चोरी शिकारी नियन्त्रणका लागि नेपाली सेनाको अपरेशन महाहन्ट प्रभावकारी बन्दै


कठमाण्डु – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षार्थ खटिएको नेपाली सेनाले थालेको चोरीशिकारी तथा अवैध गतिविधि नियन्त्रणको उद्देश्यसहित सञ्चालित अपरेसन महाहन्ट प्रभावकारी बन्दै गएको छ ।

महाहन्टको सातौँ संस्करण शुरु भएको डेढ महिनामा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरूबाट पट्रोल, चेक प्वाइन्ट, स्वीप लगायत गरी कूल ३६,२८७ सुरक्षात्मक कारबाही समेत गरिसकेको सेनाले जनाएको छ ।

नेपाली सेना प्रकृति संरक्षणमा चार दशकभन्दा लामो समयदेखि निरन्तर खटिरहेको छ । राष्ट्रिय सुरक्षाको धरोहर नेपाली सेनाले वातावरण सन्तुलनको आधार स्तम्भको रूपमा रहेको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नेपाली सेनाले देशभर १२ राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष र ६ वटा संरक्षण क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएको छ । बढ्दो शहरीकरण, गैरकानुनी शिकार, समय-समयमा हुने आगलागी, प्राकृतिक स्रोतको दोहन तथा वन्यजन्तु र मानवबीचको द्वन्द्वले जैविक विविधताको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।

यस अवधिमा गैंडा र बाघको चोरी शिकारी, व्यापार एवं अखेटोपहार ओसारपसारमा संलग्न रहेको आरोपमा ८ जना र काठ तस्करीमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएर कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाएको थियाे ।

निकुञ्ज र आरक्षभित्र अवैधरूपमा प्रवेश गरी माछा मार्ने, घास दाउरा, तथा बालुवालगायत खनिज पदार्थ संकलन कार्यमा संलग्न ९३९ जना व्यक्तिलाई नियन्त्रणमा लिई कारबाहीका लागि निकुञ्ज तथा आरक्ष कार्यालयमा बुझाइएको छ ।

चोरी शिकारीमा प्रयोग भएको ६ नाल भरुवा बन्दुक लगायतका सामग्री बरामद गरिएको छ भने शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट स्थानीय जनप्रतिनिधिको सहयोगमा २५ नाल भरुवा बन्दुक समेत निकुञ्ज कार्यालयमा बुझाएको छ ।

वन्यजन्तु संरक्षण कार्यमा निरन्तर खटिरहेको नेपाली सेनालाई सबैको साथ र सहयोग आवश्यक रहेकाे नेपाली सेनाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement