दुर्गा प्रसाईंलाई झट्का: कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदनमा के छ ?


काठमाण्डु- सर्वोच्च अदालत परिसरबाट गत चैत मा दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद गरिएको हतियार ‘इजाजत दिन नमिल्ने’ प्रकृतिको रहेको छानबिन समितिको निष्कर्ष छ ।

गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन समितिले प्रतिवेदन बुझाउदैँ हतियार ‘इजाजत दिन नमिल्ने’ प्रकृतिको रहेको निष्कर्ष निकालेको हो।

समितिले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानुनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको प्रतिवेदनमा उल्लेख छ।

देशभर हतियारको इजाजत पत्र दिँदा, नवीकरण वा नामसारी गर्दा विद्युतीय प्रणालीको केन्द्रीय अभिलेखमा राख्न र नियमन गर्नसमेत प्रतिवेदनमा सुझाव दिइएको छ।

त्यस्तै प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ। प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लमिछानेले समितिका सदस्यहरुलाई धन्यवाद दिँदै प्रतिवेदनले औंल्याएका सुझाव र सिफारिस कार्यान्वयन गरिने बताए।

२०८० चैत ५ गते सर्वोच्च अदालत परिसरमा व्यवसायी प्रसाईंको अंगरक्षकबाट जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा जारी भएको इजाजतपत्र २२ बोर ए३५४७५२ हतियार फेला परेको थियो।

सो क्रममा प्रसाईंका दुई बडिगार्ड दीपक खड्का र राजकुमार धिमाल हतियारसहित पक्राउ परेका थिए। सर्वोच्च अदालतले पनि प्रसाईंको हतियारको इजाजत नवीकरणबारे छानबिन गर्न गत चैत १३ गते सरकारलाई आदेश दिएको थियो। पक्राउ परेकाहरु सर्वोच्चको आदेशले रिहा भइसकेका छन्। लगत्तै गृह मन्त्रालयको उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement