विषादी परिक्षणसम्बन्त्री प्रधानमन्त्रीको झुठो दाबीलाई कृषिमन्त्रीले यसरी गरिदिए ‘छताछुल्ल’


काठमाडौं – कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले नेपाल आयात गरिने फलफूल तथा तरकारीको विषादी परीक्षण सुरु गर्न कम्तिमा १ बर्ष लाग्ने बताएका छन् ।

राष्ट्रियसभामा आइतबार विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खनालले पूर्वाधार नभएकाले नेपाल आयात गरिने फलफूल तथा तरकारीको विषादी परीक्षण सुरु १ वर्ष लाग्ने बताएका हुन् ।

सरकारले ६ महिनामा पूर्वाधार बनाएर विषादी परीक्षण सुरु गर्ने दाबी गरेपनि कृषिमन्त्रीले सरकारको दाबीलाई अस्वीकार गरेका छन् ।

सत्तारुढ नेकपाकै सांसदहरुले भारतीय दबावसामू झुकेको हो भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले पूर्वाधार नभएकाले निर्णय फिर्ता लिएको बताएका थिए । तर, कृषिमन्त्री खनालले पूर्वाधार नभएको भन्ने तर्कको घुमाउरो शैलीमा खण्डन गरेका हुन् ।

मन्त्री खनालले भने, ‘बाणिज्य मन्त्रालयबाट प्रस्ताव गयो, पारित भयो । राजपत्रमा सूचना प्रकाशित भएपछि मैले कार्यान्वयन सुरु गरेँ ।’

उनका अनुसार विषादीका समूहको परीक्षण गर्ने भएपनि बाँकीमा नेपाल निर्यात हुने तरकारी तथा फलफूलमा विषादी चेकजाँच गर्न खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्तर्गतका १४ वटा क्यारेन्टाइन र ३१२ जना कर्मचारी थप भइसकेको थियो ।

मन्त्री खनालकाअनुसार प्रदेश १ को विर्तामोड, दुईको सर्लाही, ३ को कालीमाटी, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र सुदूरपश्चिम प्रदेशमा रहेका दुई वटा केन्द्रबाट विषादी परीक्षण हुन्छ । केन्द्रीय प्रयोगशालाले २९ वटा र बाँकी केन्द्रमा २ वटा प्यारामिटर चेकजाँच हुने गरेको छ ।

‘कर्णालीबाहेक सबै ६ वटा प्रदेशमा एक–एकवटा विषादी परीक्षण केन्द्र छ । एक नम्बरको विर्तामोड, २ को सर्लाली, ३ कालिमाटी, गण्डकीको पोखरा, पाँच नम्बरको बुटवल र सात नम्बरको २ ठाउँमा छ’, उनले भने, ‘भारतबाट आउने तरकारी र फलफूल ती सबै प्रयोगशालामा परीक्षण भइरहेको थियो । तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले किन रोक्यो मैले केही भन्न सक्दिनँ ।’

‘हामीसँग अन्तर्रा्ष्ट्रिय मापदण्डका प्रयोगशालाका छन् । भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षणको निर्णय राजपत्रमा प्रकाशित भएपछि मैले काम थालेका हुँ’, उनले भने, ‘फेरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परीक्षण रोक्न क्याबिनेटमा प्रस्ताव लगेपछि किन रोकियो ? म जान्दिनँ ।’

नेपालबाट भारततर्फ जाने तरकारी र फलफूल कोलकाता र लखनउ लगेर अहिले पनि विषादी परीक्षण भइरहेको बताउँदै उनले नेपालमा त केही किलोमिटरको दुरीमा विषादी परीक्षणस्थल रहेको बताए ।

मन्त्री खनाल भन्छन, ‘काठमाडौं नै ल्याएपनि भारतको जति सीमा दुरी त पार गर्नु पर्ने हुँदैन ।’ २९ समूहकै विषादी परीक्षण गर्ने ल्याब स्थापना गर्न ४ अर्ब रुपैयाँ चाहिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement