ठगहरूको सम्पत्ति बेचेर पनि बचतकर्ताको रकम फिर्ता गरिन्छ : गृहमन्त्री लामिछाने


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगहरूको सम्पत्ति बेचेर पनि बचतकर्ताको रकम फिर्ता गरिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

शुक्रबार सहकारी पीडितलाई मन्त्रालयमा भेट्दै मन्त्री लामिछानेले सरकारले कारवाही प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए ।

गृहमन्त्री लामिछानेले सहकारीको समस्या जतिसक्दो छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रूपमै पत्र पेश गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठकले समस्या द्रूत प्रक्रियाबाट समाधान गर्ने निर्णय गरेको छ ।

आफ्ना समस्या सम्बोधनका लागि पहल गरिदिएकोमा धन्यवाद दिन पीडितहरू शुक्रबार गृह मन्त्रालयमा पुगेका बताइएको छ । पीडितहरूले सरकारको निर्णय छिटो कार्यान्वयन हुनेमा आशावादी रहेको बताएका छन् ।

भेटमा गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसकेको बताए ।

अब सरकारले सहकारी ठगहरू र आफन्तको नाममा रहेको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता हुने गरी काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement