भारतीय दूतावासको शैक्षिक ‘दान’ : मुक्त कमलरीका लागि छात्राबास भवन बन्यो वरदान


महेन्द्रनगर-  कञ्चनपुरको बेदकोट नगरपालिका–७ मुसेपानीकी उर्मिला डगौरा बाल्यकालमै कमलरी बस्न बाध्य भइन् । शिक्षा आर्जनका लागि विद्यालय जानुपर्ने ९ वर्षे कलिलो उमेरसम्म डगौराले अर्काको घरमा कमलरी बस्नुप¥यो ।

‘मेरो घरायसी आर्थिक अवस्था कमजोर थियो,’ उर्मिलाले विगत सुनाउँदै भनिन्, ‘बुवाले अर्काको घरमा काममा लगाइदिए, बाल्यकालमै अर्काको घरमा काम गर्दा जति पीडा हुन्छ, त्योभन्दा ठूलो पीडै हुँदैन ।’

कमलरी बनेर बालश्रम गरिरहेकै बेला डगौराको जीवनले नयाँ मोड लियो । कमलरी बसेको १ वर्षपछि २०६५ सालमा उर्मिला मुक्त भइन्, किनकि उनले शिक्षा आर्जन गर्न पाउने भएकी थिइन् । नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ बाँसखेडा ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयमा भारत सरकारले बनाइदिएको आधुनिक छात्रावास भवनमा बसेर उर्मिला लगायत थुप्रै मुक्त कमलरीले औपचारिक शिक्षा लिइरहेका छन् ।

हाल १२ कक्षामा अध्ययनरत पूर्व कमलरी २१ वर्षीया डगौराले भनिन्, ‘मालिकको घरमा काम गर्दा बस्ने, सुत्ने अवस्था नाजुक हुन्थ्यो, अहिले आधुनिक पक्की भवनमा बस्न पाएकोमा भाग्यमानी ठान्छौं ।’

अर्काको घरमा बधुवा भई काम गर्नुपरेको अवस्थाबाट मुक्त भएर स्वतन्त्रतापूर्वक छात्राबासमा बसेर अध्ययन गर्नु पाउनु सौभाग्य भएको डगौरा बताउँछिन् । उर्मिलाजस्तै बेलडाँडी गाउँपालिका–३ कमरीकी २० वर्षीया सुविता राना पनि छात्राबासमा बसेर ११ कक्षामा अध्ययन गरिरहेकी छन् । १० वर्षको उमेरसम्म कमलरी बसेकी उनी २०६६ सालमा मुक्त भएकी थिइन् ।

रानाले भनिन्, ‘मालिकको घरमा पिजडाभित्र बसेर काम गर्नुपर्ने बाध्यता थियो । यहाँ घरभन्दा स्वर्ग जस्तै भएर बसेर पढ्न पाएकी छु ।’

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साउन २ गते हलिया कमैया मुक्तिको घोषणा गरेसँगै कमलरी प्रथा पनि अन्त्य हुनुपर्ने थियो । तर राना, थारु, डगौरा समुदायका बालिकाहरू कमैया बसिरहनुपर्ने बाध्यता भएपछि विद्रोह र आन्दोलन उठ्यो । जसको बलमा केही बालबालिका बीचमै मुक्त भए तर सरकारले औपचारिक रूपमा २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । सरकारले कागजमा घोषणा गरेपनि केही बालिका अझै पनि कमलरी बसिरहेका तथ्यांक सार्वजनिक हुने गरेका छन् ।

कमलरी बालबालिकाको शिक्षा र आधारभूत आवश्यकता पूर्तिका लागि सरकारले पर्याप्त र प्रभावकारी काम गर्न नसकेको गुनासो भइरहेका बेला भारतीय दूतावासमार्फत भारत सरकारले बनाइदिएको छात्राबास भवनले कमलरी बालिकाहरूलाई सहज भएको छ । विद्यालयमै निःशुल्क अध्ययन, बस्नका लागि आधुनिक छात्राबास भवन र मासिक ४ हजार रुपैयाँका दरले छात्रवृत्ति पाइने थालेपछि मुक्त कमलरीलाई अध्ययनमा सुविधा भएको छ ।

पूर्णा माविका प्रधानाध्यापक धनीदत्त पन्तले विद्यालयमा भारतीय दूतावासबाट छात्रावास भवन निर्माणसँगै विपन्न समुदायका मुक्त कमलरी विद्यार्थीलाई अध्ययनमा ठूलो टेवा पुगेको बताए । ‘हामीसँग छात्रावास भवन निर्माणका लागि स्रोत थिएन,’ पन्तले भने, ‘दूतावासबाट निर्माण भएको भवनले कमलरी छात्राहरूलाई अध्ययनमा सहज भएको छ ।’ भारतीय दूतावासले नेपालमा शैक्षिक क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि दाताको रूपमा दान गर्दै आएको छ ।

महाकाली नदीमा पुल निर्माण नभएका बखत दोधाराचाँदनी क्षेत्रका विद्यार्थीलाई मध्यनजर गर्दै विद्यालयले २०५८ सालतिरै छात्राबास भवन निर्माणका लागि दूतावासमा माग गरेको थियो । ‘विद्यालयमा टाढाबाट आउने विद्यार्थीको समस्या मध्यनजर गर्दै छात्रावास भवन निर्माणका लागि पहल थालेका थियौं,’ पन्तले भने, ‘प्रयास २०७२ सालमा आएर सफल भयो, त्यतिबेलासम्म महाकाली नगरपालिका क्षेत्रमा माध्यमिक विद्यालय र झोलुङ्गे पुल बनिसक्यो ।’

तत्कालीन भारतीय राजदूत रणजीत रेले २ तले छात्राबास भवन २०७२ बैशाख ८ गते उद्घाटन गरेसँगै सञ्चालनमा आएको थियो । छात्राबासमा १४ कोठा, १ भान्साघर, १ डाइनिङ हलका साथै १ छात्रबास सुपरीवेक्षक भवन रहेको पन्तले बताए ।

छात्राबासमा ५४ मुक्त कमलरीलाई राखिएको प्रअ पन्तले बताए । ‘छात्राबासमा अहिले २४ जना मुक्त कमलरी र ६ जना प्राविधिक धारतर्फका विद्यार्थी बस्दै आएका छन्,’ प्रअ पन्तले भने, ‘अरु मुक्त कमलरी १२ कक्षा उत्तीर्ण गरेर केही थप अध्ययन त कोही रोजगारीमा छन् ।’

सरकारबाट पाउने प्रति मुक्त कमलहरी वार्षिक १० महिनाको छात्रवृत्ति रकमबाटै खानपान र मासिक ५०० रुपैयाँ नगद रकम उपलब्ध गराइएको प्रअ पन्तले बताए ।

२०१७ सालमा स्थापना भएको विद्यालयमा आधुनिक छात्राबाससँगै कक्षाकोठा अभाव रहेको बताउँदै प्रअ पन्तले भवनका लागि विभिन्न सरकारी निकायमा माग भएको बताए । हाल विद्यालयमा हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

गत वर्षदेखि विद्यालयले प्राविधिक शिक्षा धारतर्फ डिप्लोमा इन सिविल इन्जिनीयरको समेत पठनपाठन सुरू गरेको छ । ‘भारतीय दूताबासबाट प्राप्त छात्राबास भवनले विद्यार्थीलाई निकै ठूलो राहत पुगेको छ,’ प्रअ पन्तले भने, ‘अब नियमित अध्ययनका लागि कक्षा कोठा चाहिन्छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह क्षेत्रीले भारतीय दूताबासबाट प्राप्त छात्राबास भवनले मुक्त कमलरीको जीवनमा शैक्षिक परिर्वतन आएको बताए । अध्यक्ष क्षेत्रीका अनुसार छात्राबास भवन निर्माणले कमलरीलाई अध्ययनमा थुप्रै टेवा पुगेको छ । ‘बाल्यकालमै पीडा भोगेका कमलरी छात्राका लागि छात्राबास आफ्नै घरजस्तो भएको छ,’ अध्यक्ष क्षेत्रीले भने, ‘विद्यालयमा छात्राबास जस्तै अन्य भवनका लागि पहल भइरहेको छ ।’

भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले सामुदायिक विद्यालयको भौतिक गुणस्तर सुधारका लागि नगरपालिकाले गुरुयोजना निर्माण गरिरहेको बताए । ‘म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा नै छात्राबास निर्माणका लागि पहल गरिएको हो, पढाइबाट वञ्चित भएका मुक्त कमलरीलाई अध्ययनमा अहिले आएर सहज भएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement