चीनले नेपाललाई आर्थिक सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर


काठमाण्डु – चीनले नेपाललाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित समारोहबीच अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरेका छन् ।

सहयोग संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड, नीति र योजना बनाउने तथा वैदेशिक सहायता सम्बन्धी सुधारका एजेन्डामा काम गर्दै आएको छ ।

अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशोधन विकास सहयोग सम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

सम्झौताअनुसार चीनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ ।

सेवा सञ्चालनका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement