कोशी प्रदेशमा एमाले–माओवादीले मुख्यमन्त्री कार्कीविरुद्ध प्रदेश प्रमुखलाई दिए निवेदन


काठमाण्डु – कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न माग गर्दै प्रतिपक्षी दलहरुले प्रदेश प्रमुखलाई निवेदन दिएका छन् ।

प्रतिपक्षी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिले प्रदेश सरकारविहीनताको अवस्थामा रहेको दाबी गर्दै नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

बुधबार एमाले र माओवादीका नेताहरूले संयुक्त रूपमा बुझाएको पत्रमा उल्लेख छ, ‘समर्थन फिर्ता गरेको ३० दिन भइसकेको र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिएकाले सरकार विहीनताको अवस्था सिर्जना भयो । त्यसैले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइयोस् ।’

दुवै दललाई प्रदेश प्रमुख पर्शुराम खापुङले आफू संविधान, ऐन र कानूनअनुसार अघि बढ्ने जवाफ दिए । उनले भने, ‘माननीयज्यूहरूले दिनुभएको पत्र प्राप्त गरें । हामीले ऐन कानूनअनुसार अध्ययन गर्छौं । यसको हामी अध्ययन गर्न संविधान ऐन कानूनअनुसार हामी अघि बढ्छौं । यसको अध्ययन गर्नुपर्ने भएकाले माननीयज्यूहरूलाई चिया पनि नखुवाइ अहिले बिदा गर्छु ।’

नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्बोले सभामुख अम्बरबहादुर विष्टलाई संयुक्त पत्र लेखेर बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement