फेसबुकमा स्ट्याटस लेख्दा उपसचिवलाई स्पष्टीकरण


काठमाडौं – कर्मचारी सरुवाका विषयमा फेसबुक स्ट्याटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवसँग स्पष्टीकरण लिएको छ। शिक्षा सचिव खगराज बरालले उपसचिव ईश्वरी पोखेरेललाई ‘किन कारबाही नगर्ने’ भनी तीनदिने स्पष्टीकरण लिएका हुन्।

पोखरेलले शिक्षाका उपसचिवहरूलाई नगरपालिकामा खटाएको र मन्त्रालयले फेसबुक मार्गनिर्देशन जारी गरेको विषयमा स्ट्याटसमार्फत असन्तुष्टि पोखेका थिए। शिक्षा मन्त्रालयले कात्तिक १३ गते आफ्नो मातहतका कर्मचारी, शिक्षक र प्राध्यापकलाइ फेसबुक सञ्चालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको थियो, जसमा मन्त्रालयका गतिविधिको समर्थन गर्न पाइने तर खण्डन गर्न नपाइने उल्लेख छ।

मार्ग निर्देशनले व्यक्तिगत स्वतन्त्रतामा समेत अंकुश लगाउन खोजिएको भन्दै चौतर्फी विरोध भइरहँदा पोखरेलले कात्तिक १६ गते स्ट्याटस लेखी मन्त्रालयका गतिविधिबारे प्रश्न उठाएका थिए। उनले मंगलबार प्रधानमन्त्री, शिक्षामन्त्री लगायत सरकारका विभिन्न निकायलाई स्पष्टीकरण पठाएका छन्। पोखरेलले मार्गनिर्देशनले त्रास बढेको इंगित गरेका छन्। ‘शिक्षमन्त्री र सचिव उदाहरण बनुन्, सलाम ठोकिन्छ तर अन्याय सहिन्नँ’, उनले लेखेका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement