छाडेको अवस्थामा सर्वसम्मत हुने अवस्था पनि कायमै रहेको प्रदेश–३ का सांसदहरू बताउँछन् । तर, पाण्डेले आफूलाई सबै सांसद र नेताले प्रदेश–३ को समृद्धिको नेतृत्व गर्न सुझाएका कारण पछाडि हट्ने अवस्थाको कल्पना नै गर्न नसक्ने बताइरहेका छन् ।

प्रदेश–४ मा चुनाव भिड्न लागेको किरण र पृथ्वी पनि आफू जित्ने सूची बनाएर बसेका छन् । संगठन विभागमा समेत रहेका सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङबीच प्रतिस्पर्धा हुँदा दुई-तीन मतको अन्तरमा दलको नेता चुनिने अवस्था छ । तर, दुवैको आँकडा तलमाथि हुने देखिएको छ । किरणलाई बोकिरहेका सांसदले मन्त्रीका लागि पृथ्वीसुब्बालाई मत दिने र पृथ्वीसुब्बालाई बोकिरहेकाले किरणलाई सघाउने अवस्थासमेत रहेको स्रोतले बतायो ।

सहजै चुनाव जित्ने आकलन गरे पनि चुनावी सर्वेक्षणमा तीन वटै प्रदेशका प्रमुखहरू अंकगणितमा डेन्जर जोनमा देखिएका छन् । ‘प्रमुखले जित्छन् भन्ने छैन, कडा प्रतिस्पर्धा छ, प्रदेश प्रमुखहरू डेन्जर जोनमा छन् भन्ने नै अहिलेको यथार्थ हो,’ प्रदेशसभामा निर्वाचित तीन वटै प्रदेशका सांसद भन्छन् । उनीहरूको बुझाइमा शीर्ष नेताको ग्रिन सिग्नलविना प्रदेश प्रमुखले चुनाव जित्ने अवस्था छैन । आजको सौर्य दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement