फरार अभियुक्तको राहदानी रद्द गर्ने तयारीमा सिआईबी


काठमाडौं- अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन नेपाल प्रहरीले उनीहरूको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका अपराधीलाई नेपाल फिर्ता गर्न प्रहरीले परराष्ट्र मन्त्रालय र सम्बन्धित देशको कानुन कार्यान्वयन गर्ने निकायमार्फत अनुरोध गरेको हो ।

 

बैंकिङ कसूर, वन्यजन्तु अपराध, मानव तस्करी, साइबर अपराध लगायतका कसूरमा संलग्न भइ भागेका अभियुक्त फिर्ता गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकसँग कूटनीतिक पहल थालेको हो ।

 

 

ब्युरो प्रमुख डीआइजी पुस्कर कार्कीले विभिन्न अपराधमा संलग्न रही विदेशमा बस्दै आएका व्यक्तिको राहदानी रद्द गरी नेपाल फिर्ता गर्न सम्वन्धित मुलुकलाई कूटनीतिक माध्यमबाट आग्रह गरिएको बताए । ब्युरोले त्यस्ता व्यक्तिको हुलिया र कसुर गरेको विवरण प्रहरी प्रधान कार्यालयबाट गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय पुगिसकेको छ ।

 

 

गृहको अनुरोधअनुसार केही अपराधीको विवरण परराष्ट्र मन्त्रालयले नेपालस्थित विभिन्न मुलुकका राजदूतावास तथा विदेशस्थित नेपाली नियोगमार्फत सम्बन्धित देशका कानुन कार्यान्वयन गर्ने निकायलाई पठाइसकेको छ ।

 

“नेपालमा अपराध गरेर विदेश भागेका व्यक्तिलाई फिर्ता गर्न हामीले आवश्यक कूटनीतिक पहल थालिसकेका छौं,” डीआइजी कार्कीले भने, “त्यसका लागि सम्बन्धित देशमा रहेका अभियुक्तको राहदानी रद्द गरी नेपाल फिर्ता गराउन त्यहाँका कानुन कार्यान्वयन गर्ने निकाय र परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल जारी राखेका छौं ।”

 

 

ब्युरोले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिएका अपराधिको खोजीमा समेत सहयोग गरिदिन पनि आग्रह गरेको छ । ब्युरोले किष्ट बैंकको कर्जा अपचलन गरी फरार तत्कालीन प्रवन्ध सञ्चालक कमल ज्ञवाली, पोखरास्थित कैलाश विकास बैंकको रकम हिनामिना गर्ने रविचन्द्र खनाल, उपराष्ट्रपति नन्दबहादुर पुनसँग जोडिएको साइबर अपराधका अभियुक्त आत्मराम थपलियाको हुलिया विदेश पठाइसकेको छ ।

 

 

यस्तै, राहदानी किर्तेमा संलग्न किशोर गुरुङ, क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स लिमिटेडका पवनकुमार कार्की, कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज (एलडी) महत र सदस्य उमेश ढकाल, साइबर अपराधमा संलग्न आत्मराम थपलियालगायत डेढ दर्जन व्यक्तिको कसूरसहितको हुलिया ब्युरोले गृह हुँदै परराष्ट्र मन्त्रालयबाट सम्वन्धित मुलुक पठाइसकेको जनाएको छ ।

 

 

उपराष्ट्रपति नन्दबहादुर पुनसँग जोडिएको साइबर कसूरका अभियुक्त थपलिया जर्मन र राहदानी किर्तेका आरोपित गुरुङ थाइल्याण्डमा रहेको प्रहरीले जनाएको छ । कैलाश विकास बैंकको पोखरास्थित ब्रान्च म्यानेजर खनालले ८ करोडको हाराहारीमा रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ । ब्युरोका अनुसार उनी अहिले अमेरिकामा बस्दै आएका छन् ।

 

यस्तै पुनरावेदन अदालत पाटनले किष्ट बैंकका तत्कालीन प्रवन्ध सञ्चालक ज्ञवालीलाई दोषी ठहर गर्दै ३ वर्ष कैद र १२ करोड ५० लाख रूपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ । उनी अमेरिकामा रहेको ब्युरोका अधिकारी बताउँछन् ।

 

 

क्यापिटल मर्चेन्ट एन्ड फाइनान्सका सञ्चालक कार्कीलाई पुनरावेदन अदालत पाटनले नै २०७१ वैशाख २१ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १ अर्ब २२ करोड ८ लाख ९७ हजार १४१ रूपैयाँ जरिवाना र कैद सजायँको फैसला सुनाएको थियो । अमेरिकाको नागरिकता पाइसकेका कार्की विरुद्ध इन्टरपोलले २०७२ पुस १४ गते रेडकर्नर नोटिस जारी गरेको छ ।

 

 

उनले अमेरिकाको नागरिकता प्राप्त गरीसकेकोले नेपाल फिर्ता गर्न सरकारले नै विशेष पहल गर्नुपर्ने प्रहरीको निष्कर्ष छ । उनीसहित १४ जना नेपालीलाई इन्टरपोल नेपालको आग्रहमा रेटकर्नर नोटिस जारी गरिएको छ ।

 

 

“विदेशी नागरिकता पाइ नसकेका व्यक्तिको राहदानी रद्द गर्न सकिए उनीहरूलाई नेपाल ल्याउन सजिलो हुने हाम्रो निष्कर्ष छ,” ब्युरो प्रमुख कार्कीले भने, “अपराध गरेर भागेका व्यक्तिले आफू सुरक्षित हुन विभिन्न प्रक्रियाबाट विदेशी नागरिकता लिने गरेको र त्यस्ता व्यक्तिलाई जतिसक्दो छिटो नागरिकता लिनुअगावै फिर्ता गर्नुपर्ने हाम्रो धारणा हो ।”आजको कारोबार दैनिकमा मातृका दाहालले समाचार लेखेका छन्। 

प्रतिक्रिया दिनुहोस
Advertisement