कांग्रेसमा दाइ–भाउजूविरुद्ध विद्रोहको बिगुल !


काठमाण्डु – नेपाली कांग्रेसमा अग्रज नेतालाई ‘दाइ’ भनेर सम्बोधन गर्ने चलन छ । ‘दाइ’लाई आदरार्थी सम्बोधन मान्ने गरिए पनि अब ब्यंग्यात्मक बन्न थालेको छ ।

कांग्रेसमा सभापति दाइ शेरबहादुर देउवा र केन्द्रीय सदस्य भाउजु आरजु राणा देउवाको हालिमुहालीविरुद्ध संस्थापनइतर पक्षले विद्रोहको बिगुल फुकेको छ ।

सोमबार कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीको निवास इटालीटारमा संस्थापनइतर पक्षका नेताहरूको बैठक बसेको थियो । बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, महामन्त्रीका प्रत्यासी प्रदीप पौडेल, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसँगै प्रभावशाली नेताहरू बलबहादुर केसी र दिलेन्द्रप्रसाद बडू सहभागी थिए ।

सोमबारको बैठकको प्रभाव मंगलबार सार्वजनिक रूपमै देखिएको छ । महामन्त्री गगन थापाले बागलुङबाट र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले चितवनबाट ‘दाइ–भाउजू’ शब्दावली प्रयोग गर्दै सभापति देउवामाथि प्रहार गरेका छन् । सार्वजनिक कार्यक्रममै बोलेका दुवै नेताको भावमा सभापति देउवाप्रति असन्तुष्टि पोखिएको थियो ।

पार्टीको चितवन क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केसीले भने, ‘पार्टीका दाइ–भाउजूले भनिसके, अब मान्नुपर्छ भनेर सत्यलाई बन्धकी राख्ने कार्यकर्ता वा नेता कायर वा दास हुन् । यिनीहरूबाट पार्टी उभो लाग्दैन ।’

उनले कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर भएकाले आफ्नै आन्तरिक कारणले पार्टी कमजोर भएको बताए ।

बागलुङ क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ‘वडा सभापति बन्न क्रियाशील कार्यकर्ताले भोट दिनुपर्ने, वडाध्यक्ष बन्न जिल्ला सभापतिले टिकट दिने यो लोकतन्त्र होइन । जबसम्म टिकटका लागि दाइ र भाउजूको चाकरी गर्नुपर्छ, तबसम्म पार्टीमा निरंकुशता र राजावादी सोच बाँकी रहन्छ ।’

हरेक वडा, नगर र क्षेत्रीय सम्मेलनबाट वडाध्यक्ष, मेयर र अध्यक्ष तथा प्रदेश र संघीय संसद्को उम्मेदवार छनौट गर्न सकेमा मात्र कांग्रेस पार्टीभित्र गणतन्त्र आउने उनले बताए । महामन्त्री थापाले चुनावको टिकट बाँड्ने अधिकार तल्ला कार्यसमिति अर्थात् वडा, नगर र क्षेत्रलाई दिन वकालत थालेका छन् ।

महामन्त्री थापाले चुनावमा गठबन्ध गर्नुलाई पनि गलत रूपमा अर्थ्याउँदै आगामी चुनावमा एक्लै चुनाव लड्ने वकालत थालेका छन् । उनले भने, ‘सबै सिट गुमाएर चकटीमा बस्नु परोस् तर कार्यकर्ताको शीर निहुरिने गरी अर्को दललाई भोट हाल्न लगाउने गरी गठबन्धन गरिँदैन । सबै कम्युनिस्ट मिलून्, स्वतन्त्रहरू पनि मिलून् तर कांग्रेस एक्लै लड्छ ।’

संस्थापनइतर पक्षबाट एकै भाव, शैली र शब्दावलीमा नेतृत्वको आलोचना हुन थालेको छ । वर्तमान सरकारप्रति पार्टीपंक्तिमा गुनासो रहेकोप्रति पनि संस्थापनइतर पक्ष सजग देखिएको छ । सरकारका मन्त्रीप्रति असन्तुष्टि जनाउँदै महामन्त्री थापाले भने, ‘अहिले मन्त्रीहरू बलिया छन्, किनकि गुटबाट गएका छन्, गुटको भजन गाएपछि उनीहरू टिकिइरहन्छन् ।’

नेता डा. शेखर कोइरालाले ठूलो दल कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्नेतर्फ वकालत थालेका छन् । उनले भने, ‘हामी सरकारमा छौं । मन्त्री पनि छौं । ९० जना त सांसद नै छौं तर पनि सरकार हाम्रो हो भन्ने महसूस भइरहेको छैन । संसदीय प्रणालीमा प्रधानमन्त्री नै सर्वेसर्वा हुने हो तर न हाम्रा मन्त्रीको कुरा सुनिएको छ, न कांग्रेसले लिएका मन्त्रालयको कर्मचारीको नै समस्या सुनिएको छ । ठूलो दलको रूपमा कांग्रेसले सरकारको नेतृत्व लिन सक्ने हो कि होइन ?’

संस्थापनइतर पक्षले पार्टी नेतृत्व र सरकारप्रति कांग्रेस नेता, कार्यकर्तामा रहेको असन्तुष्टिलाई ‘क्यास’ गर्दै टीमलाई मजबुत बनाउने रणनीति लिएको देखिन्छ । पार्टी र सरकार सञ्चालनमा सभापति देउवाले सल्लाह–सुझाव नलिएकोप्रति महामन्त्रीद्वय थापा र शर्मा पनि असन्तुष्ट छन् । देशका विभिन्न ठाउँमा भइरहेका पार्टीका कार्यक्रमलाई संस्थापनइतर पक्षले उपयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement