बीपीको विचारलाई कांग्रेसीजनले कसरी आत्मसात गर्ने ?


– बिनिता खड्का

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको जन्म विक्रम संवत् १९७१ भदौ २४ गते बनारसमा भएको हो ।

इतिहास हेर्ने हो भने दोस्रो विश्वयुद्धको समयमा उहाँलाई बेलायती सरकारले जबरजस्ती सेनामा भर्ना गरायो र त्यहीँबाट छुटेपछि उहाँले ईस्वी संवत् १९४७ मा ‘नेपाली राष्ट्रिय कांग्रेस’को स्थापना गर्नुभयो, जुन आजको दिनमा ‘नेपाली कांग्रेस’ रहेको छ ।

उतिबेला नेपालको राजनीतिक आन्दोलनको अग्रपंक्तिको नेतृत्वमा बीपी हुन्थे । उहाँले विराटनगर मजदुर आन्दोलन, नेपालमा राणा शासनको अन्त्यका साथै नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापनामा योगदान गर्नुभयो । त्यसै कारण बीपीलाई कांग्रेसले मात्रै नभएर समग्र देशवासीले श्रद्धा गर्ने गर्छन् ।

नेपालको राजनीतिक अस्थिरतामा बीपीको आदर्श, मूल्य र मान्यता अझ सान्दर्भिक छ । नेपालको राजनीतिक मात्रै नभई नेपाली साहित्यमा समेत बीपीको योगदानको सम्झना गरिन्छ । साहित्यमा उहाँका कृतिहरू तीन घुम्ती, सुर्मिमा, नरेन्द्र दाइ, मोदी आइन्, हिटलर र यहूदी र बाबु, आमा र छोरा उपन्यासहरूको चर्चा हुने गर्छ ।

नेपाली साहित्यमा यौन मनोविज्ञानलाई भित्र्याउने र मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तित्वको श्रेय पनि कोइरालालाई नै जान्छ । बीपी भन्नुहुन्थ्यो, ‘जीवन नै एक सुनिश्चित जोखिम हो, जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिबद्वतामा निर्भर गर्दछ । मानिस आफ्नो संकल्प र आस्थाले यथार्थमा मानिस हुन्छ । मेरो राजनीतिक जीवन खुलेको पाना हो, म आफ्नो सम्बन्धमा सफाइ दिइरहने आवश्यकता ठान्दैन ।’

यी हरफहरूले बीपीको आदर्श र जीवन बुझ्न धेरै हदसम्म सार्थक हुने जानकारहरू बताउँछन् । ‘प्रजातन्त्र विना देश रहँदैन, राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना विचार हो ! यदि हामीले केवल राष्ट्रियताको चर्चा गर्छौं र प्रजातन्त्रका सम्बन्धमा मौन रहन्छौं भने अधिनायकवादका पक्षधर हुनेछौं । यदि प्रजातन्त्रको चर्चा गरेर र राष्ट्र रक्षाको कुरोलाई उपेक्षा गर्छौं भने हामी विदेशी तत्वको हतियार बन्न सक्छौं ।

आजको दिनमा सम्झिँदै गर्दा बीपीको हरेक एक शब्दमा वजन छ, दम छ, धेरै कुरा सिक्न सकिन्छ,’ उहाँले भन्नुहुन्थ्यो, ‘मभन्दा धेरै दुःख पाएका र यातना सहेका, त्याग गरेका, तपस्या गरेका हाम्रो मुलुकमा सयकडौ छन्, म त चिनिएको हुँ । अरुहरू त प्रजातन्त्रको जगमा त्यस्ता गडेका पत्थरहरू हुन्, जसलाई कसैले चिन्दैन । प्रजातन्त्रको त्यो मन्दिरका तल गडेका जगमा रहेका ढुंगा जस्ता कति सहिदहरू भए आजको उत्साहको दिनमा हामीहरूले तिनलाई सम्झिनुपर्छ, जसको त्याग र बलिदानबाट आज यस ठाउँमा म यानि कि तपाईंहरूको बीपी उभिएर तपाईंहरूसँग केही भन्न पाइरहेको छ ।’

म कुनै आर्थिक विशेषज्ञ त होइन तर जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ, त्यो विकास विकास नै होइन । मेरो विचारमा शहरको सुविधा मात्र हेर्ने, गाउँको बेवास्ता गर्ने विकास हुनै सक्दैन, किनभने नेपाल गाउँ नै गाउँले बनेको देश हो । आजका दिनमा नेपाल देश चलाउने नेताले भुलिसकेका छन् । तेसैले त गाउँगाउँमा विकास हुन सकेको छैन । यही अहिलेको यथार्थ हो । कम्युनिस्टहरू तानाशाहीलाई मान्छन्, सर्वहाराको तानाशाही उनीहरूको सिद्धान्त हो तर म त्यसलाई मान्दिनँ भनेर हाकाहाकी भन्नुहुन्थ्यो बीपीले ।

उहाँ भन्नुहुन्थ्यो, ‘धर्मको विरुद्धमा त म पटक्कै छैन, छँदै छैन तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिनँ । ईश्वर छ तर प्रचलित होइन, जस्तै कि हाम्रो नियतिको निर्माताको रूपमा होइन, ईश्वर कवितामा हुन्छन्, ईश्वर सपनामा हुन्छन्, ईश्वरलाई विज्ञानको माध्यमले व्याख्या गर्न सक्नुहुन्न । भौतिक आधारमा व्याख्या गर्न सक्नुहुन्न, ईश्वर भन्नु एक आध्यात्मिक अनुभव हो । म राजनीतिको मत साहित्यमा राख्न बिल्कुलै रुचाउँदिनँ । राजनीतिको घेरा साँघुरो छ । कानूनको निर्देशन र नियमवद्धतामा बाँच्छ र साहित्य विराट शास्त्रमा । राजनीति चारैतिरबाट बन्द छ र कला चारैतर्फ खुला । राजनीतिमा म अन्तर प्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरीत अन्तरप्रेरणाले । म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी ।’

साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्दछ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्छ । बीपीले समाजवादलाई एउटा झुपडी, एक हल गोरु, एउटा दुहुनो गाई र खेतसँग जोडेका थिए ।

बीपीले हरेक नेपालीले यी चिजहरू प्राप्त गर्न सक्ने अवस्था नै समाजवाद हो भने तर आजको सन्दर्भमा यो कुराले हामी आमनेपाली नागरिक जनतालाई कत्तिको महत्त्व राख्दछ त ? प्रश्न आफैंमा महत्त्वपूर्ण छ । हाम्रै पार्टीमा पनि कुन नेताले बीपीको यो भनाइलाई आजको दिनमा आत्मसात गरेका छन् ? मलाई लाग्दैन कि कसैले आत्मसात गरेका छन् ।

आधुनिक गाईगोरु उत्पादन गर्ने फार्म, जमिन सधैं उर्बर कायम गराइराख्ने उपाय र किसान बस्ने झुपडीलाई महलमा रूपान्तरण गर्ने कार्यक्रम आजको हामी कांग्रेसी अनि कांग्रेससँग छ र ?

नेपाली राजनीतिमा सबैले सधैं लिने नाममध्येको एक हो – बीपी कोइराला । विश्व राजनीतिमै चर्चित कोइरालाको जीवनको अर्को महत्त्वपूर्ण पाटो हो – साहित्य । नेपाली साहित्यमा उहाँको योगदानलाई अत्यन्त महत्त्वका साथ लिइन्छ । नेपाली साहित्यमा यौन मनोविज्ञान भित्र्याउने महत्त्वपूर्ण श्रेय पनि बीपीलाई नै जान्छ । राजनीतिक क्षेत्रमा गरिएको योगदानको विशेष चर्चा हुने गरे पनि उहाँले साहित्यका क्षेत्रमा दिएको योगदानको भने त्यही रूपमा चर्चा नगरिएको साहित्यका अनुसन्धाताहरू बताउँछन् ।

बीपीको साहित्यिक योगदान पनि राजनीतिकभन्दा कम नभएको विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखरामा नेपाली साहित्यमा प्राध्यापनरत अम्बिकाप्रसाद भट्टराईले बताउनुभयो । बीपीले राजनीतिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानजस्तै साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदान पनि बिर्सन नमिल्ने उहाँले बताउनुभयो । ‘बीपी कोइरालाले नै नेपाली साहित्यमा पहिलोपटक यौन मनोविज्ञान भित्र्याउनुभएको हो,’ भानु वाङ्मय प्रतिष्ठान पोखराका सचिव समेत रहेका भट्टराईले थप्नुभयोे, ‘पश्चिमी दार्शनिक सिग्मन्ड फ्रायडको यौन मनोविज्ञानलाई उहाँले नेपाली आख्यानका क्षेत्रमा भित्र्याउनुभएको हो ।’

तत्कालीन समयमा कालजयी साहित्य सिर्जना गरी नेपाली साहित्यमा नवीनतम चिन्तन, आयाम, परम्परा एवं र शैली भित्र्याउनुलाई अत्यन्त महत्त्वका साथ लिइएको छ ।

अहिलेका नयाँ पुस्तालाई को हुन् त बीपी भनी चिनाउन जरुरी छ । बीपीको मूल्य–मान्यता र उहाँको सिद्धान्त चिनाउन र चिन्न जरुरी छ । हैन भने त्यहीँ पार्टीका कार्यक्रममा मात्र फोटोमा माल्यार्पण गर्‍यो अनि बस नेताहरू आ–आफ्नो भाषण ठोक्न अनि बीपीभन्दा नि आफ्नो बयान गर्न जानेका छन् । यो अहिलेको यथार्थ हो । बीपीको मार्गमा हामी हिँड्न जरुरी छ । बीपीको राजनीतिक धरातललाई टेकेर कांग्रेस अगाडि बढ्न जरुरी छ । साँच्चै नै भन्दा के अहिलेका नेताहरूमा नयाँ पुस्तालाई दिने ज्ञान छ त ?

यदि बीपीले राजनीति गर्दैगर्दा मन्त्री हुन पाइएला, ठूलाठूला महलमा बसौंला, चिल्ला गाडीहरूमा हिँडौंला भनेर कहाँ राजनीति गरेका थिए र ? उहाँले त देश र जनताको भलोका लागि राजनीति गरेका थिए, देश विकास गर्न राजनीति गरेका थिए । सिंगो राष्ट्र निर्माणका लागि राजनीति गरेका थिए अनि गरीब निमुखाको उत्थानका लागि राजनीति गरेका थिए । त्यसैले त आज बीपी बीपी भए । आज बीपी कोइरालाको ११०औं जन्मजयन्तीमा हामी सबैलाई उहाँले देखाएको बाटोमा इमान्दारिताका साथ हिँड्ने प्रेरणा मिलेको होस् । बीपीका विचारअनुसार हामीले हाम्रो व्यवहारमा उतार्न सकेका होऔं । इतिहास बदल्ने मानवले जन्म लिएको दिन उहाँले देखाएको बाटोमा अविचलित, अनवरत र सदासदा हिँड्ने प्रेरणा मिलोस् ।

(लेखक नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि हुन् )

प्रतिक्रिया दिनुहोस
Advertisement