सेनाको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास सुरु


काठमाण्डु – शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण सुरु भएको छ ।

मंगलबार जङ्गी अड्डा अगाडिको खेल मैदानमा आयोजित एक विशेष समारोहबीच अभ्यास सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पानसमा बत्ती बालेर शुभारम्भ भएको अभ्यास आगामी फागुन २१ गतेसम्म वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालन हुनेछ ।

अभ्यास शान्ति प्रयास ४ संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पीस अपरेसन इनिसिएटिभ (जीपीओआई) को सहयोगमा नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा आयोजना हुन लागेको छ ।

नेपाल समेत १९ देशका १ हजार १२५ जनाको सहभागिता रहने अभ्यासको उद्घाटन समारोहलाई सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्रहरूलाई अभ्यासमा सहभागिताका लागि धन्यवाद व्यक्त गर्दै संयुक्त राष्ट्रसंघका शान्ति स्थापना प्रयासहरूमा देखाएको समर्पण र प्रतिबद्धताको प्रशंसा गरे ।

उनले संयुक्त राष्ट्रसंघलाई शान्ति सैनिक र प्रहरी उपलब्ध गराउने देशहरूमा नेपाल अहिले शीर्ष स्थानमा रहेको र आवश्यक परेमा १० हजारसम्म फौज उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।

प्रधानसेनापति प्रभुराम शर्माले कार्यक्रममा मन्तव्य राख्दै नेपालले सन् २००२, सन् २०१३ र सन् २०१७ मा अभ्यासका ३ वटा संस्करणहरू सञ्चालन गरिसकेको बताए । उनले संयुक्त राष्ट्रसंघको कार्यादेश अनुरूप विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिँदा शान्ति सैनिकहरूबीच एकआपसमा पारस्परिक सम्बन्ध तथा व्यावसायिकता अभिवृद्धिमा अभ्यास फलदायी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संयुक्त राज्य अमेरिकाकी उपसहायक सचिव राहेल शिलरले नेपालले विभिन्न शान्ति मिसनहरूमा शान्ति सैनिकहरू खटाई विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपालमा चौथो संस्करणको अभ्यास शान्ति प्रयास सञ्चालन हुनुले नेपालको विश्व शान्तिप्रतिको प्रतिबद्धता अझ उजागर गरेको उल्लेख गरे ।

कार्यक्रममा सहभागी राष्ट्रहरूको फ्ल्याग डिस्प्ले, फ्लाई पास्ट, व्याण्ड डिस्प्ले र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

अभ्यासमा बंगलादेश, फिँजी, घाना, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, नेपाल, श्रीलंका, थाइल्यान्ड, उरुग्वे, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, भियतनामका सैनिकहरू सहभागी छन् ।

उद्घाटन कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव डा. बैकुण्ठ अर्याल, पूर्व प्रधानसेनापतिहरू, विभिन्न मन्त्रालयका सचिवहरू, महामहिम राजदूतहरू, बलाधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द तथा अधिकृत, सैनिक सहचारीहरू लगायत सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement