सेनापति थापाको १ वर्ष : विकृति फैलाउनेको भागाभाग, आर्थिक अनुशासनमा जोड (भाग–२)


काठमाडौं –  नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको पहिलो वर्ष सेनामा सुधारका लागि थुप्रै प्रयास गरे । विकृति हटाउन र समस्या निराकरण गर्न नीति, निर्देशिका र निर्देशन दिए ।

सेनापति थापाले सेनाभित्र सुधारका लागि निरोधात्मक प्रयासले मात्रै पुगेन, उपचारात्मक विधि समेत अपनाउनु प¥यो । विकृतिमा संलग्न सैनिक अधिकार र सदस्यलाई कारवाही समेत गर्नुप¥यो ।

सेनाभित्र हुने सबैभन्दा पुरानो र ठूलो विकृति हो – सैनिक भर्ना प्रक्रियामा हुने आर्थिक लेनदेन । यो विकृतिलाई नजिकबाट देखेका सेनापति थापाले आर्थिक लेनदेन, भनसुन, नातागोता हाबी हुने समस्या अन्त्यका लागि आवश्यक निर्देशन दिएका थिए, नीति बनाएका थिए ।

घुसखोरलाई कारवाही

आर्थिक लेनदेन, अनियमितता र भनसुन कार्यमा संलग्न ३ अधिकृत, १ पदीक र १६९ अन्य दर्जा समेत गरी १७३ जनालाई सैनिक ऐन बमोजिम कारवाही गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । उनका अनुसार २१ अधिकृत, ५ जना पदीक र ५ अन्य दर्जा समेत ३१ जनालाई सचेत समेत गराइएको छ ।

सैनिक भर्ना प्रक्रियालाई पारदर्शी, वैज्ञानिक र कानूनसम्मत बनाउन प्रक्रियागत सुधार समेत गरिएका छन् । छनौट प्रक्रियाका क्रममा विद्युतीय हाजिरी र जैविक परिचयको व्यवस्था, सीसीटीभीको प्रयोग गरेर भर्ना प्रक्रियालाई पारदर्शी बनाउन भरमग्दुर प्रयास गरिएको सैनिक स्रोतले जनाएको छ । सुधारका अनेक प्रयासका बाबजुद अनैतिक क्रियाकलापमा संलग्नतालाई कडाभन्दा कडा कारवाही गर्ने नीति सेनापति थापाले लिएका छन् ।

नक्कली प्रमाणपत्रधारीको भागाभाग

शैक्षिक योग्यता र नागरिकताको नक्कली र कीर्ते प्रमाणपत्रका आधारमा जागिर खाने र बढुवामा पर्ने व्यक्ति समेत कारवाहीमा परेका छन् । सेनापति थापाले नेतृत्व सम्हालेपछि सैनिक सकलदर्जाका प्रमाणपत्रमाथि छानबिन गरिएको छ । छानबिनका क्रममा कैफियत देखिएका प्रमाणपत्रधारीलाई कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

थापाले नेतृत्वमा आएपछि नेपाली सेनामा कार्यरत सकलदर्जाको शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता लगायत कागजातको बृहत् छानबिन गरिएको छ । प्रमाणपत्र गलत देखिएपछि कारवाहीमा पर्ने डरले केही व्यक्तिले सैनिक सेवा नै छाडेर गएका छन् । प्रमाणपत्रमा कैफियत देखिएपछि ११ जना अन्य दर्जा र १ जना अधिकृतलाई सैनिक ऐन बमोजिम कारवाही गरिएको प्रवक्ता पाण्डेले बताए । उनका अनुसार अन्य केहीलाई कारवाहीको दायरामा ल्याउन छानबिन भइरहेको छ ।

आर्थिक अनुशासनमा जोड

सैनिक संगठनभित्र आर्थिक अनुशासन कायम गर्न समेत सेनापति थापाले विशेष नीति लागू गरेका छन् । आर्थिक अनियमितता र भ्रष्टाचारलाई शून्य सहिष्णुताको नीति, नेपाली सेनाको बजेट आचारसंहिता २०७५, बजेट सम्बन्धी आन्तरिक निर्देशिका २०७५ लागू गरिएको छ । सैनिक संगठनको बजेटलाई सदुपयोग गर्न र दुरुपयोग रोक्न बजेट कार्यान्वयनको अनुगमनलाई प्रभावकारी बनाइएको प्रवक्ता पाण्डेले बताए ।

‘बजेट सदुपयोग र भ्रष्टाचार रोक्ने प्रयास गर्दागर्दै पनि केही व्यक्तिगत लाभका लागि बजेट दुरुपयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याएर दण्डित गरिएको छ,’ उनले भने । आर्थिक सुशासन र बजेट सदुपयोगको अवस्था अध्ययन गर्न सेनापतिबाट उच्च स्तरीय आन्तरिक समिति गठन गरिएको छ । आर्थिक सुशासन कायम नगर्नेलाई कडा कारवाहीको नीति  लिइएको छ ।

सैनिक संगठनमा कार्यरत सदस्यलाई नैतिकवान र मर्यादित बनाउन गर्न हुने, गर्न नहुने र गर्नैपर्ने कार्यको बारेमा सुसूचित गराउन सैनिक आचारसंहिता संग्रह २०७६ प्रकाशन गरी वितरण गरिएको छ । बैशाख महिनालाई सैनिक आचारसंहिता सप्ताहका रुपमा बृहत् रुपमा मनाइएको छ । गलत नियत वा अज्ञानताले हुनसक्ने अनपेक्षित कार्य न्यूनीकरण गर्न साक्षरता कार्य सहयोगसिद्ध हुने सैनिक नेतृत्वले विश्वास लिएको छ । 

(सैनिक संगठनभित्र सुधार गर्ने र विकृति हटाउने प्रयास सँगसँगै दीर्घकालीन महत्त्वका संरचनागत समृद्धिका काम भइरहेका छन् । के–के हुन् त सेनामा समृद्धि ल्याउने काम ? विस्तृत आगामी भागमा । ( सम्पादक)

यो पनि पढ्नुहोस् –

सेनापति थापाको १ वर्ष : सैनिक जवान तहसम्मै उत्प्रेरणा र सुखद सञ्चार (भाग–१)

प्रतिक्रिया दिनुहोस
Advertisement