सेनापति थापाको १ वर्ष : सैनिक जवान तहसम्मै उत्प्रेरणा र सुखद सञ्चार (भाग–१)


काठमाडौं – केही वर्षयता सुरक्षा निकायबाट राजीनामा दिने र वैदेशिक रोजगारीमा गएर सुरक्षा गार्ड बन्ने प्रचलन बढ्दै गइरहेको थियो । नेपाली सुरक्षा अंगभित्रको न्यून सेवासुविधा र बेथितिले प्रहरी–सैनिक कर्मचारीमा वितृष्णा फैलाएको थियो ।

राजीनामा प्रचलन प्रहरी र सैनिक संगठनभित्र गम्भीर समस्याको रुपमा देखिनसक्ने अवस्थामा थियो । सुरक्षा निकायका कर्मचारीलाई संगठनभित्र राख्ने र नयाँलाई आकर्षित गर्ने चुनौतीबीच नेपाली सेनाको नेतृत्वमा प्रधानसेनापति पूर्णचन्द्र थापा आए ।

२०७५ भदौ २४ गते प्रधानसेनापतिको पदभार सम्हालेका थापाले संगठन शुद्धीकरण र सुदृढीकरणलाई मुख्य जिम्मेवारी बनाए । आन्तरिक विकृति हटाउने र सैनिक सदस्य र परिवारको कल्याण र सेवासुविधामा ध्यान दिए । उनले कार्यभार सम्हालेको एक वर्षमा नेपाली सेना आकर्षक संगठनका रुपमा विकास भइरहेको छ ।

शान्ति सेना मिसनमा समान अवसर

नेपाली सेनाभित्र आकर्षक अवधि भनेको शान्ति सेना मिसन हो । आर्थिक रुपमा समेत आकर्षक र अनुभवका हिसाबले समेत महत्त्वपूर्ण मानिने मिसनमा भनसुन र नातागोता विकृति थियो । राजनीतिक भनसुन गर्न नसक्ने सैनिक सदस्य मिसनमा जान पाउने सुनिश्चित थिएन ।

प्रधानसेनापति थापाले हरेक सैनिक सदस्य आफ्नो कार्यकालमा कम्तिमा एकपल्ट मिसन जान पाउने सुनिश्चित गरेका छन् । उनले व्यक्तिगत प्रयास मात्रै नभइ नेपाली सेनामा प्रणालीगत सुधार गरेका छन् । शान्ति सेना छनौट निर्देशिका–२०७५ लागू गराएर उनले व्यक्तिवाद अन्त्य गरेका छन् भने प्रणालीका आधारमा शान्ति सेना छनौट गर्ने पद्धति विकास गरेका छन् ।

सेनापति थापाले सैनिक संगठनभित्र चिनजान, भनसुन, नातागोताका आधारमा लाभदायक निर्णय गर्दा चरम असन्तुष्टि र संगठनमाथि अनावश्यक हस्तक्षेप हुने देखेर सुधारका प्रयास गरे । ‘चेन अफ कमाण्ड’मा चल्ने सैनिक संगठनमा नेतृत्वले चाहेपछि सुधार सम्भव भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । ‘सेनापति थापाले नेतृत्व सम्हालेको एक वर्षमै सैनिक सदस्यमा सुखद सञ्चार भएको हाम्रो आन्तरिक अध्ययनबाट देखिएको छ,’ प्रवक्ता पाण्डेले भने ।

व्यक्तिवादको अन्त्य, प्रणालीको विकास

प्रधानसेनापति थापाले सैनिक संगठन व्यक्तिवादमा नभई प्रणालीका आधारमा चल्नुपर्ने कुरालाई नीतिगत रुपमै कार्यान्वयनमा लगेका छन् । उनले एक वर्षे अवधिमा सुधारका लागि विभिन्न नीतिगत व्यवस्था गरेका छन् । 

‘सैनिक संगठनलाई व्यक्तिवादबाट नभइ प्रणाली र पद्धतिबाट चल्ने संगठन बनाइएको छ । व्यक्तिवाद हाबी हुँदा मानवीय त्रुटि र व्यक्तिगत स्वार्थ हाबी हुने समस्यालाई प्रधानसेनापति थापाले सुधार्न खोज्नुभएको छ,’ प्रवक्ता पाण्डेले भने, ‘अधिकांश सैनिकको हितमा हुने गरी सैनिक सेवा नियमावलीमा संशोधन गरिएको छ ।’

सैनिक संगठनलाई प्रणालीअनुसार चलाउन शान्ति सेना छनौट निर्देशिका–२०७५, सैनिक आचारसंहिता संग्रह २०७६, आर्थिक परिचालन सम्बन्धी नीतिगत व्यवस्था गरी करीब १५० बढी कार्यविधि, निर्देशिका, परिपत्र जारी गरी कार्यान्वयन गरिएका छन् ।

सैनिक संगठनभित्रको विकृति हटाउन र आवश्यक सुधार गर्न कमाण्ड प्रतिवद्धता (कार्यसम्पादन सम्झौता), कमाण्ड समापन प्रतिवेदन, सरुवा तथा बढुवा निर्देशिका, शिक्षित बनाउने कार्यक्रम लगायत सञ्चालन गरिएका छन् । सैनिक संगठनमा सुधार हुँदै गएपछि त्यसबाट हरेक सैनिक सदस्यलाई लाभ मिल्ने भएकाले सैनिक संगठनमा उत्प्रेरणा र आकर्षण बढ्दै गएको छ ।

प्रधानसेनापति नजिकका विश्वासपात्र र आसेपासेलाई विभिन्न पदक र सम्मानमा गरिँदै आएको सिफारिशलाई सेनापति थापाले रोकेका छन् । नेपाली सेनाको रेकर्ड अनुसार यसपालि पदक र विभुषण सिफारिसमा ज्यादै न्यून मात्रामा सैनिक सदस्य परेका छन् । साँच्चिकै पदक पाउन लायक काम गर्नेलाई मात्रै यसपालि सिफारिश गरिएको सैनिक स्रोतले जनाएको छ ।

नीति बनाउँदा छलफल, समस्या र गुनासाको सुनुवाइ

सैनिक संगठनभित्र सुधारका कार्य गर्दा पनि सेनापति थापाले एक्लै निर्देशनात्मक रुपमा गरेका छैनन् । उनले सहभागितात्मक सुधार गरेका छन् । आवश्यक सुधारका काम गर्नुअघि सबै सैनिकको प्रतिनिधित्व हुने गरी छलफल गरेर निर्णय लिने गरिएको प्रवक्ता पाण्डेले बताए ।

‘संगठनमा दीर्घकालीन प्रभाव राख्ने निर्णय लिँदा छलफल र सहभागितामा आधारित निर्णय लिने प्रणाली अवलम्बन गरिएको छ,’ उनले भने । सैनिक सेवा नियमावली संशोधन लगायत कार्यविधि र निर्देशन जारी गर्नुपूर्व सरोकारवाला सबै पक्षको प्रतिनिधित्व हुने गरी घनिभूत छलफल गरिएको नेपाली सेनाले जनाएको छ । सहभागितात्मक निर्णयमा सबैको अपनत्व हुने र कार्यान्वयन गर्न सहज हुने तथ्यलाई सेनापति थापाले आत्मसात गरेका छन् । संगठनभित्र सहभागितात्मक रुपमा विकृति हटाउँदा इमान्दारलाई प्रोत्साहन मिलेको छ ।

सेनापति थापाले कार्यभार सम्हालेलगत्तै २०७५ भदौमा अड्डा प्रमुखसमक्ष १ वर्षका लागि कार्यसम्पादन सम्झौता गरे । सम्झौता अनुसार काम भए÷नभएको आधारमा प्रमुखको मूल्यांकन गर्ने, आवश्यक सुधार गर्ने र योजनाको प्रभावकारी कार्यान्वयन गर्नेतिर सैनिक संगठन अगाडि बढेको छ ।

थापाले १ वर्षे अवधिमा संगठन सुदृढीकरण अभियान सञ्चालन गरेका छन् । सैनिक सदस्यलाई उच्च नैतिक चरित्रवान बनाउने लक्ष्य लिएको छ । अभियान निरन्तर जारी रहेको छ । सैनिक नेतृत्वसँग सकलदर्जाको संवाद गरिएको छ । जसबाट संगठनभित्र ऐन, नियम, नीति, आदेश, निर्देशिकामा थप स्पष्ट हुने अवसर मिलेको नेपाली सेनाले जनाएको छ ।

गत वर्ष उपहार, लेनदेन, आर्थिक अनियमितता र भनसुनका घटनामा आधारित नेतृत्व संवाद भएको थियो । ‘चालू वर्षमा यौनजन्य शोषण र दुव्र्यवहार, स्वार्थको द्वन्द्व तथा अधिकारको दुरुपयोग विषयमा नेतृत्व संवाद कार्यक्रम हुँदैछ,’ सैनिक स्रोतले भन्यो । कार्यक्रमका क्रममा कर्तव्य, जिम्मेवारी र अधिकारको बोध गराउन शिक्षित गराउने कार्य भइरहेको छ ।

संगठनका सदस्यको समस्या र जायज गुनासो सुनेर उचित सम्बोधन गर्ने कार्यको समेत सेनाभित्र सुरुवात भएको छ । सैनिक सदस्यले कमाण्डरसँग निर्धक्कसँग पीरमर्का राख्ने वातावरण बनाइएको छ । संगठनभित्र गुनासा तत्काल सम्बोधन हुने वातावरण बनाइएको छ भने कमाण्डरबाट सम्बोधन गर्न पहल नभएमा सुझाव पेटिका तथा हटलाइन सेवालाई शिकायत जाँच निर्देशनालयमार्फत् कडाइका साथ लागू गरिएको छ । यसबाट सैनिक संगठनप्रति सदस्यले अपनत्वबोध गर्ने वातावरण बनेको नेपाली सेनाले जनाएको छ ।

कल्याणकारी कदम

सैनिक संगठनप्रति आकर्षण बढाउन कल्याणकारी कार्यलाई समेत प्रभावकारी बनाउने कदम चालिएको छ । विगतदेखि हुँदै आएका कल्याणकारी कार्यलाई आवश्यकता अनुसार समानता र समतामा आधारित गरेर पुनरावलोकनसहित विस्तार गरिएको सैनिक प्रवक्ता पाण्डेले बताए ।

‘सेनामा सेवारत र सेवानिवृत्त सैनिक व्यक्तिका सन्तानका लागि प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न प्रभू बैंकको सहकार्यमा सहुलियत व्याजदरमा २५ लाख शैक्षिक ऋण उपलब्ध गराउने सम्झौता कार्यान्वयनमा आएको छ,’ उनले भने, ‘यो सम्झौताबाट सैनिकका सन्तानलाई ठूलो राहत मिलिरहेको छ ।’

सैनिक अस्पतालबाट प्रदान हुने सेवासुविधालाई प्रभावकारी र सहज बनाउने कार्यको समेत थालनी भएको नेपाली सेनाले जनाएको छ । सैनिक विद्यालय ७७ वटै जिल्लामा विस्तार गर्ने योजनाले सकलदर्जाका सन्ततीले उल्लेख्य सुविधा प्राप्त गर्ने नेपाली सेनाले जनाएको छ ।

सैनिक कल्याणकारी कोषको प्रभावकारी परिचालनका लागि ४ ‘स’को अवधारणा अगाडि बढाइएको छ । जसमा स्वास्थ्य, शिक्षा, सीप तथा स्वरोजगार र सहुलियत सुविधा समावेश छन् ।

सैनिक संगठनप्रति आकर्षण बढाउन र सैनिक सदस्यमा उत्प्रेरणा बढाउन आन्तरिक सुधार, समान अवसर र कल्याणकारी कार्यलाई प्रभावकारी बनाइएको छ । सैनिक सदस्यलाई मिल्ने समान र आकर्षक अवसर, परिवारका सदस्यलाई मिल्ने शिक्षा, स्वास्थ्य सुविधा र सेवा निवृत्तपछि समेत कल्याणकारी कार्यक्रमबाट लाभ लिन सकिने भएकाले सैनिक संगठनप्रति आकर्षण बढ्दै जाने देखिएको छ ।

(सैनिक संगठनभित्र सुधारका प्रयास गर्दा सेनापतिको निर्देशनले मात्रै पुग्यो कि कारवाही समेत भयो ? कति जनालाई कारवाही भयो ? संगठनभित्रका विकृति कसरी न्यूनीकरण हुँदैछन् ? विस्तृत आगामी भागमा । – सम्पादक)

प्रतिक्रिया दिनुहोस
Advertisement