नेपाली कमेडीमा विक्कीको नयाँ ‘मेन्यु’


काठमाण्डु – नेपालकै पहिलो रियालिटी सो कमेडी च्याम्पियन सिजन–२ को टप ४ मा दर्शकहरुले नयाँ स्वाद लिन पाए । शनिबार च्याम्पियनको टप ३ का लागि भएको प्रतिष्पर्धामा भारतको सिक्कीमका विक्की अग्रवालले नेपाली दर्शकलाई नयाँ स्वाद दिएका हुन् ।

उनको उक्त प्रस्तुती नेपाली कमेडी क्षेत्रमा नौलो अभ्यासको सुरुवात हो । युरोपमा निकै प्रख्यात रहेको प्यान्टोमाइमको अभ्यास उनले नेपाली कमेडीको मञ्चमा पस्किएका हुन् ।

नेपाली कमेडी क्षेत्रमा विक्कीको प्रस्तुती नौलो र उत्कृष्ट भएपनि निर्णायक मण्डलका सदस्यबाट भने खासै राम्रो प्रतिकृया पाउन सकेनन् । निर्णायक मण्डलका ४ जनामध्ये ३ जनाले उनको मिहेनतको प्रशंशा गरेपनि नेपाली हाँस्य जगतका महान हस्ति सन्तोष पन्तले भने विक्कीको प्रस्तुतीलाई मजाकमा उडाए । कला र गलाको कुनै सिमा नहुने भनिएपनि सन्तोषले कुनै भेग विशेषले मात्र बुझ्ने खाले प्रयोग गरेको भन्दै असन्तुष्टि पोखे ।

अचम्मत के भने सन्तोषले प्यान्टोमाइम नै नबुझेको बताए । प्यान्टोमाइम कमेडी विधाकै एउटा महत्वपूर्ण पाटो भएपनि निर्णायकबाट यस्तो प्रतिक्रिया आउनुलाई अधिकांशले अस्वभाविक रुपमा लिएका छन् ।

पन्तले विक्कीको प्रस्तुतिपछिको प्रतिक्रियामा भने, ‘नयाँ कन्टेन्टका लागि बधाई छ । तर, हरेक ठाउँको आ–आफ्नो स्वाद हुन्छ । हाम्रो हाँस्ने इस्टाइल नै फरक छ । युरोपियनहरु स–सानो कुरामा हाँस्छन् । तर, हाम्रो समाजको कमेडी टेस्ट र उनीहरुको कमेडी टेस्ट मिल्दैन,’ उनले भने, ‘यो प्रयोग तिम्रो लागि गाह्रो छ । हाम्रो समाजले यो बुझ्दैनन् । मैले त बुझिनँ अरुको के कुरा ? कमेडीको च्याम्पियनमा फिलोसपी त भयो तिमिले प्रस्तुती देखायौ तर, हाँसो आएन । कोही हास्नु भयो ? अर्को ताली यस्तो प्रयोग भन्दा हाम्रो आफ्नै टेस्ट छ त्यसैलाई फोकस गर ।’

सन्तोष पन्तको नेगेटिभ कमेन्टले निराश बनेका बिक्की त्यसपछि बोल्न सुरु गरे– हिजो बेलुकासम्म स्ट्याण्डअप गर्ने कि प्यान्टो माइम गर्ने भन्ने थियो । नेपाली कमेडिमा नयाँ स्वाद पस्किने सोचका साथ प्यान्टो माइम गर्ने निर्णयमा पुगें । च्याम्पियनबाट निस्किएँ भने पनि निस्कियोस् तर, प्यान्टोमाइम गर्छु भन्ने भयो ।

त्यसपछि सन्तोष पन्त बाहेकका अरु तीन जना जजहरु मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्माले उठेर बिक्कीको कुरामा सहमती जनाउँछन् । तर, सन्तोष पन्त टसमस गर्दैनन् ।

दर्शकको ताली पाउँदै गरेका बिक्की भावुक हुँदै थप्छन्, ‘मलाई प्यान्टोमाइम गर्दा ० प्रतिशत पनि रिग्रेट छैन् क्या ! म बाहिरिए पनि केही छैन् ।’

विक्कीले यति भन्दै गर्दा कमेडी च्याम्पियनमा मौनता छाउँछ । त्यसपछि गेस्ट जजको रुपमा पुगेका हाँस्य कलाकार किरण केसीको बोल्ने पालो आउँछ । उनले पनि विक्कीलाई सान्त्वना दिन खोज्दै फिल्मी स्टाइलमा भन्छन्, ‘विक्की दादा ! रसिलो, पोषिलो, उत्कृष्ट अभिनय ! यद्यपी तपाईले यो स्टेजबाट दर्शकहरुलाई हसाउन सक्नुभएन । तर, यसको मतलब यो होइन कि तपाईले कमेडी च्याम्पियनमा नेपाली कमेडी इतिहासमा एउटा च्यालेञ्ज म्याम गर्नुभयो – यसमा इतिहासमा तपाईको नाम रहन्छ । यहाँ हरर शब्द–शब्दमा हसाउने बेलामा नयाँ खालको एक्ट गर्छु भन्ने हौसला तपाईमा आयो यो बसेर भन्ने कुरै होइन् यो त उठेर भन्ने कुरा हो ।’

विक्कीको सम्मानमा उठेका किरण आफ्नो पुरानो कहानी सुनाउन सुरु गर्छन् । उनले नवयुग भन्ने गिती नाट्यमा स्व. श्यामदास वैष्टवको गिती नाट्यमा म्याम गरेको कुरा सुनाए । तर, दर्शकबाट किरणले राम्रो रेस्पोन्स पाएनन् । किनकी नेपाली नाट्य जगतमा उनको त्यो नौलो प्रयोग थियो । तर, त्यो बेलाको गोरखा प्रकाशन संस्थानले उनको बारेमा हाफ पेज छापेको थियो । उनका लागि त्यो ऐतिहासिक थियो र किरणको जीवनको उत्कृष्ट गिती नाट्य पनि थियो । उनले भने, ‘मैले आफ्नो बायोग्राफी लेख्दा अरु चिज छुटाउँला तर, त्यो छुटाउँदिन । जुन आँट गर्नुभयो त्यसका लागि धन्यवाद । सबै हाँस्य कलाकारले हँसाउँछ भन्ने पनि छैन् नि कहिलेकाँही रुवाउँछ पनि । राम्रो गर्नुभयो । आउँदा दिनमा स्टेज पाउनुभएन भने तपाईको आफ्नो मोबाइल त छनि यसबाट अगाडी बढ्नुहोस् ।’

किरणले हौसला दिँदै गर्दा उनका समर्थकहरुको गडगडाहट बेग्लै थियो । वरिष्ठ कलाकारबाट अपमानित महसुस गरेका बिक्की किरणको हौसलाले केही उर्जावान बनेपनि उनको मनमा भने सन्तोष पन्तको कुराले एउटै कुराले बिझाइरह्यो– हाम्रो समाजले यो बुझ्दैनन् । मैले त बुझिनँ अरुको के कुरा ?

फेरी किरणले विक्कीको प्रशंशा गर्दै थपे, ‘धेरै नेपालीबाट स्यावासी पाउनुहुन्छ । तपाई पहिलो नेपाली बन्नुहुन्छ । उत्कृष्ट पर्फम ।’

त्यसपछि जजबाट प्रदीप भट्टराईले बोल्ने अनुमति माग्छन् । विक्कीले कमेडी च्याम्पियनको मञ्चमा कति हसाउँछ भन्ने कुरा प्रमाणित भइसकेको बताउँदै उनले क्रिकेट खेलाडी पारस खड्काको उदाहरण दिँदै भने, ‘पारस खड्काले ब्याटिङमार्फत कहिले सेन्चिुरी हान्नुहुन्छ । कहिले हाफ सेन्चुरी हान्नुहुन्छ । नि……’

उनले बोल्दै गर्दा बिक्की स्टेज छोडेर हिँड्छन् । माहोल नै अर्कै बन्छ । सबैजना एकअर्कालाई हेरेर भावुक र स्तब्ध बन्छन् । सन्तेष पन्त पनि केही थकथकाए जस्तो गर्छन् । बिक्कीलाई सान्त्वना दिन कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा र मेक्सम गौडेल उनी बसेको ठाउँमा पुग्छन् । त्यसपछि निर्णायक मण्डलबाट मनोज गजुरेल र ऋचा शर्मा बिक्की बसेको ठाउँमा पुगेर शान्त्वना दिने प्रयास गर्छन् ।

सन्तोष पन्तको चर्को आलोचना

यसअघि पनि युवा पुस्ताको कमेडी नबुझेको भनेर आलोचित बन्दै आइरहेका कमेडियन एवं जज सन्तोष पन्तको सामाजिक सञ्चालमा चर्को आलोचना भएको छ ।

युवा पुस्ताको कमेडी नबुझेको भन्दै सामाजिक प्रयोगकर्ताहरुले पन्तलाई जज प्यानलबाट हटाउन माग गरेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सन्तोष पन्तले त्यस्तो टिप्पणी गर्न नहुने तर्क राखिरहेका छन् । रचना पाण्डे नामकी सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छिन्, ‘बुढेसकालमा यस्ता नयाँ धारका सृजनशील र व्यङ्ग्यात्मक प्रस्तुति नुबुझ्नु ठूलो कुरा होइन, स्वभाविक नै हो । तर, उहाँ न्यायाधीशहरुको प्यानलको हिस्सा हो, जसको अर्थ रियलिटी शो मा शब्द पिच्छे हुबहु नक्कल गरेर गदगद हसाउनै पर्छ भन्ने पनि छैन नि ? यसको मतलब के सहभागीहरु स्टेजमा वितरण गरीरहेछन् भन्ने पनि थाहा छैन ?’

भिलेज लाइफस्टाइन नामका प्रयोगकर्ता लेख्छन्– ‘नेपाली कमेडी जगतमा बिक्कीको प्रस्तुति सधैको लागी कोशेढुंगा साबित हुनेछ ।’

त्यस्तै तारा बहादुर नामका प्रयोगकर्ता लेख्छन्, ‘ आधुनिक जमानामा आधुनिक खाल्कै जर्ज राखौं । र बूढो गोरुलाई आजै खरितेलाई बेचौं भन्ने हाम्रो माग हो ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘बिक्कीले च्याम्पियनको अन्त्यमा धेरै जोखिम लिएका छन् । उहाँ साँच्चै हिरा हुनुहुन्छ । उहाँसँग रचनात्मक सोच छ । उहाँ हास्य जगतमा हरेक स्वाद दिन कोसिस गर्नुहुन्छ । यदि हामी बिक्कीको कामको बारेमा जान्दैनौं, हामी व्यंग्य र राजनीतिक व्यंग्य बाहेक हास्यको नयाँ स्वाद कहिल्यै देख्न सक्दैनौं । म तपाईंलाई माया गर्छु बिक्की । म तपाइँको लागी १०० भोट हाल्ने छु । तपाईं प्रयोगात्मक प्रतियोगी हुनुहुन्छ ।’

गोकुल सापकोटा लेख्छन्, बिक्कीलाई कुनै पुरस्कार अथवा कुनै उपाधीको जरुरत छैन् । उनलाई आफ्नो पहिचान छुट्टै बनाउनु छ । बिक्की अग्रवाल उपाधिको लागि लडिरहेका छैनन् ।’

के हो प्यान्टोमाइम ?

प्यान्टोमाइम संगीत हाँस्य मञ्च उत्पादन गर्ने पारिवारिक मनोरन्जनको लागी डिजाइन गरिएको हो । यो इंल्याण्डमा विकसित भएको थियो ।

हसाउनका लागि नौलो माध्यमको रुपमा विकास भएको प्यान्टो माइम व्यापक मात्रामा विस्तार भएको छ । यसलाई दर्शकहरुले अत्याधीक रुचाउने गरेका छन् ।

इंल्याण्डमा विकसित भएको प्यान्टो माइमको विस्तार बेलायत, आयरल्याण्ड र अन्य अंग्रेजी बोल्ने देशहरुमा प्रदर्शन गर्न थालियो । प्यान्टो माइम विशेष गरी क्रिसमस र नयाँ बर्षको समयमा आधुनिक गीत, कमेडी र नृत्यसहित प्रस्तुत गरिन्छ ।
सबै समूहका अभिनेताहरु, दन्त्यकथा वा लोक कथामा आधारित भएर एक एउटा मिठो र रोचक कथावस्तुमा आधारित रहेर समसामयिक हास्यको संयोजनसहित दर्शकमाझ पस्किन्छ ।

प्यान्टोमाइम थिएटरको एउटा छुट्टै पाटो पनि हो । जसमा दर्शकहरुलाई संगीतका केहि भागहरुको संयोजनसहित सांकेतिक रुपमा मनोरञ्जन प्रदान गरिन्छ ।

प्यान्टो माइम पश्चिमी संस्कृतिमा शास्त्रीय थियेटरका नामले परिचित छ । नाटकीय क्षेत्रमा लामो इतिहास बोकेको प्यान्टो माइमको विकास १७ औं शताब्दीमा भएको हो । १९ औं शताब्दीबाट पश्चिमा देशहरुमा यसले महत्वपूर्ण हिस्सा ओगटेको छ ।

नेपाली कमेडीमा भने खासै यसको प्रयोग नभएको हाँस्य कलाकार मनोज गजुरेलको अनुभव छ । गजुरेलले काठमाण्डुपाटीसँग भने, ‘ठ्याक्कै कहिलेदेखि प्रयोग भयो भन्ने त छैन अब गाउँघर तिर केहिले गरेका पनि थिए होलान । तर, सबैले नोटिस गर्नेगरी खासै मैले देखेको छैन । कतिपय चलचित्रमा यसको सानो प्रयोग भएपनि स्टेजमा देखिनेगरी कसैले गरेको मलाई याद छैन ।’

उनले बिक्कीको अभ्यासले नेपालमा कमेडीका अरु प्रयोगहरुलाई बाटो खुलेको बताए । सबैको रोजाई फरकफरक हुने भएकाले सबैको प्रतिक्रियाको सम्मान गनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement