प्रदेश १ मा प्रत्यक्ष चुनाव लड्दै यी पाँच महिला नेतृ, को–को पुग्लान संसद ?


काठमाण्डु – आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश १ बाट ठूला राजनीतिक दलहरूबाट प्रतिनिधिसभातर्फ महिला उम्मेदवारको संख्या न्यून छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरुको विवरणमा साना दल र स्वतन्त्रतर्फ बाहेक ठूला दलबाट पाँच जना मात्र महिला उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसबाट दुई, एमालेबाट दुई र राप्रपाबाट एकजना महिला प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका छन् । ती महिला उम्मेदवारका प्रतिस्पर्धी भने सबै पुरूष छन् ।

नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नं २ मा सुजाता कोइराला, तेह्रथुुममा सीता गुरूङ, एमालेबाट सुनसरी क्षेत्र नं ३ मा भगवती चौधरी, उदयपुर क्षेत्र नं १ बाट मञ्जुकुमारी चौधरी र राप्रपाबाट मोरङको क्षेत्र नं ३ मा रेखा थापाले प्रत्यक्षर्फ उम्मेदवार छन् ।

यसपटक प्रदेश १ मा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी भने महिला उम्मेदवार उठाएका छैनन् । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले क्षेत्र बाँडफाँटमा प्रदेश १ का २८ प्रतिनिधिसभा क्षेत्रमध्ये १९ वटा क्षेत्र पाएको थियो । तीमध्ये मोरङ र तेह्रथुम गरी दुई क्षेत्रमा मात्र महिलालाई प्रतिनिधिसभामा उम्मेदवार बनाएको हो । मोरङ क्षेत्र नं २ बाट सुजाताले टिकट पाइन् ।

अघिल्लो पटक चुनाव जितेका डा मीनेन्द्र रिजाल र सुजाता दुवै टिकटका दावेदार थिए । सुजाता समानुपातिक सांसद हुन् । यसअघि समानुपातिक सांसद भइसकेका कारण उनले फेरि समानुपातिकतर्फ उम्मेदवार हुन नपाउने मापदण्ड कांग्रेसले बनाएको थियो ।

पार्टी नेतृत्वमा समूहगत भागबण्डाको तानातानमा सुजाताले बाजी मारिन् । अघिल्लो चुनाव जितेका रिजाल यसपटक चुनावी मैदानबाट बाहिरिए । सो क्षेत्र सुजाताका बाबु स्वर्गीय गिरिजाप्रसाद कोइरालाको चुनावी क्षेत्र हो । यसपटक उनले सो क्षेत्रमा एमालेका मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलसँग प्रतिस्पर्धा गर्दैछिन् ।

सो क्षेत्रबाट प्रतिनिधिसभातर्फ विभिन्न पार्टी र स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । यसैगरी कांग्रेसबाट तेह्रथुमको एक मात्र प्रतिनिधिसभा क्षेत्रमा सीता गुरूङले उम्मेदवारी दिएकी छन् ।

उनले एमालेका उम्मेदवार विजय सुब्बासँग प्रतिस्पर्धा गर्नेछिन् । गुरूङले २०७४ को चुनावमा एमालेका भवानीप्रसाद खापुङसँग प्रतिस्पर्धा गरेकी थिइन् । सो निर्वाचनमा खापुङले २१ हजार ३ सय ३५ मत ल्याएर निर्वाचित भएका थिए । गुरूङले १९ हजार ३ सय १४ मत पाएकी थिइन् ।

यस्तै एमालेबाट सुनसरी क्षेत्र नं ३ की प्रतिनिधिसभा सदस्यतर्फकी उम्मेदवार भगवती चौधरीले यसपटक पनि कांग्रेसका विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा गर्दैछिन् । अघिल्लो ०७४ को निर्वाचनमा पनि उनी बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी थिइन् । तर, ३ सय २१ मतले कांग्रेसका विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् ।

सो चुनावमा गच्छदारले ३८ हजार ९ सय ७२ मत पाएर चुनाव जितेका थिए भने चौधरीले ३८ हजार ६ सय ५१ मा ल्याएकी थिइन् । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका मुछिएका गच्छदारको उम्मेदवारीविरूद्ध परेको उजुरीको टुंगो लागेको छैन ।

त्यसैगरी उदयपुरको क्षेत्र नम्बर १ मा एमालेले मञ्जु चौधरीलाई उम्मेदवार बनाएको छ । उनको त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्कासँग प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ को निर्वाचनमा पनि चौधरी र खड्का प्रतिस्पर्धी थिए । सो निर्वाचनमा खड्काले ३३ हजार १ सय ४२ मत ल्याएर विजयी भएका थिए । चौधरीले ३२ हजार ५ सय ९४ मत पाएकी थिइन ।

त्यस्तै राप्रपाबाट प्रनिनिधिसभातर्फ अभिनेत्री रेखा थापाले मोरङ क्षेत्र नं ३ बाट चुनाव लड्दैछिन् । उनले पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्न लागेकी हुन् । थापाले एमालेका भानुभक्त ढकाल र कांग्रेसका डा सुनिल शर्मासँग मुख्य प्रतिष्पर्धा गर्नेछिन् । उनीसहित सो क्षेत्रबाट ३१ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement