कसले तर्साउँदै छ भुटानलाई ?


२६ जुन २०१७ मा टाइम्स अफ इन्डियाले चिनियाँ र भारतीय सेना सिक्किम बोर्डरमा झडपमा उत्रिएको भन्ने किसिमको भिडियो सार्वजनिक गरेको थियो । जसमा चिनियाँ सेना भारतीय भूमिमा प्रवेश गरेको बताइएको थियो । यो भिडियोमा चीन आक्रामक र चिनियाँ सेना अति क्रुद्ध रहेको देखाउन खोजिएको थियो ।  केही दिनपछि यो विवादमा भारतीय भूमिमा केही नभएको भन्ने विवरण सार्वजनिक भयो र यो विवाद चीन–भुटानको सीमातर्फ मोडियो । अहिलेसम्म चिनियाँ र भारतीय सञ्चारमाध्यमहरुले आफ्नो मुलुकको पक्षमा वकालत गर्दा आएका छन् र एक अर्कालाई आरोप लगाउँदै आएका छन् ।

चिनियाँ सञ्चारमाध्यमहरुले भारतलाई यो निकै नमिठो पाठ हुने, सन् १९६२ युद्धको भन्दा ठूलो नोक्सानी हुनेलगायतका विभिन्न किसिमको चेतावनी दिइरहेको छ । साथै एक सम्पादकीयमा चिनियाँ सञ्चारमाध्यमले भुटानलाई भारतले एक प्रान्तको हिसाबले चलाइरहेको उल्लेख गरेका थिए । यसमा भारतले भुटानलाई आफूलाई सहयोग गर्नका लागि बाध्य पारेको बताइएको थियो ।
यसैबीच भारतीय सञ्चारमाध्यमहरुले भने चीन विश्वको सबैभन्दा बढी भयभीत पार्ने मुलुक, सामाज्यवादी राष्ट्रलगायतका आरोप लगाउँदै आएका छन् । उनीहरुले ठूलो मुलुक चीन भुटानमा आफ्नो प्रभाव बलियो बनाउँदै भारतबाट सालामी स्थान खोसेको जस्तै गरी आफ्नो पक्षमा पार्ने दाउमा रहेको बताउँदै आएका छन् ।

दुई पक्षको बीचमा यस किसिमको आरोप÷प्रत्योरोप चलिरहेको अवस्थामा भुटानी सञ्चारमाध्यमहरु भने मौन देखिन्छन् । यस विषयमा भुटानको तर्फबाट कुनै आक्रामक   विवरण आएको छैन ।  किन उनीहरु यस विषयमा मौन छन् त ? बहुसंख्यक भुटानीहरुमा विकट, बाँझो र उच्च उचाइमा रहेको डोक्लाम प्लाटेउमा कुनै चासो नरहेको देखिन्छ । त्यसैले उनीहरु यो विषयमा कुनै टिकाटीप्पणी पनि गर्न चाहँदैनन् ।
यद्यपि भारतको लागि भने ८९ वर्गकिलोमिटरको क्षेत्र निकै महत्वपूर्ण रहेको देखिएको छ । २१ किलोमिटरको सीमाना भारतको लागि निकै महत्वपूर्ण रहेको छ । चीन यो स्थानमा आइपुगेको खण्डमा उसको उत्तरपूर्वको क्षेत्र कमजोर बन्ने डर भारतलाई रहेको छ । त्यसैले भुटानको मौन पनि उसको लागि राम्रो संकेत भने होइन ।

गएको जुलाई ३ तारिखका दिन भारतको फस्टपोस्टको हेडलाइन भुटानले पहिलोपटक चीनको विरुद्धमा मुख खोल्यो भन्ने रहेको थियो । यसमा भुटान पहिलोपटक चीनको विरुद्धमा उत्रिएको र भारतलाई सहयोग गर्ने पक्षमा देखिएको भन्ने उल्लेख गरिएको थियो । यस किसिमको चित्रणले अर्को महत्वपूर्ण प्रश्न के उब्जाएको छ भने वास्तवमा कुन मुलुकले घुटानलाई डर देखाइरहेका छन् ? भुटानको भूमिमा भारतीय सेनाहरु के गर्दै छन् ? वास्तवमा कुन मुलुकले भुटानको सार्वभौमसत्ता र स्वतन्त्रतामाथि प्रहार गरिरहेको छ ? भारत वा चीन ?

वास्तवमा भारतले भुटानमा पछिल्लो ५० वर्षयता आफ्नो सेनाको बलियो उपस्थिति बनाइराखेको छ । साथै भुटानी नागरिकहरुमा उसले आफ्नो शक्ति र प्रभाव विस्तार गरिरहेको छ । भुटानको विकट स्थान, जुन भारत र भारतीयको पँहुचभन्दा निकै टाढा छ, त्यहाँ पनि भारतीय सैनिकहरु आफ्नो अधिकार जमाएर बसेका छन् र स्थानीय भुटानीहरुको दैनिक गतिविधिमा नियन्त्रण गरिरहेका छन् । भुटानमा अहिले भारतीय सेनाका ट्रकहरु विना कुनै अवरोध प्रवेश गर्ने गरेका छन् । जसलाई भुटानी अधिकारीहरु पनि रोक्न सक्दैनन् । भारतले भुटानको एक क्षेत्र नै पछिल्लो एक दशकदेखि आफ्नो कब्जामा राखेको छ र त्यसलाई अहिलेसम्म फिर्ता गर्ने संकेतसम्म पनि देखाएको छैन ।

मननीय कुरा के छ भने भुटानको सीमामा चीनले निर्माण गरिरहेको सडक भारतीय सेनाले रोकेको थियो । यस किसिमको अवरोध गर्नुको पछाडि चीन भारतीय भूमिमा सडक निर्माण गरिरहेको बताइएको थियो । यसले के स्पष्ट पार्छ भने भुटानको सार्वभौमसत्तामा भारत अलिकति पनि संवेदनशील छैन । यो कुनै नौलो कुरा भने होइन, भुटानमा भारतीय सैन्य तालिम (इम्ट्राट)का प्रमुख र भारतीय राजदूत राजधानी सहरको सबैभन्दा राम्रो महलमा बस्ने गरेका छन् र उनीहरु सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा रहने गरेका छन् ।
जब भुटानले एसियन विकास बैंकबाट पूर्व–पश्चिम राजमार्ग निर्माणको लागि केही रकम पाउने भएको थियो, त्यतिबेला भारतले असाम र पश्चिम बंगालमा भएको आन्दोलनपछि भारतले यो योजना रोकेको थियो । यसले भुटानीहरुको यात्रा अहिले पनि कठिन हुने गरेको छ । यो राजमार्ग बनेको खण्डमा भुटानमा पूर्व–पश्चिम यात्रा गर्न कसैको भर पर्नु पर्दैनथ्यो तर अहिले भुटान आफ्नो पूर्व–पश्चिम यात्राको लागि भारतको भर पर्दै आएको छ ।  साथै कहिलेकाँही भारतीयको दुव्र्यवहारको सामना पनि उनीहरुले सामना गर्दै आएका छन् ।

भुटान विश्वको एक मात्र मुलुक हो, जसको कुनै पनि सम्बन्ध संयुक्त राष्ट्रसंघका स्थायी सदस्य मुलुक (अमेरिका, बेलायत, फ्रान्स, चीन र रसिया) सँग छैन । यसको प्रमुख कारण भारत हो । भारत भुटानमा कुनै पनि मुलुकको सम्बन्ध विस्तार भएको सहन सक्दैन । यदि भुटानको समबन्ध अर्को कुनै मुलुकसँग विस्तार भएको खण्डमा यसले भारतको भुटानमाथिको मनोमानीमा असर पु¥याउनसक्ने भारतको संदेह रहेको छ ।
जापान लामो समयदेखि भुटानको मित्रराष्ट्रको रुपमा रहेको छ । जापानले भुटानको विभिन्न योजनाहरुमा सहयोग पनि पु¥याएको छ । त्यसैले जापान र भुटानको बीचमा थिम्पुमा जापानी दूतावास राख्ने सम्झौता पनि भएको थियो तर अन्तिम समयमा भारतले यो योजना पारित नगरेको कारण सम्झौता रद्द भएको थियो । सन् २०१० मा चीनले एक एक्स्पोका लागि भुटानलाई निम्ता दिएको थियो तर भारतले भुटानलाई यो एक्स्पोमा उपस्थित हुनबाट रोकेको थियो ।

त्यतिमात्रै होइन, भारतले भुटानको निर्वाचन र राजनीतिक मामिलामा पनि ठाडो हस्तक्षेप गर्ने गरेको छ । यसअघि भुटानका प्रधानमन्त्रीले एक सम्मेलनको क्रममा चिनियाँ अधिकारीसँग भेट गरेको आरोपमा भारतको हस्तक्षेपमा उनको पद गएको इतिहास छ । सन् २०१३ मा निर्वाचन हुनुभन्दा एक दिनअघि मात्रै भारतले भुटानमा रहेको आफ्नो सबै पेट्रोलियम पदार्थ हटाएर हाहाकार पारिदिएको थियो जसको उद्देश्य भुटानमा आफ्नो चाहनाको सरकार बनाउनु रहेको थियो । यो कदमले भुटानमा भारतको चाहनाअनुसारको सरकार आएको थियो ।

अहिले भारतले भुटानबाट जलविद्युत् आयात गरेर भुटानलाई नै ऋणको भारी बोकाउने काम गरिरहेको छ । भारतले चर्को ब्याजमा भुटानमाथि ऋणको भार थपिरहेको छ, जसको कारण भुटान आगामी दिनमा भारतसँग थप निर्भर हुनुपर्ने अवस्था आउने देखिन्छ । सन् २००६ को जुलाईमा भारत र भुटानको बीचमा १० ठूला आयोजनाबाट १० हजार मेगावाट विद्युत् उत्पादनको सम्झौता भएको थियो । उक्त आयोजनाहरुमा भएको ढिलाइको कारण त्यसको खर्च तेब्बरसम्म पनि पुग्यो । यद्यपि यस किसिमका ठूला आयोजनाहरुमा कुनै पनि वातावरणीय सम्झौता भने गरिएको थिएन । जसको मूल्य आगामी दिनमा भुटानले चुकाउनुपर्ने हुनसक्छ ।
(‘भुटानीज फोरम’ फेसबुक पेजको लेखको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस
Advertisement