प्रहरी जवानका सुविधामा ध्यान दिँदै ‘भावी आईजीपी’


काठमाडौं – प्रहरी संगठनभित्र सबैभन्दा आधारभूत दर्जा हो प्रहरी जवान । तैपनि संगठनभित्र सबैभन्दा सुविधा प्रहरी जवानलाई नै हुन्छ ।

संगठनको उद्देश्य पूर्तिका लागि जनताको सेवामा सबैभन्दा अग्रपंक्तिमा प्रहरी जवान हुन्छन् । तर प्रहरी जवानको खानपान र रहनसहन दयनीय हुन्छ । खानपानमा पौष्टिक तत्वको संयोजनमा खासै ध्यान दिइँदैन भने ढुक्कसँग राम्ररी बसेर खान समेत पाइँदैन ।

दिनरात नभनी जनसेना खटिने जवानको दयनीय अवस्था हुँदाहुँदै पनि उपल्लो दर्जाका प्रहरी अधिकृत आदेश दिएकै आधारमा सुखसयल लिइरहेका हुन्छन् । प्रहरी जवानले सेवासुविधामा सुधारको अपेक्षा गर्ने गरिएपनि प्रहरी नेतृत्वले ध्यान दिन सकेको थिएन ।

‘भावी आईजीपी’बाट सुधारको संकेत

प्रहरी संगठनमा ‘भावी आईजीपी’को रुपमा हेरिएका डीआईजी विश्वराज पोखरेलले सुधारको संकेत दिएका छन् । महानगरीय प्रहरी कार्यालय मेट्रोका प्रमुख आयुक्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोखरेलले प्रहरी अधिकृत र जवानबीच रहेको भेदभाव र असमानता हटाउने निधो गरेका छन् । जसले अभ्यास उनले आफ्नै कार्यालयबाट सुरू गर्दै मातहतका वृत्तमा समेत विस्तार गरिरहेका छन् ।

मेट्रोको नेतृत्व सम्हालेदेखि आयुक्त पोखरेलले विभिन्न सुधारका काम गरिरहेका छन्, जसमध्ये प्रहरी जवानलाई सेवासुविधा दिन थालेपछि आधारभूत तहका प्रहरीमा हौसला बढेको छ । इन्सपेक्टर तहका प्रहरी अधिकृतले लिँदै आएका सेवासुविधा र सम्मान जवान, हवल्दार, असई, सईले पाउन थालेका छन् ।

पोखरेलको निर्देशन अनुसार मेट्रो मातहतका सबै प्रहरी कार्यालयमा प्रहरी अधिकृत र जवानको ‘संयुक्त मेस’ सञ्चालनमा आउँदैछ । आईतबार महानगरीय प्रहरी वृत्त ठिमीमा संयुक्त मेसको उद्घाटन गर्दै डीआईजी पोखरेलले संयुक्त मेसको अवधारणालाई अक्षरशः पालना गरिने बताए ।

प्रहरीमा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान–हवल्दारको छुट्टाछुट्टै मेस सञ्चालन हुँदै आएपनि आयुक्त पोखरेलले त्यसको अन्त्य गर्ने घोषणा गरेका छन् । मेसको विभेदले प्रहरी जवानको मनोबल कमजोर रहेकाले मेस प्रणालीमा सुधार गर्नुपरेको बताए ।

‘सम्पूर्ण मातहत कार्यालयहरूमा अधिकृत जवानहरूको साझा तथा स्तरीय मेस निर्माण तथा सुधार अभियान शुभारम्भ गरिएको छ । सबै कार्यालयहरूले सुधार अभियान सफल बनाउन भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने । मेट्रो मातहतका राजधानीभित्रका प्रहरी कार्यालयमा मेस सुधार गर्न खोजिएपछि देशभरका जवानको समस्या कायमै रहेको छ ।

सुधारका अन्य प्रयास

गत पुस २ गते आयुक्तको जिम्मेवारी पाएपछि डीआईजी पोखरेल आफैंले सडक आश्रित मानवको अवस्था बुझ्न राति सडकमा आएका थिए । सडक मानवको अवस्था बुझ्न र उद्धार गर्न पोखरेल आफैं सक्रिय भएका थिए । त्यसअघि डीआईजी पोखरेल प्रहरी प्रधान कार्यालयमा प्रवक्ताको जिम्मेवारीमा थिए ।

प्रहरी सेवाको प्रभावकारी सुधारका लागि डीआईजी पोखरेलले ‘नागरिक सहजकर्ता’ तोक्ने निर्णय समेत गरेका छन् । मेट्रो मातहतका मुद्दा चल्ने सबै इकाइमा नागरिक सहजकर्ता राख्न डीआईजी पोखरेलले सुरू गराएका छन् । सेवाग्राहीको रुपमा आएका नागरिकलाई सहयोग गर्न सहजकर्ताको व्यवस्था गर्ने निर्णय गरिएको छ । यसले नागरिक–प्रहरी सम्बन्ध सुधार गर्नेछ ।

‘हामी अन्यायमा पर्नेको साथी, सहयोगीका पक्षधर हौं । न्यायका लागि आउने जो कोही नागरिकलाई दिने हाम्रो सेवा सहज र सरल हुनुपर्छ,’ सहजकर्ताका रुपमा खटिने प्रहरीलाई निर्देशन दिँदै पोखरेलले भनेका थिए, ‘कार्यालयमा आएका सेवाग्राहीहरूले न्यायका लागि मसँग राज्य, सरकार र प्रहरी संगठन छ भन्ने अनुभुत गर्ने गरी बोली वचन र सहयोगी भावना सहितको सेवा दिनुपर्छ ।’

देशभरका प्रहरीलाई आश

डीआईजी पोखरेल ‘भावी आईजीपी’ हुने चर्चा प्रहरी संगठनभित्र जबरजस्त रुपमा रहेको छ । राजनीतिक नेतृत्वसँग समेत सुमधुर सम्बन्ध रहेका पोखरेल ‘शक्तिशाली’ प्रहरी अधिकृत मानिन्छन् । स्वच्छ छवि सँगसँग नेतृत्व क्षमता भएका पोखरेलले मेट्रो प्रमुख भएर थुप्रै सुधारका काम देखाइरहेका छन् ।

आधारभूत तहका प्रहरी कर्मचारीको सुविधालाई प्राथमिकता राख्दै सुधारका काम गरिरहेका पोखरेल प्रहरी संगठनकै नेतृत्वमा आए देशभरका प्रहरी जवानले लाभ पाउने अपेक्षा गर्न थालिएको छ । मेट्रोमा काम गरेर देखाएपछि प्रहरी संगठनभित्र डीआईजी पोखरेल ‘आइडल’ बन्दै गएका छन् ।

डीआईजी पोखरेलले गरिरहेका सुधार सामान्य देखिएपनि यसले संगठनमा समान संस्कारको विकास, भेदभावको अन्त्य र आधारभूत तहका प्रहरी कर्मचारीको मनोबढ बढाउने गरी सुसंस्कारको विकास गर्दै दीर्घकालीन प्रभावकारिता बढाउने चर्चा प्रहरी संगठनभित्र भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement