अत्यधिक गर्मीले सुदूरपश्चिमको जनजीवन कष्टकर

अत्यधिक गर्मीले सुदूरपश्चिमको जनजीवन कष्टकर


सुदूरपश्चिम-  पछिल्ला केही दिनदेखि बढेको गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। गर्मीका कारण दैनिक काम गर्न र हिँड्डुल गर्न कठिन भएको छ।

धनगढीको अधिकतम तापक्रम ४२ डिग्रिसेल्सियस पुगेको छ। गर्मीले मजदुर वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिका बढी प्रभवित भएका छन्। गर्मी बढेसँगै बजार क्षेत्र दिउँसो सुनसान हुन थालेको छ।

‘गर्मी बढेसँगै दिनमा १०/१२ पटक विद्युत् आउनेजाने भइरहेको छ, विद्युत् गएपछि पङ्खा चलाउन नपाउँदा झन् गाह्रो हुन्छ’, धनगढीका स्थानीय भूमिराज अवस्थीले भने। गर्मीले धनगढीका अस्पतालमा पखाला, बान्ता, ज्वरो र टाइफाइडका बिरामीको सङ्ख्या बढेको सेती प्रादेशिक अस्पतालका डा प्रदीप मिश्रले जानकारी दिए।

मध्याह्नमा तातो हावा चल्ने गरेकाले यसबाट बालबालिकालाई जोगाउन र झोलिलो खानेकुरा खुवाएर शरीरमा तरल पदार्थको मात्रा बढाउन डा मिश्रले सल्लाह दिए। मौसमअनुसार सागपात र फलफूल सेवन गर्ने, सडेगलेका, बासी र जथाभावी राखिएका खानेकुरा नखान पनि चिकित्सकको सुझाव छ।