लुम्बिनीले किन सम्झिरहन्छ राष्ट्रसङ्घका तेस्रा महासचिव ऊ थान्तलाई ?


काठमाडौं – गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास र प्रचारप्रसारका लागि संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी राष्ट्रसङ्घका तेस्रा महासचिव हुन् र उनले सन् १९६७ लुम्बिनीको भ्रमण गरेका थिए। त्यसपछि उनको पहलमा बुद्ध जन्मस्थलको विकासका लागि भन्दै एउटा अन्तर्रा्ष्ट्रिय समिति गठन भएको थियो।

लुम्बिनीको योजनाबद्ध विकास र प्रचारप्रसारमा त्यो कोसेढुङ्गा हुन पुग्यो। उनी बर्माका कूटनीतिज्ञ थिए र बौद्ध धर्मका अनुयायी थिए। बुद्धजयन्तीको पूर्वसन्ध्यामा शुक्रवार लुम्बिनीमा ऊ थान्तको सालिक अनावरण गरियो। लुम्बिनी प्रचारप्रसार अभियानका एक स्थानीय अभियन्ता चेतन पन्तले पूर्वमहासचिवलाई सम्झिँदै भने, “विभिन्न १५ देशका प्रतिनिधिहरू सदस्य रहेको त्यस्तो अन्तर्रा्ष्ट्रिय समिति गठन भएपछि मात्र लुम्बिनी विश्वभरि राम्ररी परिचित हुन थाल्यो।“एक जापानी नागरिक टोकुशिन कसाईको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त सालिक ऊ थान्तका नाति डा. थान्त मिन्ट ऊले अनावरण गरेका थिए।

लुम्बिनीको विकासक्रम देखेका पुराना अभियानकर्मी एवं विज्ञहरूका भनाइमा त्यसबेला ऊ थान्त आउँदाको बुद्ध जन्मस्थल अहिलेजस्तो थिएन। “खेतमा मायादेवीको मन्दिर थियो जुन दृश्य देखेर ऊ थान्त खिन्न भए र उनी यहाँबाट फर्केपछि निरन्तर लुम्बिनीको विकासमा लागिपरेको पाइन्छ,“ पन्त भन्छन्। ऊ थान्तले सन् १९६१ देखि १९७१ सम्म संयुक्त राष्ट्रसङ्घको नेतृत्व गरेका थिए। ऊ थान्तकै अग्रसरतामा लुम्बिनी विकासको गुरुयोजना बनाइएको थियो।

एक हजार बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको जमिनमा धेरै पूर्वाधारसहित योजना गरिएको उक्त गुरुयोजना अझै पूरा भएको छैन।“तर लुम्बिनी विकासको एउटा बाटो भने त्यसले तय गर्न सफल भएको छ,“ वरिष्ठ पुरातत्वविद् वसन्त बिडारी बताउँछन्।

“उनी आउनुअघि बाटोघाटो पनि थिएन। उनकै आग्रहमा पछि तत्कालीन राजा महेन्द्रले पाहुना घर बनाएका हुन्। गुरुयोजना पनि उनकै अग्रसरतामा तयार भयो।“उनको अग्रसरताले तत्कालीन सरकारहरूलाई त्यस क्षेत्रको महत्त्वबोध भई काम गर्न प्रेरणा तथा दबाव भएको विज्ञहरू बताउँछन्।त्यसयता थुप्रै देशका प्रमुख नेताहरूले लुम्बिनीको भ्रमण गरेका छन्।लुम्बिनीमा संयुक्त राष्ट्रसङ्घको एउटा एकाइ पनि स्थापना गरिएको थियो। तर विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि त्यहाँबाट हटेको उक्त एकाइ पुर्नस्थापित भने हुन सकेन।बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस
Advertisement