काठमाण्डु– नेपाली कांग्रेस इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगन थापाको पछिल्लो लेनदेनको विषयमा गम्भिर टिप्पणी गरेका छन् ।
बिहीबार उदयपुर पुगेका बस्नेतले १८ करोड रुपैयाँको प्रकरणलाई थापाको कथित अनियमितताको सुरुवात मात्रै भएको टिप्पणी गरेका हुन् ।
कांग्रेस आधिकारिकतासम्बन्धी विवादमा बिचौलियासँग १८ करोड रुपैयाँ लेनदेन भएको आरोप सार्वजनिक भएपछि बस्नेतले यो त ट्रेलर मात्रै भएको दाबी गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषय र विगतका निर्णयहरूको छानबिन भए थप तथ्य बाहिर आउने उनको दाबी छ।
बस्नेतले आफूले लामो समयदेखि थापाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएको उल्लेख गर्दै अहिले पार्टीभित्र आफ्नो धारणासँग सहमत हुने नेताहरूको संख्या बढेको बताए। कांग्रेसलाई थापाको नेतृत्वबाट जोगाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो।
उनले भने, म पहिले देखिनै उहाँको कृयाकलापबारे जानकार छु, कसै न कसैले उहाँको बारेमा ति कुराहरु सार्वजनिक गर्नु पर्यो । उहाँविरुद्ध बोल्ने पहिला म एक्लो थिएँ, अहिले पार्टीभित्र ठूलो पङ्क्ति लामबद्ध भएको छ, उहाँबाट कांग्रेस जोगाउनका खातिर, १८ करोड रुपैयाँको विषय आएको छ। मैले भनेँ, यो त ट्रेलर मात्रै हो। स्वास्थ्य मन्त्रालयको मात्रै कुरा बाँडफाँट निकाल्यो भने लामै कथा हुन्छ। प्रधानमन्त्री होइन, उहाँ चाहनुभयो भने जेलको चौकीदार चाहिँ हुन सक्नुहुन्छ।’
बस्नेतले थपे, ‘गगन थापाजीको पनि छानबिन गर्नुस्। छानबिनको प्रक्रिया पूरा गरेर कारबाही गर्नुपर्छ कि गल्ती गरेको भए थुन्नुपर्छ।’
यता, सभापति थापाले आफूमाथि लागेको आर्थिक लेनदेनसम्बन्धी आरोपको खण्डन गरिसकेका छन्। आरोप र प्रत्यारोपबीच बस्नेतले भने यस विषयलाई राजनीतिक विवादका रूपमा मात्र सीमित नराखी निष्पक्ष न्यायिक छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया