कैद माफी मिनाहा पाउनु अपराधीहरूको अधिकार हो : गृहमन्त्री लामिछाने


नेपालगञ्ज – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराधी ठहर भएका कैदीबन्दीले कैद माफी मिनाहा पाउनु अधिकार भएको बताएका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको बिहीबार उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले भने, ‘कैदीबन्दीको कैद मिनाहा माफीमा राजनीतिक दबाब र आर्थिक चलखेलको गुनासो आइरहेको छ ।’

कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनःस्थापना गर्नु आवश्यक भएकोमा जोड दिँदै उनले कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा रूपान्तरण गराउन जरुरी भएको औंल्याए ।

‘कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीले आफूले गरेको अपराधको सजायभन्दा अन्य थप कुनै पनि सजाय पाउनु हुँदैन,’ उनले भने । अपराधीले अपराध गरेकोभन्दा थप सजाय दिइएमा त्यो अर्को अपराध हुने उल्लेख गर्दै उनले कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न मन्त्रालय लागिपरेको बताए ।

उनले कैदीबन्दीले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझै पनि समाजले स्वीकार गर्न नसकेको उल्लेख गर्दै पारिवारिक तथा सामाजिक जीवन बिताउन परिवार र समाज सचेत हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement