निर्वाचन प्रणाली परिवर्तन गर्न कांग्रेस र एमाले मिल्नुपर्छ : डा. कोइराला


नेपालगञ्ज – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद्को पहिलो र दोस्रो ठूलो दल कांग्रेस र नेकपा एमाले मिल्नुपर्ने बताएका छन् ।

बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली नै अहिलेको समस्याको मूल जड भएको बताए ।

निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसद्को पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने उनले बताए ।

२०६४ सालको संविधानसभा पछि लगातार ४ जना कम्युनिस्ट प्रधानमन्त्री बन्दा समेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘२०७० सालको दोस्रो संविधान सभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो ।’

उनले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ, तब कांग्रेस र एमाले एकैबिन्दुमा उभिएर समस्या समाधान गरेको बताए ।

चौतर्फी रूपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकाले नेताहरूले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने उनले बताए ।

सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने पनि उनले बताए ।

उनले भने, ‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौं, संसदीय छानबिन समिति बनाऔं, सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?’

प्रतिक्रिया दिनुहोस
Advertisement