दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि मन्त्रालयद्वारा छानबिन समिति गठन

दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि मन्त्रालयद्वारा छानबिन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

प्रणालीमा ठूलो संख्यामा विद्यार्थीको विवरण दोहोरिएको र त्यसका आधारमा राज्यकोषबाट वितरण हुने विभिन्न अनुदान तथा सुविधाको दुरुपयोग भएको हुन सक्ने आशंकामा मन्त्रालयले अनुसन्धान अघि बढाएको हो।

मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरेको जनाएको छ।

मन्त्रालयको खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य छन्। विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ।

मन्त्रालयका अनुसार अनौपचारिक अध्ययनका क्रममा आईईएमआईएस प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थीका विवरण दोहोरिएको पाइएको छ। यसरी गलत वा दोहोरो विवरण प्रविष्ट गरी राज्यकोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, विद्यालय पोसाक, पाठ्यपुस्तक तथा अन्य सेवा(सुविधामा अनियमितता भएको हुन सक्ने आशंका गरिएको छ।

समितिलाई प्रणालीमा यति ठूलो संख्यामा विवरण दोहोरिनुको कारण पत्ता लगाउने जिम्मेवारी दिइएको छ। यो प्राविधिक कमजोरीका कारण भएको हो वा नियतवश गलत विवरण प्रविष्ट गरिएको हो भन्ने विषयमा समितिले अध्ययन गर्नेछ।

त्यस्तै, गलत तथ्याङ्क पेस गरी राज्यकोषको दुरुपयोग गरेको पुष्टि भए सम्बन्धित विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिलाई कारबाही गर्न मन्त्रालयसमक्ष सिफारिस गर्ने कार्यादेश पनि समितिलाई दिइएको छ।